नेपाली समय: ०४:४९:४५ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

मेलम्ची खानेपानीमा गोली चल्यो, २ मजदुर घाइते !

निर्माण सञ्चार, १९  भदौ, मेलम्ची । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनामा गोली चलेको छ । अम्बास्थान स्थित मेलम्ची खानेपानी आयोजना अगाडि शान्तिपूर्ण प्रदर्शनमा रहेका मजदुर, भेन्डर तथा सप्लायर्सहरुमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा २ जना मजदुर घाइते भएका छन् । 

गोली लाग्नेमा सन्तोष चौधरी र बालमुकुन्द अधिकारी रहेका छन् । उनीहरुलाई हात तथा शरीरका तल्लो तहका विभिन्न अंगमा गोली लागेको छ । घाइतेलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गर्दा पाखुरामा लागेको गोली झिक्न नसकेर शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरिएको संघर्ष समितिले जनाएको छ ।

सशस्त्र तथा जनपद प्रहरी परिचालन गरिएको उक्त क्षेत्रमा प्रहरीले बल प्रयोग गरी शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप प्रदर्शनकारीले लगाएका छन् ।

प्रहरीले अश्रुग्याँस समेत चलाएको छ । अश्रुग्याँसले दर्जनौं प्रदर्शनकारी घाइते भएको अम्बास्थानस्थित मेलम्ची आयोजना संघर्ष समितिका सदस्य विष्णुमणि आचार्यले जानकारी दिएका हुन् ।

आचार्यका अनुसार करिब ३ सय जति प्रदर्शनकारीहरु हातमा प्लेकार्ड सहित शान्तिपूर्ण धर्नामा थिए । सरकारले सशस्त्र तथा जनपद गरी दर्जनौं प्रहरी परिचालन गरेको थियो ।

सरकारले दुई दिन अघि मात्रै मेलम्ची खानेपानीमा संलग्न भेन्डर तथा सबकन्ट्र्याक्टरहरुलाई पैसा दिन नसक्ने बताएको थियो ।

संघर्ष समितिका अनुसार सरकारको उक्त निर्णय मजदुर तथा श्रमिक मार्ने प्रपञ्च रहेको आरोप छ । 

गत माघमा मेलम्ची खानेपानी परियोजना छाडेर भागेको सिएमसीसँग सम्बन्धित भई निर्माण सामग्री सप्लाइ गरेका तथा सबकन्ट्र्याक्टरका रुपमा विभिन्न निर्माण उपकरण सहित करारमा रहेका भेन्डरहरुलाई पैसा नदिने भन्ने निर्णय अमान्य र अन्यायपूर्ण भएको बताएका छन् ।

सरकारको उक्त निर्णय सच्चिनु पर्ने भन्दै उनीहरु आफ्नो लागत लिनका लागि संघर्षमा उत्रिएको बताउँछन् ।

कसरी भयो फाइरिङको स्थिति ?

मेलम्ची खानेपानीको मुहान अम्बाथानमा भएको घटनाबारे इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले पनि पुष्टि गरेका छन् ।
उनले प्रदर्शनकारीले प्रतिबन्धित घेरा तोड्ने प्रयास गरेपछि जवाफी फायरिङ भएको बताए । प्रदर्शनकारी र प्रहरी बीच सुरुमा झडपको स्थित भएको थियो । 

सोही क्रममा प्रहरीले ६ राउन्ड अश्रु ग्यास तथा २ राउन्ड हवाइ फायर गरेको थियो ।

जवाफमा आन्दोलनकारीले ढुङ्गामुढा प्रहार गरेका थिए । प्रहरी निरीक्षक लामिछानेका अनुसार आन्दोलनकारीले मेलम्ची खानेपानीको सवारी साधनमा ढुङ्गा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

तर, प्रदर्शनकारीका अनुसार आफूहरुले सवारी साधनमाथि कुनै प्रहार नगरेको जिकिर गरेका छन् । संघर्ष समितिको संयोजन गरिरहेका स्थानीय नेता समेत रहेका विष्णुमणि आचार्यका अनुसार शान्तिपूर्ण प्रदर्शनी रोक्न भन्दै प्रहरीले नै एकतर्फी बल प्रयोग पछि स्थिति तनावपूर्ण बनेको हो ।

प्रहरीले निर्धारित घेरा नाघ्न नदिन बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले अम्बाथानस्थित खानेपानीको मुहानसम्म गएर अवलोकन गर्ने बताएका थिए ।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन अचाक्ली भएको स्थानीय नेताहरुको भनाइ छ । अम्बाथानमा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी, प्रदेशसभा सदस्य लगायतको टोलीहरु पनि गएका थिए । 

उक्त टोलीले अम्बाथानको अवलोकन गर्न सँगै जाने बताइरहेको थियो । तर, प्रहरीले आन्दोलनकारीहरु जान नसक्ने भन्दै बल प्रयोग गरेको थियो । सोही क्रममा परिस्थिति अन्यत्रै मोडिएको एक प्रत्यक्षदर्शीेले बताए ।

प्रहरीले गोली चलाएपछि घाइतेको अवस्था तस्वीरमा

अम्बास्थानमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा घाइते चौधरीको हातमा गोली लागी रगत बगिरहेको अवस्था
गोली लागेका घाइतेको विभिन्न अवस्थाका तस्वीरः स्रोत विष्णुमणि आचार्य

पाउन बाँकी रकममा सरकारले राजनीति गरेको आरोप

सिएमसीसँग करार र ज्यालादारीमा रहेका मजदुर तथा भेन्डरहरुले भिन्ना भिन्नै हिसाबले आ–आफ्नो रकम दाबी गरेका छन् । तर, सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले सिएमसी कम्पनीसँग काम गरेका ठेकेदारहरुको बक्यौता रकम सरकारले कानुनी रुपमै पनि भुक्तानी दिन नमिल्ने बताएका थिए ।

उनका अनुसार इटालियन कम्पनी सिएमसीले काम लगाएका ६ सय ८० मजदुरको ३ करोड २० लाख भुक्तानी दिन सरकार तयार छ । तर पेटी कन्ट्र्याक्टर (सप्लायरर्स सहित) बक्यौता रकम भुक्तानी गर्न सकिँदैन ।

सरकारको उक्त निर्णय अन्तिम हो भने मजदुर र सप्लायर्स बीचमा फुटाउ र राज गरको बाटोमा सरकार लागेको स्थानीय कन्ट्र्याक्टरहरुको आरोप छ ।

सचिव बेलबासे अनुसार सिएमसीसँग काम करार गरेका भेन्डरहरुले करिब १ अर्ब ३५ करोड भुक्तानीको दाबी गरेका छन् । तर, ती सबै दाबीहरु वैधानिक नभएका समेत रहेका छन् ।

उनले भने, ‘यो कानुनी रुपमै नमिल्ने तर्क हो ।’ 

सरकारको यस्तो निर्णय विरुद्ध आफूहरु बाध्य भएर आन्दोलित हुनु परेको मजदुर तथा भेन्डरहरुको भनाइ छ । आफ्नो माग पूरा नगरेसम्म मेलम्चीको काम ठप्प पार्ने उनीहरुको चेतावनी रहेको छ ।

 

सम्बन्धित समाचार

 

०००

 



प्रकाशित: २०७६ भाद्र १९
September 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार