नेपाली समय: ०७:१७:२७ बिहान
वि.सं २०७६ मंसिर २१   शनिवार

नेपालमा अब पुरषले पनि नर्स बन्न पाउने !

निर्माण सञ्चार, काठमाडौँ | नेपालमा पुरुषहरूले नर्स बन्न पाउने भएका छन् । पुरुषले समेत नर्सिङ पढ्न पाउने गरी हाल प्रशासनिक प्रक्रिया अघि बढाइएको छ ।

यसअघि नेपालमा पुरुषले नर्स पढ्न पाउने व्यवस्था थिएन । तर विदेशमा भने थोरै संख्यामा भए पनि पुरुषले नर्सिङ विषय पढेर बिरामीको सेवा गरिरहेका छन् ।

नर्स बनेर सेवा गर्न पुरुषले किन नपाउने भन्ने प्रश्न नेपालमा पनि पछिल्लो समयदेखि उठ्न थालेको प्रश्न हो ।

अब भने पुरुषहरूलाई पनि अनमी (सहायक स्वास्थ्य परिचारिका), पीसीएल नर्सिङ र बीएससी नर्सिङमा भर्ना लिन सकिने गरी प्रक्रिया अघि बढाउन लागिएको छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डिन प्राध्यापक डा. जगदीशचन्द्र अग्रवालले मुलुकबाहिर पुरुष नर्सहरू भएको बताउँदै नेपालमा पनि आवश्यक भएको दाबी गरे ।

डा. अग्रवालले भने ‘पुरुष नर्सको माग स्वदेश तथा विदेशमा बढेको छ ।’

उनकाअनुसार नर्सिङ परिषद्ले गरेको निर्णय प्राप्त भएपछि अगाडिका प्रक्रियाहरू बढाइन्छ ।

यता नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले भने नर्सिङ सेवालाई प्रभावकारी, व्यवस्थित एवं वैज्ञानिक ढंगले संचालन गर्न पुरुषहरूलाई पनि सामेल गराउनु पर्ने खाँचो देखिएपछि प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।

पुरुषहरूले यसै शैक्षिक सत्रदेखि नर्सिङमा भर्ना हुन पाउने भएका छन् ।

नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७४/०७५ देखि नै लागू हुने गरी १५ प्रतिशत पुरुषलाई भर्ना गराउने निर्णय गरिसकेको छ ।

परिषद् सदस्य समेत रहेकी नर्सिङ संघकी अध्यक्ष पोखरेलले निर्णय कार्यान्वयनका लागि विभिन्न विश्वविद्यालय, प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लगायतका निकायहरूमा पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

...

मंगलबार, १३ असार, २०७५



प्रकाशित: २०७५ आषाढ १२
June 26th 2018

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार