नेपाली समय: ०५:०१:२६ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

स्वदेशी निजी क्षेत्र एकढिक्का भएर सरकारसँग सहकार्य गर्न तयार रहनुस्– अर्थमन्त्री खतिवडा

निर्माण सञ्चार, काठमाडौं । सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभामा अर्थमन्त्री डा युवराज खतिवडा बडो उच्च मनोविज्ञान साथ प्रस्तुत भए ।

लगानी सम्मेलन लगत्तैको उद्योग परिसंघले जुटाएको स्वदेशी लगानीकर्ताहरु माझ प्रधानमन्त्री सहित अर्थमन्त्रीको उपस्थिति महत्त्वपूर्ण घटनामै परिणत भएको छ ।

 
एउटा निजी क्षेत्रको अग्रणी संस्था, परिसंघको साधारण सभामा प्रधानमन्त्री सहित अर्थमन्त्रीको उपस्थितिले कति महत्त्व राख्छ भन्ने कुरा व्याख्या गरिरहन जरुरत नै छैन । 
 
प्रधानमन्त्री र अर्थ मन्त्री सँगसँगै एउटै मञ्चमा बस्ने गरी दिइएको यस्तो महत्त्वले अर्थ राख्छ । यस्तो महत्त्व सायद स्वदेशी लगानीकर्ताहरुका अन्य संस्थामा यस अघि दिइएको थियो कि थिएन भन्ने तरंग नै सिर्जना गरेको छ ।
 
त्यस्तो महत्त्व किन दिए त सरकारका प्रमुख व्यक्तित्वहरुले ? 
 
भरखरै मात्र वैदेशिक लगानीकर्ताहरुलाई एकै ठाउँ जुटाएर नेपालमा लगानी गर्न अपिल गरेको सरकारले हरिभक्त शर्मा नेतृत्वको उद्योग परिसंघलाई यसरी महत्त्व दिनुका पछाडि अर्काे रहस्य पनि लुकेको थियो ।
 
शर्मा नेतृत्वको परिसंघ नेपालको यस्तो निजी क्षेत्रका रुपमा रहँदै आएको छ, चाहे जोसुकैको सरकार होस्, सरकारले गरेको अन्तर्राष्ट्रिय स्तरको कुनै पनि कार्यक्रममा निजी क्षेत्रको साँच्चै नै गौरवपूर्ण अस्तित्व देखाउने सहयोगी निकायका रुपमा यसले छवि बनाएको कुरामा कसैको दुई मत छैन ।
 
यही परिसंघले भरखरै सम्पन्न लगानी सम्मेलनमा खेलेको भूमिका सायद लगानी बोर्ड र अर्थमन्त्रालयले त खुलेरै स्वागत गरेको थियो ।
 
प्रधानमन्त्रीकै तहमा पनि लगानी सम्मेलनमा नेपालको गुरुत्वपूर्ण लिडिङ रोलमा उभिएको हरिभक्त शर्मा सहितको परिसंघ आँखामा पर्नु पनि कुनै नौलो घटना पनि भएन । 
 
प्रधानमन्त्री र अर्थमन्त्री दुवैले केही संयोग र केही अवसरका रुपमा परिसंघको यो जमघटलाई प्रयोग गरे ।
 
त्यो थियो स्वदेशी लगानी सम्मेलन । स्वदेशका लगभग सबै लगानीकर्ताको उच्च हैसियत भएकाहरु जम्मा भएको सो सभामा निजी क्षेत्रलाई सँगसँगै अघि बढाउने बारे मुलुकमा बहस चलिरहँदा समृद्धिको नारा अघि सारेको सरकारले यस्तो घटनालाई मौकाको रुपमा लिएको देखिन्छ ।
OOO
अर्थमन्त्री डा खतिवडाले उक्त समारोहमा स्वदेशी लगानीकर्ताहरुलाई एक हिसाबले अर्थपूर्ण सम्बोधन नै गरेका छन् । 
उनले लगानी सम्मेलन पछि निजी क्षेत्रको मनोविज्ञान समेट्ने गरी बस्न नपाएको ग्यापलाई समेत पूर्ति गरेका छन् ।
उनले भने, ‘लगानी सम्मेलन पछि बस्ने मौका जुटाइदिएकोमा परिसंघलाई विशेष धन्यवाद पनि छ ।’
OOO
वैदेशिक लगानी भित्राउँदा स्वदेशी पुँजीको स्पेस के हुने भन्ने अर्थपूर्ण बहस चलिरहेकै बेला प्रधानमन्त्री र अर्थमन्त्रीले त्यो जिज्ञासा मेटाउने प्रयासका रुपमा परिसंघको उक्त खुला सत्रलाई उपयोग गरेको देखियो ।
 
उनले भने, ‘अब कुरा गरेर बस्ने दिन गए । काम गर्ने बेला कसले के गरेन भनी गुनासो हैन काम गरौं । सरकार स्वदेशी निजी क्षेत्रलाई हरदम सहयोग गर्न तत्पर छ ।’
 
निजी क्षेत्रका सबै छाता संगठनहरु एक भएर सरकारको समृद्धि अभियानमा सहकार्य गर्न अपिल गर्दै उनले निजी क्षेत्रका स्वार्थ र समस्या सरकारले पहिचान गरिसकेको समेत दाबी गरे । 
 
ऐन, नीति, नियम, कानुन कुनै पनि कुरा लगानीका लागि बाधक नहुने भन्दै अर्थमन्त्रीले एकहिसाबले स्वदेशी उद्यमीहरुका माझमा आफू लगानीमैत्री अर्थमन्त्री रहेको समेत सन्देश दिन सफल भए । 
 
‘अब निजी क्षेत्रका सबै छाता संगठनहरु एक भई राष्ट्रिय मुद्दाहरुमा एक मतका साथ सरकारसंग सहकार्य गर्न अघि बढ्नुस्, यो लगानी गर्ने समय हो ।’
 
उनले लगानी मैत्री नीति नियम बनोको पनि दाबी गरेका थिए । फेरि पनि उनको जोड स्वदेशी लगानीकर्ताहरुसँग लगानी गर्नमै रह्यो ।
 
‘निजी क्षेत्रले लगानी मात्र गर्नुस नीति, नियम सजिलो बनाउने काम सरकारको हो । क्रमशः कार्यान्वयन गर्दै जाने छौं ।’
 
सपना देख्ने मात्र हैन अब ब्युँझने नै हो
 
उनका अनुसार अब समृद्धिको सपना देखिरहने मात्र हैन सपनाका लागि ब्युँझनु पर्ने बेला नै आइसकेको छ । 
उनले भने, ‘अब समृद्धिका लागि सपना मात्र हैन ब्युँझनु नै पर्छ । सरकार ब्युँझिसकेको छ ।’
 
राष्ट्रिय योजना आयोगले भरखरै मात्र अघि सारेको १५ औं योजनाको आधारपत्रमा निजी क्षेत्रको भूमिकालाई उल्लेख गरी मुलुको आर्थिक वृद्धिकोे परिकल्पनामा गरिएको बताउँदै अर्थमन्त्रीले लगानी सम्मेलन पछि र आयोगको उक्त आधार पत्र पछि अझै सकारात्मक वातावरण बनेको उनले ठोकुवा गरेका थिए ।
 
लगानी सम्मेलनले आफूमा नयाँ दायित्व थपेको बोध भएको पनि अर्थमन्त्रीले सुनाए । 
 
उनले भने, ‘लगानी सम्मेलनबाट अगाडि बढाइएका आयोजनाहरुमा ठूलो लागत छ । यसले दीर्घकालीन रुपमा नयाँ ढोका खोलेको छ । लगानीको वातावरण बनेको छ ।’
 
आउने १० वर्षभित्र १५ सय मेगावाट विद्युत उत्पादन गर्न करिब ६० खर्ब लाग्ने, २० हजार किलो मिटर रेलवे विस्तार र ७० हजार किलो मिटर सडक निर्माणका लागि थप बजेट नै तयार गर्न सरकार लागिपरेको उनले स्पष्ट पारे ।
 
नयाँ वर्ष लागेसँगै अर्थमन्त्रालयले बजेटको खाका नै अन्तिम रुपमा विकास गर्ने भएकाले आउने आर्थिक वर्षका लागि बजेट तर्जुमा गर्न जुटिरहेका अर्थमन्त्रीले यसो भन्नुको अर्थ रहन्छ ।
 
२०२० पर्यटन भम्रण बर्षको रुपमा मनाउन ५० लाख पर्यटक भित्राउन सम्भब रहेको त्यसका लागि पर्यटन पूर्वाधारमा ठुलो लगानी आवश्यक रहेको उनको जोड छ ।
 
उनले थपे, ‘र त्यसका लागि निजी क्षेत्रकै पनि ९५ प्रतिशत लगानीको आवश्यकता रहेको नकार्न सकिन्न । सरकारले आवश्यक व्यासायिक वातावरण बनाइदिने छ । यहाँहरु लगानीका लागि तयार रहनुस् ।’
 
लगानीमैत्री वातावरणका लागि सरकार काम गरिरहेको उनको दाबी  छ ।
 
उनले व्यवसायीका लागि रहेको अवरोध समेतको पहिचान भइसकेको र अब व्यवस्थामा सुधार गर्नु करिब २ दर्जन प्रणालीका सुधार परिर्वतन गर्नु पर्ने देखिएको बताए ।
 
थपे, ‘चाहे कम्पनी दर्ताका, कम्पनी सञ्चालन गर्दाका, कर तिर्न पर्ने कुरामा नँया नियमावली बनाउन सुरु भइसकेको छ,’ डा खतिवडाले भने।
 
उनले स्वदेशी उद्योग र उद्यामी बिचमा स्वस्थ प्रतिस्पर्धाको वातावरण आवश्यक रहेको भन्दै एकाधिकार प्रवृत्तिमा नचल्न पनि लगानीकर्तालाई आग्रह गरे ।
...

सोमबार, २५ चैत, २०७५

 



प्रकाशित: २०७५ चैत्र २६
April 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार