नेपाली समय: ०२:०९:०८ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

नेपालकै पहिलो बैंकले पायो इक्राको ‘ए’ स्तरः ‘व्यवस्थापन कुशलता र सिंगो टिमको प्रयत्नले यो सम्भव भयो’ अध्यक्ष अधिकारी

निर्माण सञ्चार, १४ वैशाख ०७७, काठमाडौं । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड इक्रा नेपाल लिमिटेडको अध्ययनमा ‘ए’ स्तरको रेटिङ पाउन सफल भएको छ ।     
     
यसखालको रेटिङ कस्तो बैंकका लागि गरिन्छ भन्ने प्रश्नमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारी भन्छन्, ‘यो स्तरको रेटिङ बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता भएको, बैंकको कर्जा जोखिम न्यून रहेको जस्ता आधारका कसीमा खरो उत्रन सकेको बैंकले मात्र प्राप्त गर्दछ् ।’

  • इक्राको यो मूल्यांकनले सरकारी लगानीका बैंकहरु अझै उन्नत छन् भन्ने सन्देश दिएको बैंक व्यवस्थापनको बुझाइ छ  
अध्यक्ष अधिकारीका अनुसार यस्तो मूल्यांकनले बैंकप्रति आमजनताको विश्वसनियता अझै बढ्न जाने छ भने बैंकको व्यवसाय वृद्धि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने छ । 

अध्यक्ष अधिकारी यो सबै जस सिंगो व्यवस्थापन र व्यवस्थापकीय कुशलताका लागि जने बताउँछन् । ‘एक्लैले त कहिँ पनि जितिदैन नि आजको युगमा । सिंगो टिम, टिमको इमानदार प्रयत्न नै यो हैसियतमा मूल्यांकन होइनुको कारण हो ।’

व्यवस्थापन कुशलता भनेको निजी क्षेत्रका बैंकहरुसँग मात्र हुन्छ राज्य सञ्चालित बैंकहरु कमजोर व्यवस्थापन भएका हुन्छन् भन्ने दाबीलाई यो मूल्यांकनले वास्तविकता फरक रहेछ भन्ने देखाइदिएको छ ।

पछिल्ला दिनमा निजी क्षेत्रका बैंकहरुमा विभिन्न समस्या देखिएका छन् । विशेष गरी अपारदर्शी कर्जा प्रवाह र मुनाफाका लागि अपारदर्शी संलग्नता र ब्याजदरका कारण पनि निजी क्षेत्रका बैंकहरुमा यदाकदा कतै न कतै जनविश्वास कमजोर पनि देखिने गरेको छ । 

इक्राको यो मूल्यांकनले सरकारी लगानीका बैंकहरु अझै उन्नत छन् भन्ने सन्देश दिएको बैंक व्यवस्थापनको बुझाइ छ ।

भूकम्पदेखि नाकाबन्दी र कोरोनासम्मका मानव जोखिमयुक्त महामारी र समस्याका बेला निजीस्तरका अस्पतालहरुले जसरी आफ्नो निकम्मा चरित्र देखाए, यसले सरकारी स्तरकै सेवा बलियो भएमा जनताहरु ढुक्क हुने अवस्था जसरी सिक्योर गरेको छ, त्यस्तै, बैंकिङ तथा वित्तिय क्षेत्रमा पनि बेलाबखत हुने गरेका यस्ता तमाम विकृति हेर्दा सरकारको बलियो उपस्थितिकै अपेक्षा मानिसहरुले गर्ने गरेको देखिन्छ । 

बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा पनि यसबारे प्रस्ट्याइएको छ । सुशासन कायम गर्नका लागि गरिएका प्रयास, नीति तथा स्थापना गरेका पूर्वाधार, जोखिम बहन गर्नसक्ने क्षमता, सम्पत्तिको गुणस्तर, पर्याप्त तरलता तथा पूँजी कोष, आम्दानीका स्रोत तथा तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एवं समग्र औद्योगिक पक्षको जोखिम आदिजस्ता तथ्यको आधारमा नेपाल बैंक लिमिटेड ‘ए’ रेटिङमा पर्न सफल भएको हो ।     

बैंकको वित्तीय दबाब व्यववस्थापन गर्न कर्जा जोखिम, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारिता, बैंकको प्रभावकारी सञ्चालनमा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वको विश्लेषण, बजार हिस्सा, ब्राण्ड तथा इमेज, स्वस्थ मुनाफाको आधार, नीतिगत तथा कानूनी प्रभावको मूल्यांकन, पूँजी संरक्षण तथा सरकारबाट प्राप्त सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ ।     
     
नेपाल बैंक लिमिटेड मुलुकको पहिलो बैंक हो । कोरोना भाइरस संक्रमणको विषम परिस्थितिमा समेत पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आफ्ना सबै शाखामार्फत सीमित कर्मचारीलाई संलग्न गराई सीमित बैंकिङ सेवा देशभर सञ्चालन गरिरहेको व्यवस्थापन पक्षको भनाइ छ ।

बैंकले कोरोना पछिको नेपालको अर्थतन्त्र सबल बनाउने कुरामा पनि आफ्नो यो क्षमता लगानी गर्ने अध्यक्ष अधिकारीको भनाइ छ ।


०००

 



प्रकाशित: २०७७ बैशाख १४
April 26th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार