नेपाली समय: ०६:२८:३६ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

भारत तथा तेस्रो देशबाट हुने सामान आयातमा कमी, निर्यातमा बढोत्तरी

चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो ३ महिनामा भारत तथा तेस्रो देशबाट हुने आयातमा कमी आएको छ भने निर्यातमा बढोत्तरी भएको छ। भन्सार विभागको तथ्यांक अनुसार १० प्रतिशतले आयतमा कमी आएको छ भने निर्यातमा १४ प्रतिशतले बढेको छ।

नेपालले चालु आवको पहिलो ३ महिनामा कूल ३ खर्ब ३४ अर्ब ९४ करोड ९३ लाख ६४ हजार रुपैयाँ बराबरको सामान भारत तथा तेस्रो देशबाट आयात गरेको छ। गत वर्षको सोही अवधिमा यो आँकडा ३ खर्ब ७३ अर्ब ५८ करोड ७२ लाख ५८ हजार रुपैयाँ थियो।

भन्सार विभागको तथ्यांकमा उल्लेख भएअनुसार निर्याततर्फ भने चालु आवको पहिलो ३ महिनामा नेपालबाट भारत तथा तेस्रो मुलुकमा १७ अर्ब १६ करोड ६७ लाख ७० हजार रुपैयाँ बराबरको सामान निकासी भएको छ।

यो निकासी रकम गत आवको सोही अवधिको तुलनामा १४ प्रतिशतले बढी हो। गत आवको पहिलो ३ महिनामा नेपालबाट २७ अर्ब ७४ करोड ४९ लाख ३० हजार रुपैयाँ बराबरको सामान निकासी भएको थियो।

योसँगै नेपालको ३ महिनाको कूल वैदेशिक व्यापार ३ अर्ब ६२ अर्ब ११ करोड ६१ लाख ३३ हजार रुपैयाँ पुगेको छ। आयातमा कमी भएसँगै कूल वैदेशिक व्यापारमा पनि ८ प्रतिशतभन्दा बढीले कमी आएको विभागले जनाएको छ।

गत वर्ष पहिलो ३ महिना नेपालको कूल वैदेशिक व्यापार ३ खर्ब ९७ अर्ब ३३ करोड २१ लाख ८९ हजार थियो। नेपालले पछिल्लो ३ महिनामा भारतबाट मात्रै २ खर्ब ७ अर्बभन्दा बढी रकम बराबरको सामान आयात गरेको छ।

यसैगरी चीनबाट ५९ अर्ब २६ करोड, इन्डिोनेसियाबाट ६ अर्ब ८८ करोड, अमेरिकाबाट ४ अर्ब ९२ करोड र क्यानडाबाट ४ अर्ब २१ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ।

साथै नेपालले भने भारततर्फ १७ अर्ब ८७ करोड, चीनतर्फ ४५ करोड, इन्डिोनेसियातर्फ ११ करोड, अमेरिकातर्फ ३ अर्ब र क्यानडातर्फ २२ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको देखिन्छ।

आयात समानमध्ये ३४ प्रतिशत वीरगन्ज भन्सार, १७ प्रतिशत भैरहवा भन्सार, १२ प्रतिशत सुख्खा बन्दरगाह, विराटनगर भन्सारबाट १० प्रतिशत र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ९ प्रतिशत सामान आयात भएको विभागले जनाएको छ।
 



प्रकाशित: २०७६ कार्तिक १५
November 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार