नेपाली समय: ०५:१०:५८ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

फेरि आउन थाल्यो निर्माण व्यवसायीमाथि ज्यान मार्ने धम्कीः सरकार खै सुरक्षा ?

निर्माण सञ्चार, काठमाडौं । देशको समृद्धिको आधारभूत पक्ष भनेकै पूर्वाधार निर्माण नै हो । यस क्षेत्रमा कार्यरत व्यवसायीहरुलाई हिजो आज फेरि ज्यान मार्ने धम्की आउन थालेपछि निर्माण व्यवसायमा आतंक सिर्जना भएको छ ।

निर्माण उद्योगमा संलग्न व्यवसायीमाथि यस्तो धम्की विगतमा लामै समय आएको थियो ।

गत ०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको गोली हानी हत्यापछि तारन्तार फोन धम्की आउने क्रम हत्या योजनामा संलग्न आरोपी समीरमान सिंह बस्नेत सहितका अभियुक्तहरु पक्राउ पछि रोकिएको थियो ।

तर, हिजोआज फेरि एकाएक ‘अननन’ कलर आइडीबाट फोन–धम्की आउन थालेको ‘सिनियर’ कन्ट्र्याक्टरहरुको गुनासो छ ।

आफूमाथि यसरी फोनबाट सिधै धम्की आएको कुरा महासंघका पूर्व अध्यक्ष समेत रहेका अगुवा निर्माण व्यवसायी जयराम लामिछानेले संसद्को सार्वजनिक लेखा समितिमै भनेपछि यसले गम्भीर रुप लिएको छ ।

यसरी आयो ‘अज्ञात’ नम्बरबाट धम्की !

निर्माण सञ्चारसँग टेली संवादमा ‘सिनियर कन्ट्र्याक्टर’ लामिछानेले केही दिन अघि मध्याह्न १२ बजेतिर ‘अज्ञात’ नम्बरबाट फोन आएको र उसले हुलाकी राजमार्ग निर्माण कार्यबाट ३ प्रतिशत रकम आफूहरुलाई चाहिएको दाबी गरेको बताए ।

उनले भने, ‘म ड्राइभ गरिरहेको थिएँ । सायद १२ बजेर ३ मिनेट गएको थियो होला । अज्ञात नम्बरबाट फोन आएछ । मैले सिधै रेस्पोन्ज गरें । तर, जो बोल्दै थियो उसले जयराम लामिछाने भनेको तिमी हैन, हुलाकी सडकको कामबाट हामीलाई ३ प्रतिशत दिनु पर्यो ।’

उसको रुखो स्वरबाट आजित भएर आफूले तुरुन्तै फोन काटेको र सोही दिनमात्र २५ भन्दा बढी सोही ‘अज्ञात’ नम्बरबाट फोन आइरहेको लामिछानेको भनाइ छ ।

त्यसपछि फोन आउने क्रम लगातार ३ दिनसम्म नरोकिएको र आफूले पनि ‘रेस्पोन्ज’ नगरेको महासंघका पूर्व अध्यक्ष समेत रहेका लामिछानेले बताए ।

तर, चौथो दिन उसले आफ्नो घरको नम्बर नै पत्तालगाएर फोन गरेको र सहयोगी सहित आफ्नी श्रीमतीलाई ‘बाँच्न मन भए ‘फलाना’ को नम्बर उठाउन भन्दिनू’ भन्ने आदेश छाडेको उनको भनाइ छ ।

‘त्यसपछि मैले हिजो (मंगलबार) बिहान उसको त्यही ‘अज्ञात’ फोन उठाएँ । उसले चुत्थो स्वरमा तल्लो दर्जाको सम्बोधन गरेर बोल्यो । मैले पनि उसलाई जस्तालाई तस्तै गरी हप्काएँ । तर उसले बाँच्न मन छ कि छैन भनेर गौचनजीको पूर्व घटित घटना याद दिलाउने गरी धम्क्यायो । यस्तो छ अवस्था । सुरक्षा कहाँ छ खै ?’

लामिछानेका अनुसार मंगलबार लेखा समितिको वैठकमा आफूले सांसदहरुलाई सुरक्षा निकायदेखि सरकारको सम्बन्धित निकायमा जानकारी गराई आफूहरुको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न अपिल गरेका छन् ।

समितिमा बोल्दै लामिछानेले ‘मैले प्रहरीको उपल्लो निकायमा सम्पर्क गरें । तर, दुर्भाग्य निकायवालहरुको फोन अफ पाउँछु । तैपनि मेरो पेसा संलग्न संस्था, सरकारका सुरक्षा निकायहरुमा जानकारी गराएपछि यहाँ पनि यही कुरा दर्ज गरिरहेको छु । हामी व्यवसायीको सुरक्षाबारे सरकार गम्भीर बनोस् ।’

सरकारी ठेक्का र तिनको निर्माण प्रक्रियाबारे देखिएका समस्यामाथि छलफल मंगलबार लेखा समितिसँग छलफलमा सरिक भएको नेपाल निर्माण व्यवसायी महासंघ सहितको टोलीले यसबारे उक्त समितिमा जानकारी गराएको हो ।

यस्तो अज्ञात नम्बरको फोनबाट यतिबेला लगभग ठूला सबै निर्माण व्यवसायीलाई आइरहेको महासंघको भनाइ छ । 

महासंघले आफूहरुको पेसागत तथा पेसामा संलग्न व्यवसायीहरुको जीउधनको सुरक्षाको ग्यारेन्टी गर्न सरकार समक्ष माग पनि गरेको छ ।
मंगलबार भएको सो छलफलमा समितिले देशैभरका निर्माण कार्य र तिनको अवस्थाबारे लेखाजोखा गरिरहेको भन्दै आफ्नो चासोबारे पनि निर्माण व्यवसायीलाई ध्यानाकर्षण गराएको थियो ।

अध्यक्ष रवि सिंहको नेतृत्वमा गएका निर्माण व्यवसायीहरुले लेखा समितिमा आफूहरु माथि आवश्यकता भन्दा बढी प्रहार हुन थालेकोमा पनि चिन्ता प्रकट गरेको छ ।

व्यवसायीहरुले निर्माण कार्य ढिला हुनुमा सरकारी पक्षको उदासीनता नै मुख्य कारण रहेको बताएका छन् ।

पछिल्ला दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि देशैभरका ठेक्काहरु सरकारी पक्षको उदासीनताका कारण म्याद थप नभएका र भुक्तानीमा समस्या देखिएबारे प्रतिवेदनमा उल्लेख गरेको छ ।

निर्माण व्यवसायीको पनि निर्माण काममा ढिलाइ हुनुमा सबै रुपले निर्माण व्यवसायी मात्रै नभएको दाबी छ ।

समितिसँगको भेटमा अध्यक्ष सिंहले सबै हिसाबले निर्माण व्यवसायीहरुलाई आरोप थोपरिनु न्यायोचित नभएको भन्दै मौजुदा ऐन र सरकारी कार्यशैलीमा रुपान्तरण हुनु पर्ने बताएका थिए ।

व्यवसायीका नेताहरुले निर्माण कार्य ढिला हुनुमा सम्बन्धित निकायबीचको समन्वय अभाव, अव्यवहारिक प्रक्रिया तथा समयमा नै आवश्यक बजेट निकासा नहुँदा काममा ढिलो हुने गरेको अध्यक्ष सिंहले बताउनुभयो ।

विदेशी बोलाउँदा नेपाली व्यवसायीलाई पनि संलग्न गराऊ

सरकार, विशेष गरी प्रधानमन्त्री कार्यालयले पछिल्ला दिनमा सार्वजनिक खरिद ऐनमाथि संशोधनको गृहकार्य गरिरहेको छ ।

तर, उसले सम्बन्धित सरोकारवाला विभाग तथा निजी क्षेत्रसँग भने कुनै सुझाव पनि लिने काम पनि नगरेपछि निर्माण व्यवसायी मात्र हैन, सडक विभागदेखि पूर्वाधार निर्माणमा जोडिने सबैजसो विभागीय डिजीहरु पनि अचम्ममा परेका छन् ।

सम्बन्धित क्षेत्रमाथि सुधार तथा उन्नति गर्ने काननु सरोकारवालाहरुबाट टाढा रही बन्यो भने त्यसले समस्या ल्याउने व्यवसायीहरु बताउँछन् ।

यही सन्दर्भमा लेखा समितिसँग भएको उक्त छलफलमा महासंघका सल्लाहकार समेत रहेका पूर्वअध्यक्ष लामिछानेले विदेशी निर्माण कम्पनीहरुलाई नेपालमा काम गर्न दिन हुँदैन भन्ने पक्षमा आफूहरु नरहेको तर महत्वपूर्ण र ठूला आयोजनाहरुमा विदेशीका साथै नेपालीले पनि अनिवार्य टेन्डर प्रक्रियामा सहभागी हुन पाउनु पनै धारणा राखेका थिए ।

सरकारले पछिल्ला दिनमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन प्रक्रिया नै अघि बढाइरहेको सन्दर्भ कोट्याउँदै व्यवसायी लामिछानेले विदेशी निर्माण कम्पनीसँग नेपाली निर्माण कम्पनीको संलग्नता वा अनिवार्यताले विदेशी सीप तथा प्रविधि नेपालमा भित्रिने र नेपाली निर्माण व्यवसायीहरु पनि सक्षम हुने सुझाव दिएका थिए ।

सार्वजनिक लेखा समितिको सभा कक्षमा भएको सो बैठकमा सांसदहरुले केही निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा मुलुकको समग्र विकासमा बाधा पुगेको तर्क राख्दै मुलुक ठूलो घाटा हुने गरी ठेक्का ओगट्ने काममा संलग्ने हुनेलाई प्रोत्साहन नगर्न महासंघले पनि ध्यान दिनु पर्ने बताएका थिए ।

देशका विभिन्न भागमा सडक तथा पुलहरु निर्माणको ठेक्का प्राप्त गरेको व्यवसायीहरुले लामो समयसम्म पनि काम सम्पन्न नगर्दा विकासमा बाधा र अर्थतन्त्र धरासायी हुनको कारण बनेको सांसदहरुको मत छ ।

बैठक पछि सभापति भरतकुमार शाहले व्यवसायीमाथि आउने गरेको फोन धम्की र शान्ति सुरक्षाबारे पनि आफूहरुले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने आश्वासन दिएका थिए ।

उक्त छलफलमा महासंघ तर्फबाट उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी), महासचिव रोशन दाहाल, उप–महासचिव टंक प्रसाद चौलागाईं, पदम गुरुङ, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर आदि सहभागी थिए ।

 

(तस्वीरः पूर्वपीठिका तस्वीर लेखा समितिमा निर्माण व्यवसायीहरु छलफल गरिरहेका छन् । प्रश्नवाचक चिह्न सहितको सांकेतिक तस्वीर त्यसमा संलग्न गरिएको हो) 

...

बुधबार, २९ फागुन, ०७५

 



प्रकाशित: २०७५ फाल्गुण २९
March 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार