नेपाली समय: ११:५२:५१ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

किन ‘एक्लिदै’ छन् रवि सिंह ? कसरी पिरोल्दै छ उनलाई आफ्नै ‘विगत’ले ?

निर्माण सञ्चार, २० साउन, ०७६, काठमाडौं । नेपालको ‘कन्स्ट्रक्सन इन्डस्ट्रिज’मा अक्सर किन यस्ता विकृतिहरु देखिए जसको समाधान लामो समय हुन सकेन ? भन्ने प्रश्न पूर्वाधार विकासको इतिहासमा ५० को दशकदेखि नै उठ्ने गरेको हो । 

पञ्चायतकाललाई छाडेर मुलुक प्रजातान्त्रिक अभ्यासमा आइसकेपछि पनि यो समस्या हट्नुको साटो झनै मौलाउँदै जानुले नेपालका निर्माण व्यवसायी ‘ठेकेदार’मा, ब्युरोक्रेसी ‘लुटतन्त्र’मा र राजनीतिक नेता ‘बिचौलिया’मा रुपान्तरित हुन पुगे ।

यो समस्या नै पूर्वाधार विकासको उकुच पल्टेको घाउ हो । 

आजका दिनमा खरिद नियमावलीको आठौं संशोधनले ‘बिडिङ क्यापासिटी’ लागू गर्ने संकल्प देखाएपछि भने यो विकृति लगभग धेरै नै हल हुन सक्ने आशा गर्न सकिन्छ । 

जबकि, यही नीति दशकौं पहिले लागू हुुनु पथ्र्याे ।

यही नीति लागू नहोस् भनेर सातौं संशोधनमा जुन तरिकाले केही निर्माण व्यवसायी र सरकारी अधिकारीहरु संलग्न भए, तिनको ‘कुरुप’ अनुहारमा आठौं संशोधनले ‘लोप्पा’ खुवाइदिएको छ । 

प्रधानमन्त्री आफै सचेत प्रयत्नमा नलागेको भए, यो पटक पनि बिड क्यापासिटी लगाउने कुरा तुहिने निश्चित थियो ।
सातौं संशोधनमा ‘बिडिङ क्यापासिटी’ हटाउन जोडबल गर्ने ‘ठेकेदार’हरुको विकृत मुहार देख्दा यिनलाई यस्तो बनाएर हुर्काउने विगत भित्र के थियो,  समीक्षा गर्नु पर्ने हुन्छ ।

त्यो विगत– कस्तो संस्कृति, कस्तो संस्कार र कुन परिस्थितिले मलजल गर्दा नेपालको यो ३ दशक यति सारै कुरुप बन्न पुगेछ भन्ने स्पष्ट हुन्छ ।

‘सेटिङ’ र ‘कार्टेलिङ’ को विरोध गर्दै कसरी छिरे रेल भित्रको ‘सेटिङ’ मा रवि सिंह ?

करिब ३ दशकको यो पेरिफेरिमा नेपालको राजनीतिक प्रणालीले गुण्डागिरी हुर्कायो, ब्युरोक्रेसीमा अपारदर्शी लुट धन्दा मौलायो र नेपालको निर्माण व्यवसायीको मुहारमा ‘ठेकेदार’को कालो पोतिन पुग्यो । 

यस अवधिमा जन्मेका यिनै पात्रहरु नेपालको नेतृत्व रंगमञ्च अझैसम्म पनि छन् र त त्यही प्रवृत्ति दोहोरिरहन्छ !

यिनै कुचक्रको पछिल्लो एकमुस्ट प्रकटीकरण थियो नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको गोली हानी भएको हत्या काण्ड । 

यो अवधिमा हुर्किएको ‘लुटतन्त्र’ नै उनको मृत्युको कारण बनेको सत्य पर्दाफास भइसकेको छ । यस प्रकरण पछि नेपालका निर्माण व्यवसायीहरु कहाँ छन् ? भनी खोज्ने बेला आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो उद्गारले यही सत्य उद्घाटन गरेको छ । आफ्ना मन्त्रीहरुसँग कार्यसम्पादन करारको समारोहमा प्रम ओलीले भने, ‘हाम्रा कर्मचारीलाई कमिसनको मोह छ, ठेकेदारलाई पेश्कीको मात्रै । यहाँ कसैलाई पनि देश बनाउने भन्ने नै छैन !’

यसबाट नेपालका निर्माण व्यवसायीले के कति पाठ सिके ? कति सच्चिए त ? भन्ने जान्न आजको निर्माण व्यवसायी महासंघको नेतृत्वको मुहारका रेसा केलाएर हेर्नु उचित हुन्छ ।

उनीहरुको मुखमा ऐन देखाएर याद दिलाउनु उचित हुन्छ ।

माफियागिरी भित्र हुर्किएको ‘सेटिङ कल्चर’, मुलुकको विकास बजेट लुट्न हुर्किएको अधर्मी ‘म्याच्फिक्सिङ’ र पुँजीवादी युगमा सकारात्मक रुपमै विकास हुुनु पर्ने ‘कार्टेलिङ’ को नेपाली भर्सन किन यति सारै कुरुप भयो त ?

यसको जवाफ हो यसमा संलग्न ‘प्लेयर’हरु पनि कुरुप नै थिए । जुन रोचक कथाहरु निर्माण मिडियाले खोजिरहेको पाटो पनि हो । 

पत्रकार सम्मेलनमा किन एक्लिए रवि सिंह ?

एफक्यान अर्थात् नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन गर्यो । पत्रकार सम्मेलनको हलमा पस्दा अध्यक्ष सिंह भने एक्लो यात्री बनेर प्रवेश गर्न पुगे । सिंगो स्थायी समितिले साथ दिएन ।

पत्रकार भेटाघाट मार्फत् अध्यक्ष रवि सिंहले सरकारले ल्याएको खरिद नियमावलीको आठौं संशोधनको ‘स्वागत’ गरे । 

तर, केही ‘रिजर्बेसन’ पनि उनले अघि सारेका छन् । त्यसमा ५ करोडसम्मको निर्माण कार्यका लागि विना योग्यता भाग लिन पाउनु पर्ने माग अघि सारेका छन् । 

तर, उनको विगत यस्तो छैन । ‘विना योग्यता’का हकमा उनले महासंघको पूर्व नेतृत्वसँग एउटा अनौठो ‘हथकण्डा’ अपनाउँदा त्यतिबेलै ३ करोडसम्म विना योग्यता सहभागी हुन पाउने अवसरबाट निर्माण व्यवसायीहरु चुक्नु परेको थियो ।

उनको विगत र आजका बिचमा देखिएको विरोधाभाष यहाँ केलाउने प्रयास गरौं, जुन उनको सिंगो प्रवृत्ति र चरित्रसँग जोडिएर आउँछ ।
जुन प्रवृत्ति आइतबारको पत्रकार सम्मेलनको तयारीका लागि बोलाइएको स्थायी समिति वैठकमा पनि प्रकट भयो । फलतः अध्यक्ष सिंह एक्लिन पुगे । 

त्यतिबेलाको घटनालाई हेरौं–

यो बुद्धत्वको घैँटोमा त्यतिबेला किन लागेको थियो त बिर्काे ?

जतिबेला यो देशका प्रधानमन्त्री तत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । 

विना योग्यता पनि निर्माण कार्यमा सहभागी हुन पाउने सीमा थियो ६० लाख रुपियाँ । यसबारे निर्माण व्यवसायी महासंघको नेतृत्व यो रकम सिलिङ बढाउनु पर्छ भन्दै सरकारसँग आन्दोलनमा थियो ।

लगत्तै प्रचण्ड प्रधानमन्त्रीबाट बाहिरिए । माधव नेपाल प्रधानमन्त्री र अर्थमन्त्री सुरेन्द्र पाण्डे रहेका बेला ०६६ मंसीर ४ गते महासंघले ४५ बुँदेमा सरकारसँग सम्झौता गर्यो ।

सम्झौतामा हस्तक्षर गर्ने सरकारी अधिकारीहरुमा महालेखा परीक्षक अभिनन्द कुमार श्रेष्ठ, खरिद अनुगमन सचिव, अर्थसचिव रामेश्वर खनाल, भौतिक मन्त्रालय सहचिव तुलसी सिटौला लगायत थिए ।

त्यतिबेला आजका अध्यक्ष रवि सिंहले जुन धारको नेतृत्व गरे, त्यो दुर्भाग्य नै बन्न पुगेको थियो । बिना योग्यता पनि ३ करोड रुपियाँ बराबर निर्माण कार्यमा सहभागिता हुन पाउने गरी सरकार र मसहासंघ बीच सम्झौताको अन्तिम तयारी थियो ।

ठिक त्यही बेला रवि सिंह, कान्छाराम तामाङ लगायत (शकुन्तलाल हिराचनको रिमोटबाट चल्थ्यो) ले यतिसम्म विरोध गर्यो कि उनकै विरोधले गर्दा २ करोडमा दुई पक्षीय सहमति हुन पुगेको थियो । 

उनीलगायतले १ करोड भन्दा बढी हुन नहुने भन्दै वितण्डा नै गरेको थियो ।

आज अध्यक्ष सिंह ५ करोडको माग गरिरहेका छन् जुन मुद्दाका लागि उनको विगतले आजलाई भने उपहास गरिरहेको देखिन्छ ।
.... 

एउटा सैद्धान्तिक निचोड के छ भने, ‘मानिस प्रवृत्तिको दास बन्छ । त्यो प्रवृत्ति उसको उत्थान र पतनको कारण पनि बन्न सक्छ । जुन प्रवृत्ति बोकेर उसले आफूलाई उचाइमा पुराउँछ, आम मानिसका लागि आदर्श बन्न नसक्ने प्रवृत्ति रहेछ भने त्यसले ऊसहित उसको समयमा स्थापित मूल्यमान्यता, संस्था र स्वजनहरुको समेत विनाश गर्न सक्छ !’

कसरी दोहोरियो त इतिहास ? अर्काे पटाक्षेप !

सञ्चार साक्षात्कार गर्न भनी आइतबार बिहान निर्माण व्यवसायी महासंघ परिसर भित्र एफक्यान स्टेन्डिङ कमिटिको वैठक भयो ।

१५ जना नेतृत्व रहेको उक्त स्थायी समिति वैठक साँढ १२ बजेतिर बसेको थियो । विज्ञप्ति ड्राफ्टसँगै अध्यक्ष सिंहले एउटा प्रस्ताव अघि सारे ।
उनले भने, ‘आठौं संशोधनको स्वागत गर्दा सेटिङ र कार्टेलिङ अबका दिनमा हट्ने भयो...’ आदि ।

उनको आशय थियो, निर्माण उद्योगमा आजसम्मका समस्याको जरो सेटिङ र कार्टेलिङमा थियो । बिड क्यापासिटी लगाउने नियमावली आएपछि अब त्यसको अन्त्य हुन्छ ।

तर, सेटिङ र कार्टेलिङको विरोध गर्ने स्वयम् अध्यक्षको संलग्नता भने उनको भनाइको आफै खण्डन गर्ने खालको छ । 

गत साउन पहिलो हप्ता रेल–वे विभागको सेटिङ भित्र उनको जेभी कसरी पर्यो भन्ने कुरालाई लिएर उनको नेतृत्व उनीसँग बोली र व्यवहारमा विरोधाभाषी पाउँछ ।

उनको तर्कसँग स्थायी समितिका कोही पनि सहमत भएनन् । 

उनीहरुको भनाइ थियो, ‘अब बिडिङ क्यापासिटी’ लागू हुने भएपछि यसै पनि सेटिङ र कार्टेलिङको अन्त्य हुन्छ । यो शब्द लिँदा लिँदा महासंघको पनि नाम बर्बाद भएकाले यो राख्न आवश्यक छैन । ठूला कुरा गरेर भन्दा पनि व्यवहारमै सच्चिने हो । यो शब्द नराखौं ...’ भन्ने आशयमा बाँकी सबै नेतृत्व फरक धुरीमा उभियो ।

वैठक पछि एक पदाधिकारीले भने, ‘उनी हठी स्वभावका छन् । आफूले सोचेको र बोलेका चाहिँ राम्रो अरुले ल्याएको राम्रो प्रस्ताव पनि नराम्रो भन्ने आग्रही बानी रहेछ । आखिर अध्यक्ष हुँ भन्ने घमण्ड भन्दा पनि सबै साथीहरु जहाँ उभिए त्यहाँ उभिन उनलाई केले रोक्यो ?’

अध्यक्ष सिंहलाई कुन मुडमा कसले चलाउँछ आफूहरुले बुझ्नै नसकेको बताउँछन् एक पदाधिकारी ।

उनको विपरीत ध्रुवमा उभिनेमा लगभग सिंगो स्थायी समिति नै परेको छ ।

उपाध्यक्ष पेम्बा लामा, एडी लामा, रत्न खड्का, धिरेन्द्र दाहाल, रोशन दाहाल (महासचिव), टंक चौलागाई (नीतिगत उपमहासचिव), नरहरि थपलिया, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, सहित चिरञ्जीवी भट्ट, शिवहरि घिमिरे, प्रमोद लामिछाने, मंगल शाही, उज्वल गौतम, सञ्जय गुप्ता, शम्भु गुप्ता, रामजी पन्त लगायत नेतृत्व पंक्ति ‘सेटिङ र कार्टेलिङ’ शब्द नराख्ने पक्षमा उभिए ।

उनीहरु सबै जना सेटिङ र कार्टेलिङको चर्काे विरोध गर्ने अध्यक्षको पछिल्ला दिनमा रेलविभाग सेटिङमा प्रवेश पछि चिडिएका हुन् ।
‘बोली र व्यवहार एउटै हुनु पर्यो । नयाँ जोगीले जसरी खरानी घस्ने, मौका पर्दा चुक्ने गर्नु भएन । यति आदर्श पनि नेतृत्वसँग नभएपछि किन यसको विरोध गर्ने ?’

ती पदाधिकारीले भने, ‘कि विरोध गर्नु भएन, कि आफू जानु भएन !’

साउन पहिलो हप्ता रेल विभागले छनोट गरेका ८ जिर्माण कम्पनी–जेभीहरुको सेटिङमा खुद अध्यक्ष सिंह सहितको पिएस आशिष महादेव खिम्ती जेभी पनि सहभागी बन्न पुगेको छ । 

यो खेलभित्रका भाग्यमानी उक्त जेभीले ७० करोड ६७ लाख रुपियाँ भित्र तोकिएको काम गर्ने छ ।
पूर्वपश्चिम विद्युतीय रेलमार्गको दोस्रो खण्डको काम सुरु गर्न विभागले विभिन्न ८ निर्माण कम्पनीहरुको छनोट गरेको हो ।

बिचरा विष्णुभाइ, प्रेस सम्मेलनमा कसोकसो साथ दिनेमा परेछन् !

अध्यक्ष सिंह यिनै हुन्, जसले महासंघ जस्तो साझा संस्थाको स्थापित मान्यता मिचेर अध्यक्षको कुर्चीमा आसीन छन् । 

निवर्तमान अध्यक्षलाई स्थायी समितिमा राख्न निवेदन दिनु पर्ने माग गरेर महासंघको इतिहासकै खिल्ली उडाइरहेका छन् ।

आफू अध्यक्ष भएको पहिलो वैठकबाटै अपमान गरेका यिनै विष्णुभाइ श्रेष्ठ भने वर्तमान अध्यक्ष एक्लो भएको सञ्चार साक्षात्कारमा साथ दिने ठाउँमा परे ।

पत्रकार भेटघाटको अन्तिमतिर, ‘संस्थागत बदनाम नगरौं होला’ भन्दै युवा जोश भरिएका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे पनि उक्त पत्रकार सम्मेलनमा सरिक भए । 

पाण्डे परिवारसँग जोडिएको सिंह प्रवृत्ति यहाँ अर्काे पनि उल्लेख गर्न लायक छ–

यादगारः विक्रम पाण्डे र जयरामहरुलाई सल्लाहकार राख्नै नहुने भन्ने को थियो ?

इतिहासकार भन्छन्, ‘इतिहास कहिले काहिँ उस्तै परिवृत्तमा दोहोरिने गर्छ । फरक यति हुन्छ, पात्र र समय मात्र । तर, परिस्थिति उस्तै बनेर आउँछ । यस्तो ‘स्पायरल ट्र्याप’बाट व्यक्ति कित पाठ सिक्ने ठाउँमा पुग्छ । नभए पतन !’
...

त्यतिबेलाको कुरा हो, जतिबेला अध्यक्ष थिए यक्षध्वज कार्की ।

०६५–०६८ ताका कार्कीले त्यतिबेला अध्यक्षको हैसियतबाट विक्रम पाण्डे, जयराम लामिछाने, ऋषि शर्मा, सुरेश श्रेष्ठलाई सल्लाहकार बनाउन प्रस्ताव गरेका थिए ।

संयोगले त्यतिबेला जयराम लामिछाने तत्कालीन एमाले निकट बनेका थिए । सल्लाहकारमा लैजाने कुरामा रवि सिंह नै यस्तो चर्काे विरोधी बनेर निस्किएका थिए, जसले विक्रम पाण्डे, जयराम लामिछाने लगायतको नाउँ सुन्नै चाहेनन् । 

पछि निश्चित क्राइटेरियाका नाउँमा सहमत हुन उनलाई करै लागेको थियो ।
०००

गत वर्ष असोज ६ गते भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित सिंह सहितको मूल नेतृत्व आज एकाएक विवादमा अल्झन पुगेको छ । तर, यो रातारातको एकछिने घटना भने होइन । यसको ऐतिहासिकता छ । प्रवृत्तिले भूमिका खेलेको छ ।

एक वर्ष नै नपुग्दै अध्यक्ष सिंह किन यसरी आफ्नो नेतृत्व टिम सित एक्लिन पुगे ? नेपालको निर्माण उद्योगको सुन्दर भविष्य चाहनेहरु चिन्तित छन् ।

अध्यक्ष सिंह अब नरसिंह बन्ने कि मानक ? 

कुनै पनि व्यक्ति व्यक्तिगत तहमै मात्र सीमित छ भने उसको जरोकिलो खोजिरहनु आवश्यकता नै हुँदैन । 

तर, जब व्यक्ति सार्वजनिक जिम्मेवारीमा रहन्छ, उसका हरेक व्यवहार समाजको आँखाबाट बाहिर लुक्न सक्तैन । खोजीको विषय बन्न सक्छ ।

तर, पछिल्ला दिनमा मुलुकको विकास बजेट दिनदिनै दुरुपयोग भइरहेको भनी निर्माण व्यवसायी मात्र हैन, समग्र अर्थतन्त्र धराशयी बन्ने कारक बन्न पुगेको छ निर्माण व्यवसायी ।

र मानवीय संवेदनाको पाटो समेत बेचबिखनमा परेका छन् दिनदिनै । कारण बनेको छ निर्माण व्यवसायी नै ।

बस्, उनीहरुको प्रवृत्ति निर्माण उद्योग बदनाम बन्नमा कारण बनेको थिएन भने चर्चा गरिरहनु पर्ने कारणै हुन्नथ्यो । 
तर, अवस्था त्यस्तो छ त ?

छैन भने रवि मात्र हैन, कवि, हवि र शविहरु पनि अनुसन्धनको घेरामा पर्नै पर्छ भन्ने मान्यता नेपालको न्यायिक विरासतले पनि राख्छ ।

रवि सिंह, हिजो कुनै दिन कतै थिए ।

०५९–६० साल तिर सिंहलाई निर्माण उद्योगमा प्रवेश गराउने व्यक्ति थिए वाइडी कार्की । त्यस अघि काठ व्यापार लगायत खुद्रा व्यवसायमा रहेका सिंहको विकास उतारचढावपूर्ण छ ।

त्यसताका तत्कालीन नेपाली काँग्रेस रामेछाप जिल्ला सभापति आङतावा शेर्पा र उनका दाजु संलग्न फर्मबाट यिनको निर्माण व्यवसायीका रुपमा प्रवेश भयो ।

सुनौला खिम्ती निर्माण सेवा भीमसेन भण्डारीलाई पछि बिक्री भयो । ङावा शेर्पा जोसँग महादेव खिम्ती निर्माण सेवा रहेको थियो । 
०५९ सालमा महासंघमा सदस्य बन्न आउँदासम्म उक्त निर्माण सेवामा उनको संलग्नता मात्रै थियो ।

जतिबेला आङकिपा शेर्पा अध्यक्ष रहेको ‘नेपाल निर्माण व्यवसायी विकास संघ’ नामको तत्कालीन राप्रपा निकट व्यवसायीहरुको पेसागत संघमा पूर्व अध्यक्ष विष्णुभाइ श्रेष्ठ र वर्तमान अध्यक्ष सिंह संलग्न थिए ।

बसोबास काठमाडौंमा भएका सिंहको फर्म भने रामेछापको रहन पुग्यो । रोचक कुरा अर्काे के छ भने, महासंघमा पहिलो पटक प्रतिनिधि हुँदा उनी सर्लाहीबाट प्रतिनिधि बनेर आएका थिए ।

पछि दुइटा चुनावमा उनी सिन्धुलीबाट प्रतिनिधि हुने अवसर पाउन सफल भए । हाल उनी एसोसिएटबाट प्रतिनिधि भएर अध्यक्ष जितेका हुन् ।

उनी आफू जहाँबाट जुन धरातलबाट आए यसको अर्थ रहन्छ । जसको मत प्रति जवाफदेही र उत्तरदायी बन्नु पर्ने हो भन्ने कुरा उनका हकमा जहिले पनि प्रश्न चिह्न उठ्ने अवस्था सिर्जना भएको देखिन्छ । 

किनभने, सार्वजनिक संस्था वा निकायमा पद धारण गर्ने व्यक्तिको धरातल कुन र कहाँबाट भन्ने कुराको अर्थ रहने गर्छ ।

पूरै व्यावसायिक करिअरमा महासंघ अध्यक्ष हुने अवसर पाएका उनका लागि जति सुनौलो बन्यो, उनको कार्यकाल त्यति नै सुनौलो बनेको शुभचिन्तकहरु देख्न चाहन्छन् । 

व्यक्तिले आफूलाई सबैको बनाउने कि आफू कसैको पनि नबन्ने भन्ने इतिहासको परीक्षाको घडीमा इन्सान उभिन आइपुग्छ भनेझैं महासंघको जिन्दगीमा अध्यक्ष सिंहको अवस्था यस्तै मोडमा उभिएको देखिन्छ ।

अध्यक्ष सिंह अब नरसिंह बन्ने कि निर्माण उद्योगभित्र मानक ? प्रतीक्षा गरौं ।


OOO

पढौं यो पनि

To see front face coverage, click here



प्रकाशित: २०७६ साउन २०
August 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार