नेपाली समय: ०४:१०:१३ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

सरकारले सार्वजनिक गर्याे नेपाल ट्रष्टको सम्पत्ति, कुन जिल्लामा कति सम्पत्ति ?

निर्माण सञ्चार, १४ फागुन, काठमाडौं ।  सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । 

ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेका हुन् ।

नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको छ । सोमध्ये १५ हजार रोपनी त जंगलमात्रै छ । 

त्यस्तै काठमाडौंका केही महँगा ठाउँको जग्गा बिभिन्न कम्पनीले लिजमा प्रयोग गरेको पाइएको छ ।

तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ । सो मध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै भेटिएको छ ।

दरबारमार्ग,लाजिम्पाट,कमलादी,कालिमाटी,ताहाचल,छाउनी जस्ता महँगा ठाउँका जग्गा व्यापारिक प्रयोजनमा लिज र भाडामा मा दिइएका छन् । नेपाल ट्रष्टको घरजग्गा प्रयोग गर्नेमा थामसेर्कु ट्रेकिङ,टाउन डेभलपर्स,कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंक लगायतका निजी कम्पनीहरु छन् ।

नेपाल ट्रष्टको जग्गा व्यक्तिलाई दिने निर्णयमा बाबुराम र गच्छदार संलग्न स् श्वेतपत्र
काठमाडौंका काँठ क्षेत्रमा रहेका घरजग्गा भने मोहीले बसोबास र खेती प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको छ भने ताहाचलमा बिभिन्न सरकारी कार्यालयहरुले न्युनतम भाडा तिरेर बसेका छन् । 

यी अधिकांश सम्पत्ति २०५० सालमा र केही २०५३ सालमा लिजमा दिइएका हुन् ।

२०६४ सालमा नेपाल ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनका परिवारका नामबाट ट्रष्टमा ल्याइएको थियो । 

त्यसपछि धेरैजसो काठमाडौंका महँगा ठाउँका जग्गाको पुनः लिज सम्झौता २०६६ पुस र माघमा मन्त्रिपरिषदबाट गराइएको पाइएको छ ।

ट्रष्टमा तत्कालिन राजपरिवारको नामबाट आएको रकम अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १२४ खातामा रहेको पाइएको छ । ट्रष्टले विभिन्न बैंक तथा बित्तिय संस्थाको शेयर समेत खरिद गरेको छ ।

काठमाडौं सहित भक्तपुर, ललितपुर, नुवाकोट, मकनवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक , धनकुटा, सुर्खेत, कास्की, चितवन र धादिङमा तत्कालिन राजपरिवारको जग्गा जमिन पाइएको छ । रामेछाप दोलखा लगायतका जिल्लामा जमिन खोज्ने क्रम चलिरहेको छ ।

 

०००



प्रकाशित: २०७६ फाल्गुण १४
February 26th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार