नेपाली समय: ०१:४७:११ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

१४ कम्पनीको सेयर आउँदै, १३ वटा कम्पनीले दिए निष्कासनका लागि आवेदन

निर्माण सञ्चार, २७ असोज, काठमाडौं । विभिन्न क्षेत्रका १३ वटा कम्पनीले सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन्। त्यसबाहेक एक कम्पनीले भने अनुमति पाइसकेको छ। १४ कम्पनीको प्राथमिक तथा थप निष्कासन (आईपीओरएफपीओ) बजारमा आउँदै छ । बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउने छन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गर्नेछन्। 

बोर्डको तथ्यांकअनुसार १४ कम्पनीले कुल ४ अर्ब ५१ करोड ६६ लाख ७३ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ५१ लाख ६६ हजार ७ सय ३६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । 

सेयर निष्कासनका क्रममा रहेका कम्पनीमध्ये १० वटा जलविद्युत् कम्पनी छन् । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति दिइसकेका छन् ।

सेयर निष्कासनका लागि आवेदन पर्खाइमा रहेका कम्पनीमा ९ वटा जलविद्युत् कम्पनी, ३ वटा अन्य र एक मर्चेन्ट बैंकिङ क्षेत्रका कम्पनी छन् । 

सेयर निष्कासनका लागि आवेदन दिएका जलविद्युत् क्षेत्रका कम्पनीमा तेह्रथुम पावर कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), सीईडीबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, शिवम् पावर (स्थानीय बासिन्दा र सर्वसाधारण), ग्रिनलाइफ हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), लिबर्टी इनर्जी कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), युनाइटेड इदीमर्दी एन्ड आरबी हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), संगटी हाइड्रो इनर्जी, मैलुङखोला जलविद्युत् (सर्वसाधारण) र माउन्टेन इनर्जी नेपाल (स्थानीय बासिन्दा र सर्वसाधारण) का लागि प्राथमिक सेयर निष्कासन गर्न लागेका हुन् ।

अन्य क्षेत्रका नेपाल पुनर्बिमा, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आवेदन पनि बोर्डमा दर्ता भएको छ । मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ । पछिल्ला दिनमा दोस्रो बजारमा सूचीकृत हुने नयाँ कम्पनीमा जलविद्युत् धेरै छन् । कम्पनी थपिएसँगै बजारमा जलविद्युत् क्षेत्रको बाहुल्यता पनि बढ्दै गएको छ ।

हाल सेयर बजारमा ३२ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् ।  सेयर निष्कासन गरेसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालू वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी तीन दर्जन बढी पुग्ने जानकारहरू बताउँछन् ।

नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् ।जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयवासीलाई दिनुपर्ने कानुनी व्यवस्था छ । स्थानीयवासीलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ ।



प्रकाशित: २०७६ आश्विन २७
October 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार