नेपाली समय: ०८:११:५५ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन

निर्माण सञ्चार, काठमाडौं । एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

गृहप्रवक्ता रामकृष्ण सुवेदीले ७ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता सुवेदीले मौसमका प्रतिकूलताका कारण वुधबार ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको दाबी गरे ।

उनले दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको समेत बताएका छन् ।

घटनास्थलमा मन्त्री र मन्त्रीका पिएसओका शव चिन्न सक्ने अवस्थामा रहेको र अन्यको शव चिन्न नसकिने अवस्थामा रहेको समेत उनले बताए ।

अहिले घटनास्थलमा सेनाको एमआई १७, सिम्रिक र डाइनेष्टीका एक–एकवटा हेलिकोप्टर गएको तर अवतरण गर्न नसकेको समेत प्रवक्ता सुवेदीले बताए ।

घटनास्थल निकै भिरालो र अप्ठ्यारो ठाउँमा भएकोले उद्धारका लागि करिब २ घण्टा लाग्ने समेत प्रवक्ता सुवेदीले बताए ।

दुर्घटनामा परि हेलिकोप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।

यसैबीच गृहमन्त्रालयले केहीबेर अघि पत्रकार सम्मेलन गरि हेलिकोप्टरमा सवार सबै ७ जनाको निधन भएको र सबै शव प्राप्त भएको जानकारी गराएको छ ।

मन्त्री अधिकारी र उनका पिएसोको शव चिन्न सक्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ गएको मन्त्रालयले जनाएको छ ।

ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्कने क्रममा दार्हेभिरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको गृहमन्त्रालयले जनाएको छ ।

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ ।

 

 

...

बुधबार, १५ फागुन, ०७५

 



प्रकाशित: २०७५ फाल्गुण १५
February 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार