नेपाली समय: ०६:२८:४३ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

वरिष्ठ उपाध्यक्ष पाण्डेको नेतृत्वमा ‘बिल्डटेक एक्स्पो–०२०’ हुँदै, २१ औं साधारण सभाको तयारी पनि सँगसँगै

निर्माण सञ्चार, १२ असोज, ०७६, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २१ औं साधारण सभाकै मुखमा महासंघले आफ्नो अगुवाइमा नेपालमै ठूलो स्केलको ‘नेपाल बिल्डटेक एक्स्पो–०२०’ गर्ने भएको छ ।

यस खालको महत्वाकाङ्क्षी र अत्याधुनिक निर्माण सामग्रीहरुको प्रदर्शनी हुने एक्स्पो महासंघको इतिहासमै पहिलो बन्नेवाला छ, जसको नेतृत्व वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले गरिरहेका छन् । 

‘बिल्डटेक एक्स्पो–०२०’ नाम दिइएको यो प्रदर्शनी निर्माण औजार र आजको युग अनुसारको नयाँ टेक्नोलोजीसँग विशेष सूचना दिने पहिलो निर्माण उपकरण तथा प्रविधिहरुको प्रदर्शनी हुने छ,’ आयोजना संयोजक तथा एफक्यान वरिष्ठ उपाध्यक्ष पाण्डेले बताए ।

निर्माण उपकरण र प्रविधिको कुम्भ मेला

एक्स्पोबारे जानकारी दिन राजधानीमा आयोजित सञ्चार साक्षात्कार कार्यक्रममा शुक्रबार बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले माघ ३–५ हुने प्रदर्शनी झट्ट सुन्दा लामै सयम बाँकी रहे जस्तो लागेपनि तयारीका लागि आफूहरु रातदिन काम गर्दा पनि नभ्याइने अवस्थामा रहेको बताए । 

उनका अनुसार एक्स्पो नेपालकै इतिहासमा पहिलो पटक अत्याधुनिक निर्माण प्रविधिहरुबारे विशेष जानकारी दिने किसिमको हुने छ ।

सो कार्यक्रममा एक्स्पो आयोजना सम्बन्धी सम्झौता पत्रमा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष पाण्डे र इन्नो रेग ग्रुप अफ कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीश प्रसाद दशमानाले हस्ताक्षर गरेका छन् ।

प्रदर्शनी विशेष गरी नेपाल निर्माण व्यवसायी महासंघ आफैले गर्न लागेको हो । तर, यसमा महासंघ सहित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र इन्नो रेग इण्डियाको संयुक्त आयोजनाको भूमिका बाँडफाँड रहेको छ ।

नेपाली मिति अनुसार आउने माघ ३ गते प्रदर्शनीको उद्घाटन हुने छ भने ५ गते (जनवरी १७ देखि १९ सम्म) यसको समापन हुने छ ।

एक्स्पो भक्तपुर महानगरपालिकास्थित सल्लाघारी मैदानमा हुने छ ।

उक्त सञ्चार साक्षात्कार कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले महासंघले आफ्नो इतिहासमा नै पहिलो पटक यसखाले प्रदर्शनी गर्न लागेको बताए । उनले उक्त एक्स्पो ‘अन्तर्राष्ट्रिय स्तर’को हुने दाबी गरेका छन् ।

उनले भने, ‘यो एक्स्पो निर्माण व्यवसायीहरुका लागि कुम्भ मेला हो । निर्माण क्षेत्रमा रुची राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी र निर्माण व्यवसायीहरुले यसबाट प्रशस्त लाभ लिन सक्नुहुने छ ।’

विश्व बजारमा आएका नयाँ नयाँ निर्माण उपकरणबारे अवगत गराउन उक्त एक्स्पो उपयुक्त मञ्च हुने अध्यक्ष सिंहको भनाइ थियो ।

एक्स्पो मार्फत् सरोकारवालाहरुबीचको द्विपक्षीय तथा बहुपक्षीय सम्बन्ध सहित व्यापार, लगानीको वातावरण र व्यापारिक सम्बन्ध समेत अझ प्रगाढ बन्ने अपेक्षा महासंघले लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव गोपाल सिग्देलले एक्स्पो सम्पन्न आवश्यक पर्ने सबै खालको सहयोग गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

मन्त्रालय नै संलग्न हुने भएपछि यसका लागि आवश्यक सहयोगमा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने उनको जोड छ ।

इन्नो रेग ग्रुपका प्रोजेक्ट डाइरेक्टर महेश ठाकुरले एक्स्पोको महत्वमाथि चर्चा गरेका थिए । 

निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचर सहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित् १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु कुल ७० हजार स्क्वाएर फिट क्षेत्रफलको एक्स्पोमा रहने महासंघले जनाएको छ । 

कार्यक्रमबारे दुई पक्षीय हस्ताक्षर कार्यक्रममा एफक्यान तथा इन्नो रेग ग्रुपका प्रतिनिधिहरु
तीन दिने यस एक्स्पो करीब २० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । 

नेपालका तर्फबाट एक्स्पोमा विभिन्न निर्माण सम्बद्ध संस्था तथा इन्जिनियरिङ क्षेत्र जोडिने भएका छन् ।

नेपाल उद्योण वाणिज्य महासंघ सहित नेपाल उद्योग परिसंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्स (वाइसीएनसी), सोसाइटी अफ नेपलिज आर्किटेक्चर्स (सोना), सोसाइटी अफ कन्सलटिङ आर्किटक्चरल एण्ड इन्जिनियरिङ फर्मस् (स्काफ नेपाल) र भारतको राजकोट हार्डवयर म्यानुफ्याक्चर एसोसिएन रहेका छन् ।  

महासंघको २१ औं साधारण सभा पनि 

एक्स्पो सँगसँगै देशभरका २ हजार भन्दा बढी निर्माण व्यवसायीहरुको सहभागिता महासंघको २१ औं साधारण सभा पनि सोही अवसरमा शुरु हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

साधारण सभामा नेपाली निर्माण जगतमा देखिएका विविध समस्या र समाधानका उपायका विषयमा निर्माण व्यवसायीहरुबीच घनिभूत छलफल भई काठमाडौं घोषणा पत्र जारी गरिने महासंघले जनाएको छ । 

नेपालमा यस अघि पनि ‘बिल्डिङ एक्स्पो’का नाउँबाट भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा प्रदर्शनी हुने गरेको पाइए तापनि ती प्रदर्शनीहरु निर्माण क्षेत्रबाटै नभई मुनाफा कमाउने उद्देश्यले गैरनिर्माण क्षेत्रका ‘इभेन्ट पार्टी’हरुले गर्दै आएका थिए । यसले गर्दा निर्माण क्षेत्रकै संलग्नताको नैतिक प्रश्न त्यस्ता आयोजकहरुलाई उठ्तै आएको पनि थियो । 

यसखाले प्रदर्शनी निर्माण क्षेत्रकै अगुवाइमा हुने कुराले गैर निर्माण क्षेत्रका व्यक्तिहरुले गर्ने गरेको जोरजाम आगामी दिनमा कमजोर भएर जाने विश्वास पनि गरिएको छ ।

 

 

०००

          



प्रकाशित: २०७६ आश्विन १२
September 29th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार