नेपाली समय: ११:५५:०० बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

स्थलगत रिपोर्ट: कष्टकर मजदुर महिलाको दैनिकी- ‘मजदुरको सरकार’, यता पनि हेर्ने कि !

निर्माण सञ्चार, २० वैशाख, जुम्ला । निर्माण संञ्चार स्थलगत रिपोर्ट:

फाँचु दमाई संघर्षको अर्काे नाम हो । उमेरले साँढे ६ दशक कटीसकेकी उनी अहिले पनि ज्याला मजदुरीबाटै परिवार पाल्छिन् । तातोपानी गाउँपालिका ५ बस्ने फाँचुको जिउने साहारा नै गिट्टी कुट्ने हो । 

२५ वर्ष पहिला श्रीमान गुमाएकी उनले करिब ५ वर्ष पहिले छोरा पनि गुमाइन् ।

  • ‘अहिलेसम्म कतैबाट राहत पाएको छैन्,’ फाँचुले भनिन्, ‘तीन नातिनी छन्, लकडाउनले मजदुरी खोसिएपछि छोरीको घरमा आएको छु । नेताहरु भोट मात्रै लिन्या चुनाव जित्या पछि कहिले गाउँमा नआउने प्रवृति रैछ ।’ 
एक छोरा थियो, तिला नदीमा बगेर ज्यान गयो । छोराको मुत्युपछि तीन नातिनीकी आमा रहेकी बुहारीले पनि दोस्रो बिहे गरिन् । त्यसपछि तीन नातिनी र आफ्नो पेट पाल्नका लागि उनीसँग ज्याला मजदुरी र गिट्टी कुट्ने बाहेक विकल्प पनि रहेन । 

बुढेसकालमा छोरा बुहारीबाट सुख पाउने आशा मरेपछि कमजोर हुँदै गएका हड्डी मक्काएर पनि उनी मजदुरी गर्ने कुरा छाड्न सक्तिनन् । यो नै उनको बिहान बेलुकीको हातमुख जोड्ने बाटो हो । 

मे महिनाको पहिलो दिन विश्व मजदुर दिवस भनेर सरकार र हुनेखानेहरुले चिच्याए । कतिले मिडियाबाट त कितले सामाजिक सञ्जालभरि गुगलका फोटा हालेर मजदुरको जय होस् भने ।

तर, धरातलमा यसरी दुख गरिरहेका मजदुरहरुको जय कहिले हुन्छ ? ती फेसबुेक समाजसेवीहरुलाई सोध्न मन लागिरहेको छ । 

सरकारले पनि मजदुर दिवसकै दिन ‘मजदुरले भोकै मर्न नपर्ने’ घोषणा गरेको छ । तर, यी फाँचु दमाईंलाई त्यो पनि थाह छैन !
उनका लागि बिहान बेलुकाको छाक टार्नुको पीडा उनीबाहेक अरुलाई के थाहा ? 

६५ वर्षको उमेरमा पनि खोलाको बालुवा बोक्ने, सडक पेटीमा गिट्टी कुट्ने, ज्याला मजदुरी गर्ने उनको बाध्यता बनिसकेको छ । 
लोग्ने र छोराको मृत्युपछि उनी बाहेक घरको साहारा साना नातिनीहरुका लागि पनि को नै छ र ? 

‘आफ्नो पनि त पेट पाल्नै परो’, निर्माण सञ्चारका लागि जुम्ला सहकर्मी सागर परियारलाई उनले भनिन् ।

जीवन निर्वाहका लागि नाम्लो र हथौडा बाहेक उनीसँग अरु हतियार पनि छैन । न त खेतीपाती गरी खाऊँ भने गर्नमिल्ने जग्गाजमिन नै छ उनीसँग । 

सरकारले सुकुम्बासी र जमिन नहुनेका लागि यति र उति जग्गा दिलाउने नियमहरु बनेका छन् । तर, ती नियमहरु समाचारका हेडलाइनमा मात्र सीमित छन् । फाँचु दमाईंजस्तै वास्तविक भूमिहीन देख्ने आँखा सरकारका पनि छैनन् । 

उनी हरेक बिहान ७ देखि साँझ ६ बजेसम्म गिट्टी कुट्ने, खोला किनारमा बालुवा बोक्ने, ज्यालामा काम गर्ने फाँचुलाई डेढ महिना यता झनै तानब भएको छ । 

० लकडाउनले मजदुरको मुखै लकडाउन

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउनले बलियाबाङ्गाहरुको जीवन जोगाउन त ठिकै भएको होला, तर फाँचु दमाईहरुको छाक कसरी टरेको होला भन्ने सायद थोरैलाई मात्रै थाह छ ।

उनको तनाबको कारण नै छाक टार्ने कसरी भन्ने हो । 

दुखको कुरा के भने लकडाउनकै कारण उनले गरिखाने मजदुरीका काम खोसियो । उनकै भाषामा भन्नु पर्दा ‘उत्पादन गर्ने जग्गा छैन्, भकारी रित्तै छ, गिट्टी बालुवाकै भरमा चलेको परिवार लकडाउनले गर्दा गाउँ भौतारिनु परेको छ ।’

उनले भनिन्, ‘उधारो व्यापारीले दिन्नन्, ऋण साहुले पत्याउन्नन्, छाक टार्नै धौ भएपछि दुई सातादेखि छोरीको घरमा शरणमा छु ।’

० जसले गिटी बालुवा बोकेर अरुको घर ठडिन्छन्, तर उसकै छैन घर !

दुनियाँको आश्चर्य यही छ जसले अरुको घर ठडाउन गिटीबालुवा बोकेर पुराउँछ । तर, त्यही श्रमिक भने घरबार विहीन छ ।

मजदुर जसको घरबार छैन, सुकुम्बासी र भूमिहीन आन्दोलनका नाइकेहरुले यी फाँचुलाई पनि भेट गरे त हुनेनि !
तर, उनको बस्ने गुँड चाहिँ कस्तो छ त ? हामी हेर्न गयौं ।

  • मजदुरहरुकै दिवसमा उनीहरुकै हालतबारे कोही सोच्दैन, फगत सामाजिक सञ्जालमा प्रचार प्रसारका लागि काम गरिन्छन् भने यसको औचित्य नै के रहन्छ र ? तर्सथ श्रमिकको सम्मान र श्रमिकको मानव अधिकार प्रति जिम्मेवार हुने हो भने हरेक स्थानीय तह र केन्द्र सरकराले पनि तिनको डाटा र अवस्थाका आधारमा ठोस नीति र राहतका कार्यक्रम ल्याउने चेस्टा गरोस्
भत्किन लागेको पर्खाल, फाटेको चोलीका दुलाजस्तै छाप्रोको गाह«ो । ... 

अनुहारमा चाउरी परिसक्दा हातबाट हथौडा छुटेको छैन । श्रमिक दिवसको दिन बाटोमै गिट्टी कुट्दै गरेकी फाँचुसँग भएको कुराकानीले

उनको बेदना नलेखी बस्न सकिएन । हुन त उनी जस्तै पिडा भएका अन्य महिला पनि जुम्लामा कमी छैनन् ।
तर उनको पीडा अलि बेग्लै छ । 

० जति खोजेपनि नरित्तिने जुम्लाका मजदुर भूमिहीन महिलाको कथा

योसँगै हामीले खोजी गर्दा चन्दननाथ नगरपालिका ९ की (एकमाया दमाई, मुगु दमाई, दाना दमाई चुच्या दमाई रुपसरी दमाई र ज्योती दमाईं) सबैको कथा एउटै पायौं । 

यी सबैले मजदुरी गरेरै परिवार पालिरहेका छन् । आङमा नयाँ धरो छैन, बस्ने बासको अवस्थामा पनि फरक केही छैन ।

यस्तै, अर्की महिला मजदुर प्रतिनिधि हुन् मुगा दमाई जसको जीवनका २ दशक गिट्टी कुटेर र बालुवा निकालेर बितेको छ । कर्णाली अञ्चल अस्पताल निर्माण हुँदादेखि गिट्टी कुट्ने र बालुवा संकलन गर्ने गरेकी मुगाले ५० वर्ष कटिसक्दा पनि त्यसबाट मुक्ति मिलेको छैन । 

० ‘क्रान्तिकारी’ भनिनेहरुका लागि मजदुर भ¥याङ मात्रै !

यतिका दिनमा कर्णाली नदीमा धेरै पानी बगिसकेको छ । मजदुरको सरकार ल्याउने, मजदुरहरुलाई मुक्ति दिने भन्दै १० वर्षे सशस्त्र संघर्ष

गरेका माओवादीहरुले पनि पटक पटक सरकार चलाइसके । उनीहरुका नेताहरुले पनि आधा दर्जन भन्दा बढी पटक उनीसँग भोट मागेर जितेर गए । 

अहँ, युद्धका बेला ज्यान पनि दिने यस्तै जनता थिए । रगत पसिना दिने पनि यस्तै जनता थिए । भोट दिने पनि यस्तै जनता नै हुन् । तर, यिनको मुक्ति कहिलै आएन ।

बरु रगत, पसिना र श्रम दिएर पनि नपुगेका तिनलाई सहिद बनेर ज्यानै दिँदा पनि तिनीप्रति सरकार चलाउन पुगेकाहरु इमानदार छन् त ? 

यी मदजुरहरुलाई हेरेर यो प्रश्न गर्न मन लाग्छ !

यी बेइमान राजनीतिक दलहरु केसम्म माग्न आउँछन्, तर फिर्ता चाहिँ केही पनि दिँदैनन् । यिनकै दुई तिहाई (नजिक) को सरकार छ । उनीहरुलाई नै भाग नपुगेर छिनाझम्टी लुछाचूडी गरिरहेका छन् । 

काम गर्न खोजिरहेको ओली सरकार विरुद्ध आफ्नै दलका शीर्ष नेताहरु, अझै भनौं पूर्व प्रधानमन्त्री भइसकेकाहरु सरकार र सत्ता नपाएको भन्दै केन्द्रमा झगडा गरिरहेका छन् भन्ने सुन्दा मुगा दमाई भन्छिन्, ‘जति भएनि उनीहरुलाई नै पुग्दो रहेनछ । हामीलाई कस्ले हेर्ला र खै !’

निरास हुँदै उनले भनिन् ।

लकडाउन सुरु भएदेखि यता मुगाको पनि हालत उस्तै छ । लकडाउनले उनको मजदुरी खोसिएको छ । उनलाई चिन्ता परेको छ ।

प्रदेश सरकार पनि कानमा तेल हालेर सुतेको छ यी मजदुरहरुका लागि । राहत बाँढ्ने भनिए पनि यस्ता मजदुरका हातमा न चामल प¥यो, न दाल न नुन, न तेल !

फाँचु र मुगा जस्तै एकमाया, दाना, चुच्या, रुपसरी र ज्योती दमाईंको गरिबीको कथा जति भने पनि सकिदैन । घरमा खाने नुन तेल किन्ने पैसा छैन ।

मे महिनाको पहिलो दिन विश्व मजदुर दिवस भनेर सरकार र हुनेखानेहरुले चिच्याए । कतिले मिडियाबाट त कितले सामाजिक सञ्जालभरि गुगलका फोटा हालेर मजदुरको जय होस् भने । तर, धरातलमा यसरी दुख गरिरहेका मजदुरहरुको जय कहिले हुन्छ ? ती फेसबुेक समाजसेवीहरुलाई सोध्न मन लागिरहेको छ

लकडाउनले मजदुरी खोसिएका यस्ता मजदुरका नाममा स्थानीय सरकारले कुनै राहत नदिएकोमा उनीहरु दुखी छन् । फाँचु दमाई भन्छिन्, ‘खै हाम्रो भोट माग्नेबेला चिन्छन्, अघिपछि कसैले चिन्दैनन् ।’

० मजदुर दिवस आउँछ जान्छ !

हरेक वर्ष अन्तराष्ट्रिय श्रमिक दिवस मई १ तारिखमा मनाइन्छ । यो वर्ष कोरोना भाइरसको त्रासले भने दिवसमा कुनै औपचारिक कार्यक्रम भएनन् ।

कार्यक्रम नभएपनि मन्त्रीदेखि सांसद र गाउँका साना नेतासम्मले शुभकामना भव्य रुपमै दिए । 
तर, श्रमिकलाई नै भोको नराख्ने भन्नेहरुले श्रमिक भोकै बसेको चाहिँ देखेको छैन । 

एकमाया दमाईले भनिन, ‘खोइ श्रमिक दिवस भनेको के हो ? कसरी आउँछ कसरी जान्छ थाहा छैन् ? कोरोना भाइरसले हाम्रो त रोजीरोटी नै खोसियो । कित सरकारले मजदुरका लागि विशेष राहतको प्याकेज ल्याउनु पथ्र्यो कित मजदुरी गर्ने वातावरण बनाउनु पप्थ्र्यो !’

‘अहिलेसम्म कतैबाट राहत पाएको छैन्,’ फाँचुले भनिन्, ‘तीन नातिनी छन्, लकडाउनले मजदुरी खोसिएपछि छोरीको घरमा आएको छु । नेताहरु भोट मात्रै लिन्या चुनाव जित्या पछि कहिले गाउँमा नआउने प्रवृति रैछ ।’ 

जुम्लामा एकिन श्रमिकको तथ्यांक छैन । तर पनि यहाँ सयौँ महिला रोडमा बाध्य भएर गिट्टी कुटिरहेका छन् । नदीमा बालुवा निकालिरहेका छन् । 

उनीहरुको स्थायी व्यवस्थापनमा राज्यको नीति र कार्यक्रम खोइ ?

० दिवसले नछोएको पाटो जुम्लाका मजदुर

मानव जीवनमा महोत्व राख्ने ‘८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जन’ भन्ने मूल नाराका साथ आजभन्दा १३४ वर्षअघि

अमेरिकाको सिकागोका मजदुरले आन्दोलन गरे ।  जसको सम्झानमा विश्वभर मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) मनाइन्छ ।

डेढ दशकदेखि गिट्टी कुट्दै आएकी फाँचु दमाई, मुगा दमाई लगायत अन्य श्रमिक महिला 
सन् १८९० देखि संसारभरिका श्रमिकहरूले आफ्नो विजय उत्सवका रूपमा मनाउन प्रारम्भ गरेको अन्तर्राष्ट्रिय श्रमिक दिवसले १३० वर्षको उतारचढाव पार गर्दै आएको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक दिवसमा श्रमिक आन्दोलनको समिक्षा गर्दै आगामी एक वर्षका निम्ति कार्यक्रम तर्जुमा गर्दै घोषणापत्र जारी गरिन्थ्यो । 

तर यस वर्ष १३१ औँ मजदुर दिवस भने कोरोना भाइरसको त्रासका कारण कुनै कार्यक्रम हुन कसेन । कोभिड—१९ को महामारी र लकडाउनको कारण सम्पूर्ण उद्योगधन्दा, कलकारखाना, व्यापार, व्यवसाय, शैक्षिक प्रतिष्ठानहरू बन्द छन् । 

ज्याला, मजदुरी तथा करारमा कार्यरत असंगठित क्षेत्रका मजदुर, स्वरोजगार, साना तथा मझौला उद्योग व्यवसायलगायत ठूलाठूला उद्योग तथा व्यापारिक प्रतिष्ठानमा कार्यरत करोडांै मजदुरको रोजीरोटी गुमेको छ । 

लकडाउन संगै नेपालका उद्योगधन्दा, कलकारखाना, व्यापारिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठानलगायत सरकारी एवं गैरसरकारी कार्यालयहरूसमेत विगत ५ हप्तादेखि बन्द छन् । साना तथा मझौला उद्योग व्यवसाय ठप्प छन्  पर्यटन तथा होटेल एवं यातायात क्षेत्र सुनसान छन् । निर्माण क्षेत्रका काम प्रायजसो ठप्प छन् । जसले गर्दा गाउँ देखि शहर सम्मका श्रमिक भौतारिरहेका छन् । 

० नयाँ आर्थिक वर्षको बजेटमा यो नछुटोस् 

हालको अवस्थामा श्रमिकका पिडामा मलम लगाउने लक्ष्य सरकारसँग भए कोरोना भाइरसको संक्रमणको रोकथामका निम्ति लामो समयसम्म कायम रहेको लकडाउनले करार, ज्यालादारीमा कार्यरत असंगठित क्षेत्रका मजदुर, पर्यटन तथा होटेल क्षेत्रमा कार्यरत मजदुरहरू, निर्माण तथा इँट्टा भट्टामा कार्यरत मजदुर, साना तथा मझौला उद्योग व्यावसायिक प्रतिष्ठान र विभिन्न उद्योग तथा व्यावसायिक

प्रतिष्ठानहरूमा कार्यरत श्रमजीवीको रोजगारी गुमेको बारेमा ठोस नीति आएको देखिएन । नयाँ आर्थिक वर्षको बजेट तर्जुमा गर्न जुटिरहेको सरकारले यसरबारे पक्कै सोच्नु पर्ने हुन्छ ।

यी सबै क्षेत्रमा कार्यरत श्रमजीवीका निम्ति तत्कालै राहत प्याकेजको घोषणा गरिनु पर्छ भन्ने यी क्षेत्रका मजदुरहरुको माग छ ।

० अब स्थानीय तहमा पनि गरौं बहस

  • लकडाउनले मजदुरी खोसिएका यस्ता मजदुरका नाममा स्थानीय सरकारले कुनै राहत नदिएकोमा उनीहरु दुखी छन् । फाँचु दमाई भन्छिन्, ‘खै हाम्रो भोट माग्नेबेला चिन्छन्, अघिपछि कसैले चिन्दैनन् ।’
श्रमिक आन्दोलनका आधारभूत मुद्दा न्यूनतम ज्याला हो र सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायराभित्र समेट्नुपर्ने, श्रमिकको अभिलेख स्थानीय तहमा राखिनुपर्ने, सामाजिक सहयात्रीहरूसँगको सामूहिक सौदाबाजीमार्फत श्रमिकका मुद्दाहरूको सम्बोधन गरिनुपर्ने, समान कामका लागि समान ज्याला हुनुपर्ने जस्ता मुद्दा कहिले समधान हुने यसमा अब बहस हुन जरुरी छ । 

मजदुरहरुकै दिवसमा उनीहरुकै हालतबारे कोही सोच्दैन, फगत सामाजिक सञ्जालमा प्रचार प्रसारका लागि काम गरिन्छन् भने यसको औचित्य नै के रहन्छ र ?

तर्सथ श्रमिकको सम्मान र श्रमिकको मानव अधिकार प्रति जिम्मेवार हुने हो भने हरेक स्थानीय तह र केन्द्र सरकराले पनि तिनको डाटा र अवस्थाका आधारमा ठोस नीति र राहतका कार्यक्रम ल्याउने चेस्टा गरोस् ।

 

०००



प्रकाशित: २०७७ बैशाख २०
May 2nd 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्