नेपाली समय: ०१:३८:४२ बिहान
वि.सं २०७७ आश्विन १२   सोमवार

युवा उद्यमशीलताका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम घोषणाः ऋण दिन बैंकहरु तयार, युवा परिषद्ले देशैभर तालिम दिने

निर्माण सञ्चार, ११ मंसिर, काठमाडौं ।  सहुलियतपूर्ण कर्जा र अनुदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्दै सरकार र बैंकिङ क्षेत्रबीच उद्यमशीलताका लागि ऋण दिने सहमति भएको छ।

बुधबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडालाई ‘साक्षी’ राख्दै युवा उद्यमशीलताका लागि नेपाल बैंक लिमिटेड, राष्ट्रि वाणिज्य बैंक, कृषि विकास बैंक र एनएमबी बैंकबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेबारे सम्झौतामा हस्ताक्षर भएको हो ।

युवा जमातलाई स्वरोजगार बनाउन विद्यालय शिक्षाबाट सुधार गर्नु पर्ने बताएका अर्थमन्त्री डा खतिवडाले बैंकहरुले सहुलियतपूर्ण कर्जा उपलब्ध नगराए आफ्नो इमेलमा खबर गर्ने आग्रह गरेका छन ।

तर, यस्तो अनुदानको कर्जा उपलब्ध गराउन बैंकहरुले बखेडा झिक्ने गरेको गुनासो युवाले गर्दै आएका छन् । अर्थमन्त्री डा। खतिवडाले यसरी बखेडा झिक्ने बैंकबारे गुनासो सिधै अर्थमन्त्रीसमक्ष टिपाउन युवाहरुसँग आग्रह गरेका छन् ।

‘तपाईंहरुले प्रक्रिया पुरा गरेर बैंकबाट कर्जा माग्नुस,’ उनले बैंक सञ्चालकहरुकै अगाडि भने, ‘तपाईंले पुरै प्रक्रिया पूरा गर्दा पनि बैंकले दायाँबायाँ गरे साना ग्राहक भनेर हेपेको पाउनुभयो भने हामीकहाँ हटलाइनको पनि व्यवस्था हुन्छ, नत्र सिधै अर्थमन्त्रीको इमेलमा लेखेर पठाउनुहोला ।’ 

कतिपय युवाले अर्थमन्त्रीको इमेलमा टिपोट गराउदै आएको गुनासो आफुले हेरीरहेको जानकारी दिए । 

‘मैले सबै कागजात पूरा गर्दा पनि ऋण पाइन भन्ने गुनासो छ भने अर्थमन्त्रीको आधिकारिक इमेलमा लेखेर पठाउनुहोस, हामी त्यसमा आवश्यक कदम चाल्छौं,’ उनले भने ।

यो सम्झौता पछि अब नेपालमा उद्यम गर्न चाहने युवाहरुका लागि परियोजना हेरेरै पनि बिना धितो सहुलियत कर्जा दिइने छ ।

मुलुक संघीयतामा गएसँगै मुलुकको विकासका लागि विदेशबाट फर्केका युवाहरुलाई समेत यस कार्यक्रमले सहयोग गर्ने भएको छ ।

यस कार्यक्रम अन्तर्गत सरकारले कृषि तथा पशुजन्य उद्योग, कपडा उद्योग सहित विभिन्न ९ किसिमका परियोजनामा परियोजना नै धितो राखेर कर्जा दिने भएको हो । 

समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको उद्देश्यका लागि आफूहरु उद्यमशील युवाहरुमा लगानी गर्न तयार भएको सम्झौता पछि बैंकका अधिकारीहरुले बताए ।

युवालाई सफल उद्यमी बनाउने, क्षमता विकास, उद्यमशिलताको माध्यमबाट युवालाई उत्पादनसँग जोड्ने रोजगारी सिर्जना गर्ने गरी वैदेशिक पलायन न्यूनीकरण गर्ने, देशको अर्थतन्त्र मजबुत बनाउने उद्देश्यले कर्जा दिइने छ  ।

उक्त योजना अन्र्तगत बैंकहरुले सहुलियतपूर्ण कर्जाका लागि कम्तीमा ६ प्रतिशतदरमा ऋण दिने सम्झौतामा संलग्न बैंक तथा राष्ट्रिय युवा परिषद्ले बताएका छन् ।

सहुलियतपूर्ण कर्जा प्रवाह गरी उद्यामशीलता विकास गर्न यतिबेला राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल सहित एनएमबी बैंकले देशव्यापी रुपमा युवा केन्द्रित तालिमहरु दिने भएका छन् ।

परिषद् अनुसार बैंकहरुसम्म कर्जा लिनु अघि सबैभन्दा पहिले युवा परिषद्ले उपलब्ध गराउने ७ दिने तालिम लिनु पर्ने छ भने त्यस पछि आफूले गर्न चाहेको व्यवसाय सम्बन्धी परियोजना तयार गरेर सम्बन्धित उद्यमी बैंकसम्म जान सक्ने छ ।

बैंकले परियोजना हेरेर आवश्यकता ठानेमा कर्जा उपलब्ध गराउने सक्ने आयोजकले बताए ।

 

 

०००
 



प्रकाशित: २०७६ मंसिर ११
November 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार