नेपाली समय: १२:०९:४६ राती
वि.सं २०७७ कार्तिक ११   मंगलवार

तिला नदीमा बाढीः जुम्ली मार्सीको रोपो बगरमा परिणत

निर्माण सञ्चार, २८ साउन, जुम्ला

जुम्लाको तिला नदीमा आएको बाढीले यहाँका तीन स्थानीयतहका हजार भन्दा बढी मार्सी रोपेका खेतहरु बगरमा परिणत भएका छन् ।

चन्दननाथ नगरपालिकाको खल्लाचौर ज्युलोदेखि पश्चिमको तिला गाउँपालिका त्रिवेणी ज्युलोका हजार भन्दा बढी खेतहरु बाढीले डुवानमा परेका हुन् । गोडमेल गरी तीन महिनापछि मार्सीधान घर भित्राउने तयारीमा जुम्ली किसान बाढीले मार्सी रोपेका खेत बगरमा परिणत भएपछि धान उत्पादन घट्ने भन्दै किसान चिन्तीत भएका छन् । 

सोमबार तिला नदीको पानीको बहाफ बढेर जुम्लाका डेढ दर्जनबढी ज्यूलोका एक हजार बढी मार्सी रोपेका खेतहरु डुबानमा परेका हुन् ।

डुवान पर्नेमा तिला गाउँपालिकाको त्रिबेणाी ज्यूलोका ५० खेत, लुम्सेरा ज्यूलोका ५० खेत, तातोपानी गाउँपालिका १ नंं वडाभित्र पर्ने चारवटा ज्यूलोका २ सय ५० खेत, साथै पहिलो मार्सीधान खेती गरिएको लाछु ज्युलोका ३ सय खेत जती डुवानमा परेका छन् ।

तातोपानी ३ को ताँ ज्युलोका ६० खेत पनि डुवानमा परे ।

त्यस्तै, तातोपानी गाउँपालिका २ कै टापु ज्युलोका ३० खेत,बाबिराका २० खेत, हाँकु तलि ज्यूलोका २० खेत डुबावनमा परेको अनुमान गरिएको स्थानीय धन बुढाले बताए  । यता चन्दननाथ नगरपालिकाको उम्मगाड ज्यूलोका ४० खेत, श्रीढुस्का ज्यूलोका ५० खेत र रानी ज्युलोका करिब ७० खेतहरु डुबानमा परी मार्सीधान उत्पादननै नहुने अबस्थामा पुगेका छन् । 

तातोपानी ३ का वडाध्यक्ष डिल्ली रावलले वर्षेनि तटबन्द निर्माण गरेपनि खेतीयोग्य जमिन कटान तथा डुबानलाई रोकथाम गर्न चुनौती रहेको बताए । जिल्लाभरीनै आकलन गर्दा एक हजार भन्दा बढी मार्सीधान रोपेका खेत डुबानमा परेका छन् ।

तातोपानीका स्थानीय धन बुढा भन्छन,“मेरो ३ मुरी खेत, डुबावनमा परेका छन् । मार्सीधानका बाला झुल्ने अबस्थामा खेतभरी बालुवा ढुंगा भरिएका छन् । रवि बुढाका ५ मुरी, झरसिंह बुढाका ५ मुरी, नरेन्द्र बुढाका ३ मुरी, पशु खड्कका ३ मुरी गरी जर्मीगाउँका ४० जनाको करिब ७० मुरी धान उत्पादन हुने खेत बगर बनेको छन् । राहतका लागि स्थानीय सरकारलाई माग गरिएको छ । ”

किसान लोक बहादुर दमाई भन्छन, “२÷३ भारी खेत थिए सबै डुबानमा परिसके अब मार्सी धानको नौली खान पनि नपाईने भयो । न बालुवा निकालेर अन्य बाली लगाउने नपाई न धान उत्पादन हुने, यस वर्ष बाझै खेत हेरेर बस्नु पर्ने अबस्था आयो ।”

यता जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले किसानलाई नआत्तिन आग्रह गरेका छन् । डुबानमा परेका सबै खेतमा मार्सी उत्पादन नहुने भन्ने पनि हुदैन् । के कति क्षति भएको, धान उत्पादन हुने अबस्था छ कि छैन्, सबै अबस्था बुझेर किसानलाई जानकारी गराईने उनको भनाई छ । 

बुधबार कृषि विज्ञ सहितको टोली लिएर डुबानमा परेका खेतहरु अनुगमन गर्न जाने तयारी भईरहेको छ । अनुगमन पश्चात धान उत्पादनमा गिरावट आउने वा नआउने भन्ने बारे एकिन हुने उल्लेख गरे । 

०००



प्रकाशित: २०७७ साउन २८
August 12th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्