नेपाली समय: ०१:०८:४९ अपरान्ह
वि.सं २०७७ कार्तिक ११   मंगलवार

निषेधाज्ञामा सीमित शाखा खोल्न हिँडेका बैंकका कर्मचारीलाई रोकियो, सबै शाखा बन्द गर्ने निर्णय

निर्माण सञ्चार, ४ भदौँ,काठमाडौँ । निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको छ ।

नेपाल  बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज बैंक नखोल्न भनिएको बताए। उनले भने, ‘प्रहरीले हाम्रा कर्मचारीलाई दुःख दिए त्यसैले मैले आज बैंक नखोल्न भनेको छु ।’


बुधबारबाट सुरु भएको निषेधाज्ञामा पनि अत्यावश्यकीय सेवाभित्र पर्ने बैंक तथा वित्तीय संस्था सीमित खोल्न दिने मंगलबार साँझ स्थानीय प्रशासन, राष्ट्र बैंक र बैंकहरुबीच सहमति भएको थियो।

काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छन् । बैंकका सीईओलाई समेत बाटैमा रोकिएको बैंकर्सहरुले बताउँछन् ।

प्रहरी र राष्ट्र बैंकसँग कुराकानी भएपछि बैंकहरुले चार कुनामा पर्ने शाखाहरु सीमित संख्यामा खोल्ने निर्णय गरेका थिए। नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले भने, ‘हिजो सीडीओसँग समन्वय गरी हरेक बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति भएको थियो । बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएको थियो तर बिहान बैंक खोल्न जान लागेकाहरुलाई पनि रोकियो ।’

घरबाट निष्किनेबित्तिकै कर्मचारीलाई पक्राउ गरेपछि संघले राष्ट्र बैंकसँग कुराकानी गरेर आज शाखा बन्द गर्ने निर्णय गरेको हो।

बैंकरका अनुसार, कतिपयलाई सडक किनारमा राखिएको छ भने कतिपयलाई नजिकको प्रहरी कार्यालयमै पुर्याइएको छ। सहमति विरुद्ध गएर काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको समेत बैंकरले बताएका छन्।


ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने आफूहरुले माथिको आदेश बमोजिम काम गरिरहेको बताए । बैंकका सीईओलगायतको गुनासो आएपछि सहजीकरण गरिरहेको पनि उनले जानकारी दिए । एसएसपी ढकाले भने, ‘हामीले आदेश बमोजिम गर्ने हो । अस्पष्ट भएका केही विषयमा भए माथिल्लो निकायमा समन्वय गर्छौं ।’


०००



प्रकाशित: २०७७ भाद्र ४
August 20th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार