नेपाली समय: ०२:१४:०१ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

मन्‍त्रिपरिषद्‍ बैठकका २२ निर्णय : सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति गठनदेखि सरूवा बढुवाका निर्णयसम्म

निर्माण सञ्चार, मंसिर ५, काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

प्रवक्ता बाँस्कोटाले कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएका हुन्। सार्वजनिक गरिएकाे निर्णयमा सरकारले भारत र चीन दुवै मुलुकमा रहेका सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति गठन गरेकाे उल्लेख छ।

त्यसैगरी सरकारले कलंकी–थानकोट–नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाहरुको सुरुङ मार्गको फ्लाईओभरका लागि आवश्यक पर्ने ११ दशमलव ८ रोपनी जग्गा र ४७ वटा घर टहरा अधिग्रहण गर्न स्विकृति पनि दिएको सरकारका प्रवक्ता बास्कोटाले बताए ।

सरकारले जबरजस्ती करण मुद्दाका चार पीडितलाई राज्यले अभिभावक्त्व ग्रहण गर्दै संविधान प्रदत्त सामाजिक पुनःस्थापना र क्षतिपूर्तिको हकलाई प्रयोग र प्रचलन गर्नका लागि जनही पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ।

सँगै सरकारले लोचन कुमारी हरलालक, जयप्रकाश अग्रवाल र रञ्जितकुमार अग्रवालको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय लिएको छ।

त्यसैगरी नेपाली सेनाका ६१ जना रथी र अधिकृतको सरुवा गरेको छ भने प्राविधिक सहायक रथी रामधर सिंहलाई प्राविधिक उपरथी दर्जामा र प्राविधिक महासेनानी कमलविक्रम शाहलाई प्राविधिक सहायक रथीमा पदोन्नति गरेको छ।

 



प्रकाशित: २०७६ मंसिर ५
November 21st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार