नेपाली समय: ११:४६:५८ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

त्रिपक्षीय समिक्षा बैठक : एडीबीद्वारा संचालित परियोजनाको प्रगति सन्तोषजनक, ऋण ६८ अर्ब पुग्याे

निर्माण सञ्चार, १९  भदौ, काठमाडौं । देशभर पुनर्निर्माण तथा ऊर्जा उत्पादनसम्बन्धी परियोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ । एशीयाली विकास बैंक (एडीबी) द्वारा संचालित उक्त आयोजनाले पछिल्लो सयम राम्रो काम गरेको पाइएपछि प्रगतिको अवस्था सन्तोषजनक देखिएको हो।

एडीबीले नेपालमा संचालन गरेका परियोजनाबारे समीक्षा गर्न बिहीबार काठमाडौंमा बसेको दाता, सरकार र कार्यान्वयनकर्ताहरुको त्रिपक्षीय समिक्षा बैठकमा उक्त परियोजनाको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालिएको हो।

एडीबीले लामो समयदेखि उक्त परियोजनामा ऋण स्वरुप नेपाललाई सहयोग गरिरहेको छ। एडीबीले हाल नेपालमा ३१ वटा परियोजनामा काम गरिरहेको छ। तीमध्ये पुनर्निर्माण र ऊर्जा उत्पादनको क्षेत्रको काम भने लक्ष्यअनुसार अघि बढिरहेको एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले बताए।

उनले उक्त परियोजनाको कामलाई अघि बढाउन नेपाल सरकारले देखाएको तत्परताको पनि खुलेर प्रशंसा गरे। एडीबीले नेपाल सरकारको तत्परताकाकै कारण नेपाललाई अधिक ऋण उपलब्ध गराइएको पनि स्पष्ट पारेको छ।

निर्देशक मुख्तोरले नेपालमा दिइएको ऋण ५९ करोड अमेरिकी डलर अर्थात ६७ अर्ब ९३ काराेड ८५ लाख पुगेको पनि जानकारी दिए। उनले नेपालको विकासका लागि एडीबीले अझै सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले एडीबीले नेपालको विकास, निर्माणका काममा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे।

उनले एडीबीद्वारा नेपालका सञ्चालित परियोजनाहरु समयमै सम्पन्न गर्न सम्बद्ध सबै पक्ष इमानदार हुनुपर्ने र त्यसमा नेपाल सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्न सदा तयार रहने प्रतिबद्धता पनि व्यक्त गरे।

एडीबीले हाल नेपालमा दुई खर्बभन्दा बढीको परियोजना सञ्चालन गरिरहेको छ। त्यसमध्ये सबैभन्दा बढी लगानी सडक पूर्वाधार, ऊर्जा र खानेपानीमा रहेका छन्।

 

000



प्रकाशित: २०७६ भाद्र १९
September 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार