नेपाली समय: ०६:२७:१९ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

छायाँ सेन्टरमाथि सांसद बस्नेतको धावा ‘गुठी अतिक्रमण गरी बनेको छायाँ सेन्टर सरकारले कब्जा किन नगरेको ?’

निर्माण सञ्चार, ३ असार, काठमाडौं । एकातिर सिंहदरबारमा गुठी विधेयक फिर्ता लिएको जानकारीका लागि पत्रकार सम्मेलन चल्दै थियो, अर्काेतिर पूर्व उद्योग मन्त्री महेश बस्नेत, नवीन्द्रराज जोशी सहितका सरोकारवालाहरु रिपोर्टर्स क्लबमा गुठी विधेयकमाथि गरमागरम बहस गरिरहेका थिए ।

मंगलबार अपराह्न भएको उक्त बहसमा भाग लिएका नेकपा युवा नेता तथा सांसद महेश बस्नेतले भने गुठीका जग्गा अतिक्रमण गरी व्यक्तिका नाउँमा पार्ने कामको अगुवाइ नेपाली काँग्रेसले नै गरेको प्रमाण सहित ठोकुवा गरिरहेका थिए ।

सो बहसमा काँग्रेस नेता तथा पूर्व उद्योग मन्त्री जोशी समेत नाजवाफ बनेका थिए । गुठीको जग्गा व्यक्तिको नाममा पुर्‍याउने विधेयक विगतमा नेपाली कांग्रेसले ल्याएको उनले जिकिर गरे ।

सांसद बस्नेतले भने, ‘यतिबेला काँग्रेस गाईको दूधले नुहाएझै चोखिन खोजिरहेको छ । त्यसैले उसमा छटपटी भइरहेको छ ।’

उनले अघि भने, ‘गुठीको पक्षमा कांग्रेस देखिनु लाजमर्दो कुरा हो । किनकि, हिजो गुठीको जग्गा व्यक्तिको नाममा पुर्‍याउने अरु होइन, काँग्रेस नै हो । प्रमाण त उसले बनाएका विधेयकहरुले नै देखाउँछ । कामले नै देखाउँछ । तर आज गुठीको संरक्षक बन्न खोजेको देखाउँदा अलि सुहाएन कि !’

बहसमा सहभागी कांग्रेस नेता नवीन्द्रराज जोशी, सम्पदा अभियन्ता पवित्र बज्राचार्यलगायतले विधेयक फिर्ता लिन सरकारसँग माग गरेका थिए ।

गुठीका जग्गा अतिक्रमण गरी बनेका छायाँ सेन्टरहरु कब्जा गर्नु पर्छ

नेकपा सांसद बस्नेतले कडा भाषामा छायाँ सेन्टरमाथि धावा बोलेका छन् । व्यस्त ठमेलमा भव्य रुपमा बनेको छायाँ सेन्टर बन्दैदेखि विवादमा तानिएको थियो । केही नेताहरु समेत लागेर उक्त भवनको उद्घाटन समेत भई अहिले सञ्चालनमा छ ।

तर, सांसद बस्नेतले छायाँ सेन्टरहरु बनाउने अनुमति कसले दियो ? को को संलग्न भए सबै कारबाहीका भागिदार रहेको बताए । नेता बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचनाहरु अब सरकारले कब्जामा लिनुपर्ने तर्क गरेका हुन् ।

गुठीको जग्गा संरक्षण गर्न सरकार लागिपर्दा विगतमा यसलाई व्यक्तिको नाउँमा गराउनेहरु अत्तालिएको उनको जिकिर छ ।

‘गुठीको जग्गामा महल र कम्प्लेक्स ठडिएका छन्,’ उनले भने,  ‘छाया सेन्टरलगायत गुठीमा बनेका संरचना सरकारले कब्जामा लिनुपर्छ।’
उनका अनुसार काठमाडौं बाहिर र भित्रको गुठी फरक चरित्रका छन् । तिनको सोही अनुसार फरक फरक रुपले हेरिनु पर्छ । 

वर्तमान विधेयकले समेट्न नसक्ने भन्दै उनले दुई खाले अवस्थामा विधेयक पनि सोही तरिकाले आउनु पर्ने बताए ।

‘गुठीको जग्गामा महल र कम्प्लेक्स ठडिएका छन्,’ उनले भने,  ‘छाया सेन्टरलगायत गुठीमा बनेका संरचना सरकारले कब्जामा लिनुपर्छ।’

गुठीमा समस्या छैन जस्तो गरी सडक तताइएको आरोप लगाएका नेता बस्नेतले भने, ‘गुठीमा समस्या नै छैन त ? समस्याहरु छन् र तिनको उचित सम्बोधन हुनु पर्छ । गुठीका समस्या सम्बोधन गर्ने फरक तरिकाले सोच्न आवश्यक छ ।’

आजै अपराह्न मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पद्मा अर्यालले गुठी विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको घोषणा गरेकी थिइन् ।

छायाँ सेन्टरले कुन गुठीको जग्गा हड्पेको छ त ? यस्तो छ तथ्य

‘ठमेलभित्रको ठमेल’ का रुपमा चिनाइदै छायाँदेवी कम्प्लेक्सको उद्घाटन नेकपाका प्रभावशाली नेताहरुबाटै गराइएको तथ्य एकाएक फेरि सतहमा आएको छ ।

उक्त कम्प्लेक्स बनाउँदै स्थानीय समुदायले विरोध गरे पनि कानुन र विधि मिचेर सो भवन निर्माण भएको हो । जसको उद्घाटन क्रममा पनि विरोध भएको थियो । 

स्थानीयले कालो ब्यानरमा प्रदर्शनी गर्दै संलग्न दोषीमाथि छानबिन गरी कारबाहीको माग गरेका थिए ।

ठमेलस्थित छायाँ सेन्टर उद्घाटन क्रममा स्थानीय गुठी संरक्षण अभियन्ताहरुले विरोधमा निकालेको जुलुस, फाइल फोटो
छायाँदेवी कम्प्लेक्स निर्माण क्रममा नजिकै रहेको थं विहारका परम्परागत कार्यको लागि प्रयोग गरिँदै आएको प्राचीन कमल पोखरीको गुठी जग्गा गैरकानुनीरुपमा अतिक्रमण गरिएको छ ।

प्राचीन कमल पोखरीको गुठी जग्गा विनास गर्न नपाइने स्थानीय गुठी संरक्षण अभियन्ताहरुले बताउँदै आएका थिए ।

५ अर्ब बढी लागतमा बनेको छायाँ सेन्टरको उद्घाटन भने नेकपा नेता योगेश भट्टराईले नै गरेका थिए । 

ठमेलस्थित छायाँ सेन्टर उद्घाटन गर्दै नेकपा नेता योगेश भट्टराई र साथमा सेन्टरका प्रमुखहरु, फाइल फोटो
स्थानीयले साविक काठमाडौँ नगरपंचायत वडा नं ९ को क्षेत्रफल २६–८–०–० (छब्बिस रोपनी आठ आना) भएको जग्गा पुरातात्विक ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वको कमलपोखरी, पोखरीको डिल र कित्ता नं– १०४० को क्षेत्रफल ०–९–२–३ भएको जग्गा चोक जनिई नापजाँच भएको उल्लेखित पोखरी र चोक समावेश भएको जग्गा सार्वजनिक जग्गा भएकोले उक्त क्षेत्र सार्वजनिक नै कायम गर्नेपर्ने बताउँदै आएका छन् ।

साविक काठमाडौँ नगरपंचायत वडा न– २९ को श्री सिहसार्थ वाह गरुड भगवानको नाममा रहेको कि।नं। १६७ को कमल पोखरीको डिल सहित २६–८–० जग्गा साविकमा दर्ता श्रेस्ता कायम हुनुपर्नेमा उक्त जग्गा मध्ये कि.नं १६७ को क्षेत्रफल १२–१३–२ तथा कि.नं. १०४० को क्षेत्रफल ०९–२–२ जग्गा कायम राखी बाँकी जग्गा स्व. केयुर शम्सेरले आफ्नो पर्खाल भित्र पारी अन्य कित्ता जग्गामा समावेश गरेको र २०३३ सालमा स्थानीय गुठीसँग गरिएको मिलापत्र अनुसार पोखरीको क्षेत्रफल २६–८–० हुनुपर्नेमा कि.नं. १६७ मा जम्मा १२–१३–२ मात्र जग्गा रहेको देखिन्छ अनि कि.नं. १६७ पोखरी र कि.नं. १०४० चोक जनिई नापचाँज भएकोले उल्लेखित पोखरी र चोक ऐतिहासिक, पुरातात्विक धार्मिक सांस्कृतिक सम्पदा भएकोले सार्वजनिक जग्गा हो भन्ने स्पष्ट रहेको रिट दायर गर्ने अधिवक्ता दिपक विक्रम मिश्रले आफ्नो रिटमै उल्लेख गरेका छन् । 

अदालती मुद्दा हुँदाहुँदै पनि बलका भरमा पेलेर छायाँ सेन्टर बनेको छ ।

संसदीय समितिले पनि छानबिन गर्ने भन्यो तर ...

यसरी विवादित उक्त छायाँ सेन्टर बारे संसदीय समितिले छानबिन समेत गर्न अघि बढेको थियो । संसद्को कृषि, सहकारी तथा प्रकृति स्रोत समितिले पोखरी हडपी बनाइएको छाया कम्प्लेक्सको छानबिन गर्ने निर्णय सँगै त्यसलाई रोक्न लाग्नेहरु अघि बढेका पनि थिए ।

को को छन् कनेक्सनमा ? कस्तो छ भित्री ‘अपराध’ यसैले उचाल्यो विधेयक विरुद्ध बबाल

उक्त विवादित सेन्टर कूल १५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यसमध्ये १२ रोपनी जग्गा कुनै बेला सिंह सार्थबाहु गुठीको नामको पोखरी रहेको थियो । 

जसको प्रमाण मालपोत कार्यालयको रेकर्ड हेर्दा स्पष्ट हुन्छ । जहाँ अहिले पनि सार्वजनिक पोखरी कायम छ । 

काँग्रेस नेता महतदेखि सेनाका पूर्व प्रमुखसम्म

तर पूर्व अर्थमन्त्री डा महतले शक्तिको प्रयोग सो सार्वजनिक जग्गालाई मिलाइदिएका थिए । मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीलाई उनै महतले प्रभावमा पारेको बताइन्छ ।

डा महतले आफ्ना छोरा रक्षकलाई त्यसको शेयर दिलाएका छन् । सेन्टरमा ४३ जना लगानीकर्ता रहेका छन् । 

पूर्व अर्थमन्त्री डा महत, जसलाई शक्तिको प्रयोग गरी गुठी जग्गा हडप्न सजिलो बनाइदिए भन्ने आरोप छ, फाइल फोटो
पृथ्वीबहादुर पाण्डेको नाममा सबैभन्दा बढी लगानी देखिन्छ । उनको नाममा ७ करोड ७८ लाख ३४ हजार ६०० शेयर छ । यस्तै श्रीमती प्रतिमा पाँडेको नाममा १ करोड २२ लाख ४४ हजार ४०० लगानी छ । 

पृथ्वीका छोरा सिवान्तका नाममा १९ लाख ७२ हजार बराबरको शेयर र उनका दिवगंत दाज्यू जर्नेलपवन बहादुर पाँडेको परिवारको नाममा ८ लाख ५७ हजार २०० बराबरको शेयर देखिन्छ । 

दिपक शेरचनका दाजु भाईले पनि कम्प्लेक्समा लगानी गरेका छन् । छायाँँ सेन्टरका निर्देशक दिपकले ४ करोड ७३ लाख ७१ हजार र किरणमान शेरचनको नाममा ६८ लाख २ हजार बराबरको शेयर रहेको छ । 

मिजास भट्टचनले ३ करोड ५४ लाख १९ हजार र मनोहर प्रसाद शेरचनले १ करोड ६० लाख ४३ हजार लगानी गरेको छायाँ सेन्टरबाट प्राप्त गोप्य विवरणमा उल्लेख छ ।

सेन्टरका प्रवन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठको ४ करोड ७३ लाख ७१ हजार लगानी गरेका छन् । सेन्टरका प्रवन्ध निर्देशक तथा चर्चित बैंकर तथा चार्टर एकाउन्टेन्ट श्रेष्ठ कम्पनीका ठूला लगानीकर्ता हुन् ।

त्यस्तै, छायाँँ सेन्टरमा सौरभ ज्योतिको कम्पनी स्याकार ट्रेडिङ कम्पनी र एम्बेस्डर होटल र क्लब हिमालयका मालिक एवम् पोखराको फेवा ताल समेत अतिक्रमण गरेका कर्ण शाक्यका आफन्त योगेन्द्र शाक्यले पनि लगानी रहेको छ ।

नेपाली सेनाका पूर्व प्रमुख प्रज्वल शमशेर जवरा र उनका श्रीमती सिन्धु राणा समेतको पचास पचास लाख लगानी गरिएको छ ।

१५ तले छायाँ सेन्टरमा १ सय ६८ कोठा छन् । जसमा विभिन्न बैंकहरुको पनि लगानी रहेको देखिन्छ ।


०००
(प्रस्तुत रिपोर्ट बस्नेतले बोलेको मंगलबारको भर्सन सहित अघिल्ला घटनाक्रमहरुमा विभिन्न न्युज एजेन्सीले तयार पारेको रिपोर्ट र निर्माण मिडियाले पहिले नै खोज गरी प्रकाशित गरेको कथामा आधारित छ । गुठी विधेयक रोक्नका लागि पृष्ठभूमिमा को कसले भूमिका खेले भन्ने कुरा उजागर गर्न यो स्टोरी प्रकाशित गरिएको हो, सम्पादक) 

पढौं यो पनि

 

 

 

To See the Front Face Coverage, Click here



प्रकाशित: २०७६ आषाढ ४
June 19th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार