नेपाली समय: ११:४९:१९ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

५७ वर्षमा नेपाल इन्जिनियर्स एसोसिएसनः ३ र ४ गते मनाइँदै वार्षिक दिवस

निर्माण सञ्चार, २ असार, काठमाडौं । पूर्वाधार विकासका लागि ‘ब्रेन’ का रुपमा लिइने नेपाली इन्जिनियर्सहरुको छाता संस्था नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) ले आफ्नो ५७ औं वार्षिक दिवस मनाउने भएको छ ।

‘इन्जिनियर्स डे’ का रुपमा रहेको साउन ३ गते नेइएको आफ्नो ५७औं वार्षिक दिवस समारोह गर्न लागेको हो । उक्त विशेष समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ११ बजे उद्घाट गर्ने छन् ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा प्रधानमन्त्रीले उक्त समारोहका उद्घाटन गर्ने नेइएले जनाएको हो ।

नेइएले जानकारी दिए अनुसार काठमाडौं बाहिर पनि विभिन्न जिल्ला र प्रदेशहरुमा प्रादेशिक कार्यालयहरुले इन्जिनियर्स दिवस मनाउने छन् । 

तिनमा धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमा दिवस विशेष कार्यक्रमहरु हुने छन् ।

नारा समृद्धिकोः तर अझै छैन नेपालमा इन्जिनियरिङ सेवा ऐन किन ?

‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियरिङ सेवा’ मूल नारा रहेको यो वर्षगाँठ विशेष कार्यक्रम ३ र ४ गते २ दिनसम्म मनाइने नेइए अध्यक्ष प्रा डा त्रिरत्न बज्राचार्यले जानकारी दिएका हुन् ।

नेपालमा पूर्वाधार निर्माण, परामर्श र इन्जिनियरिङ क्षेत्रको सबैभन्दा पुरानो संस्था हो नेइए । सायद, नेपालमा निजी क्षेत्रको जन्मको कल्पना नै गर्न नसकिने समयमा नेइएको जन्म भइसकको थियो ।

चेम्बर अफ कमर्स र पछि नेपाल उद्योग वाणिज्य महासंघ बाहेक त्यतिबेला पूर्वाधार क्षेत्रको नेतृत्वकारी संस्था जन्मने कुरा त्यतिबेलाको आवश्यकताको माग थियो ।

तर, अचम्म के छ भने, नेपालमा अझै पनि इन्जिनियरिङ क्षेत्रलाई रेगुलेट गर्ने ऐन छैन ।

अझै छैन इन्जिनियरिङ क्षेत्रको ऐन, ५७ वर्ष उमेरको परिपक्व नेइएले आउने दिनमा कस्तो खेल्ला भूमिका ?

पछिल्ला दिनमा  इन्जिनियरिङ क्षेत्रलाई नियमन गर्ने कामको जिम्मा नेपाल इन्जिनियर काउन्सिललाई दिइएको भनिए तापनि, काम र कनुनी दुवै हिसाबले  इन्जिनियरिङ क्षेत्रलाई उसले नियमन गर्ने हैसियत राख्दैन ।

इन्जिनियरिङ क्षेत्रभित्र तमाम समस्या र  इन्जिनियरिङ शिक्षाभित्र धेरै नै विकृति छन् । यसको उचित पोलिसी नहुँदा पेसा र संस्थागत विकास अझै पछि परिरहेको विज्ञहरुको बुझाइ छ ।

सरकारले यसबारे अझै सोचेको छैन । न त यो क्षेत्रका नेताहरुले आफ्नो कानुनी विकासबारे आवाज नै उठाउने गरेका छन् ।

आफ्नो निकायलाई नियमन गर्ने र पीरमर्का हुँदा कानुनी उपचार समेत खोज्न मिल्ने वैधानिक निकायको अभाव महसुस पछि केही समयदेखि परामर्शदाता इन्जिनियर्सहरुको साझा संस्था ‘स्केफ’ले भने परामर्शदाता सेवा सम्बन्धी ऐन मस्यौदा सहित अघि बढाइसकेको अवस्था छ ।

यसपालिको नेइए फरक र भव्यः २० हजार इन्जिनियरहरुको बिमा गरिने

आफूले बोकेका विभिन्न नाराहरुलाई पूर्णता समेत दिने अठोट बोकेको एसोसिएसनको यो नेतृत्वले यस पटक २० हजार इन्जिनियरहरुको बिमा समेत गर्ने तयारी गरेको छ ।

कोषाध्यक्ष रामएकवाल यादव संयोजक रहेको इन्जिनियर बिमा कार्यक्रमबारे गठित समितिले दिएको प्रतिवेदनका आधारमा नेइएले उक्त कार्यक्रम अघि बढाएको हो ।

नयाँ नतृत्व आएसँगै नेइएले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष सहित कार्य समिति सदस्यको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरेको थियो । 

ती समितिहरु मध्ये केहीले आफूले लिएको जिम्माको काम समेत सुरु गरिसकेका छन् भने बिमा सम्बन्धी कार्यक्रम आफ्नो ५७ औं वार्षिक दिवसबाट लागू गर्न लागेको हो ।

तर, यसपालिदेखि भने सरकारले बेजट मार्फत् नै इन्जिनियरिङ स्टाफ कलेज भने बनाउने भनेको छ । 
जुन कुरा  इन्जिनियरिङ क्षेत्रको लामो समयदेखिको माग थियो । 

नेइए नेपाल सरकारको अभ्यासका हिसाबले आवश्यक पर्दा वैदेशिक फोरमहरुमा समेत मुलुकका  इन्जिनियर तथा प्राविधिकहरुको प्रतिनिधित्व गर्ने निकाय हो । 

तर, समृद्धिको नारा लिएको सरकारले प्राविधिक र  इन्जिनियरिङ क्षेत्रको उन्नत विकासबारे बोलिरहँदा कानुनी हैसियत सहितको विकासको परिकल्पना भने अझै गर्न भ्याएको देखिदैन ।

विभिन्न ६ विधामा सम्मान

निर्माण सञ्चारसँगको कुराकानीमा नेइए अध्यक्ष बज्राचार्यले नेइएले विशिष्ट योगदान पुराएका  इन्जिनियर तथा आर्किटेक्टहरुलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, डिस्टिंग्युस्ड आन्टरप्रन्युरसिप अवार्ड, सहिद ई. नवराज बिष्ट स्मृति अवार्ड, आउटस्ट्याण्डिङ् युथ प्रोफेशनल अवार्ड, आउटस्ट्याण्डिङ वुमेन ईन्जिनियर अवार्ड, र ईन्जिनियर्स एप्रिसिएशन अवार्ड गरी विभिन्न ६ विधामा अवार्ड प्रदान गर्ने तयारी रहेको बताए ।

पहिलो दिन राष्ट्रिय सभागृहमा उद्घाटन सहितको दोस्रो सत्र सुरु गर्ने कार्यक्रम भोलिपल्ट अर्थात् ४ गते पनि सोही हलमै कार्यक्रम गर्ने छ ।


०००

To see front face coverage, click here



प्रकाशित: २०७६ साउन २
July 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार