नेपाली समय: ०१:३५:४४ बिहान
वि.सं २०७६ जेठ १३   सोमवार

यसरी सम्भव भयो पोखरा महानगरमा ‘महाभरत’को जित— मानबहादुर रथी बन्दा को बन्यो सारथी को रह्यो महारथी ?

निर्माण सञ्चार, पोखरा । देशकै ठूलो पोखरा–लेखनाथ महानगरको विजय सभालाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रतिस्पर्धालाई ‘महाभारत’ को उपमा दिए ।

वास्तवमै सत्तारुढ गठबन्धनका दुई दल नेपाली काँग्रेस र माओवादी केन्द्र एकातिर उभिदा प्रमुख प्रतिपक्षी एमाले एक्लैले महाभारतमा पाँच पाण्डवले युद्ध जिते जसरी चुनावी जित हासिल गर्यो ।

चुनावी संग्राम अन्तिम परिणामसम्म आइपुग्दा संघर्षपूर्ण त रह्यो नै रोमाञ्चकारी पनि कम थिएन ।

मतपरिणामबारे विश्वभर रहेका नेपालीले राखेको जिज्ञासा हेर्दा ‘एल क्लासिको’ मैदानमा भिड्दै गरेको बार्सिलोना र रियल म्याड्रिडका दुई हस्ती मेस्सी र रोनाल्डोकै जस्तो लाग्दथ्यो ।

आखिर रंगमञ्चका हरेक घटनामा पर्दापछाडिको भूमिका नै महत्त्वपूर्ण मानिन्छ नै । के थियो त कारण जसले पोखरालेखनाथ महानगरभित्र एमालेले आफ्नो किल्ला नै स्थापित गर्न सक्यो ?

को को थिए त त्यसको ‘कोर’ भूमिकामा ? वास्तविकता खोज्नु पर्ने हुन्छ ।

पहिलो कारण– उम्मेदवार स्वयम्

माक्र्सवादी विश्लेषकहरु– ‘हरेक कुराको उत्थान या पतनका लागि आन्तरिक कुरा प्रधान’ हुने बताउँछन् । बाहिरी पक्ष वातावरण होला या अन्य केही, यसमा नजाऊँ ।

चुनावी मैदानका हकमा पनि जित्ने उम्मेदवार प्रमुख पक्ष हो । जसको आफ्नो आन्तरिक पाटोदेखि ऊ उभिएको धरातलले उसको जित या पराजयका लागि निर्णायक भूमिका खेलेको पोखरा महानगरको चुनावी मैदानलाई हेर्दा स्पष्ट हुन्छ ।

शिष्ट, शालिन र प्रबुद्ध व्यक्तित्व हुन् मेयर विजेता मानबहादुर जिसी । त्यस्तै देखिन्छिन् उपमेयर मञ्जुदेवी गुरुङ पनि । परिपक्वतादेखि आजसम्मको लगनशीलता, जनताले उहाँहरुलाई पत्याउने ‘प्रोफाइल’ नै जितको मुख्य कारण हो भन्ने स्थानीय मतदाताको भनाइ पनि रहेको पाइन्छ ।

उम्मेदवार कस्तो हो भन्ने जाँच्ने आधार उसलाई जनताले दिएको मत नै हो ।

यो चुनावमा मेयर विजेता जिसीलाई ६० हजार १ सय १८ मत आउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत पाएका छन् ।

‘यो जित न भूतो न भविष्यति जस्तो बनेर आयो । यस्तो टफ कम्पिटिसन र यति ठुलो अन्तरले यस अघि पनि जित हुने गरेको इतिहास नै थिएन । हामी प्रति जनताको विश्वास कतिसम्म रहेछ, र अब त्यो विश्वासलाई अझै उचाइमा कसरी लैजाने भन्ने चुनौती हामीमा थपिएको छ,’ भन्छन् चुनाव प्रचार समिति संयोजक तथा पूर्व पोखरा उपमहानगरपालिकाका मेयर कृष्ण थापा ।

‘यहाँ उल्लेख गर्नै पर्ने हुन्छ, पूर्व मेयर थापा पृथ्वी नारायण शाहलाई उद्धरण गर्दै भन्छन्, ‘मेरा साना दुखले आर्जेको मुलुक होइन भनेजस्तै, आजको यो अवस्थाका पछाडि ठुलो पंक्तिको निरन्तरको लगानी, मेहनत र बोली हैन कामले छाडेको छाप छ, जसले हामीलाई जनतासँग भोट माग्ने नैतिक अधिकार पनि दिएको थियो ।’

त्यसैले पूर्व मेयर थापाले छाडेको विकासे विरासत अरु महानगरलाई पनि पाठ दिने खालको छ ।

०५४ सालमा निर्वाचित थापाले १५ वर्षभित्र कस्तो पोखरा बनाउने भन्ने सपना जसरी साकार गरेर छाडे, त्यसले जनतामा जागेको आशा, भरोसा र एमाले नेतृत्व प्रति जनतामा बढ्दो विश्वास आजको मेयरको जितको आधार रहेको स्थानीय मतदाता तथा शुभचिन्तकहरुले पनि बताउँछन् ।

‘यो जित नितान्त एमाले पार्टीको जित हो । मानबहादुर जिसी, मञ्जु गुरुङको त हुँदै हो, तर यसमा पार्टीले बोकेको मुद्दा, शीर्ष नेतृत्वदेखि स्थानीय नेताहरुसम्मको इमान, जमान, चरित्र यी सबैको समुच्चय आजको जितको आधार हो,’ युवा नेता माधव बास्तोला बताउँछन् ।

यस्तै भनाइ छ युवाहरुमा लोकप्रिय दिलीप न्यौपानेको पनि ।

राजनीतिक यात्रा, सम्बन्ध र उतार–चढाव

यो निर्वाचनमा एमालेले आफ्नो केन्द्रीय तहबाट मेयरको उम्मेदवार बनाएका सम्भवतः एक मात्र व्यक्ति हुन् जिसी ।

यतिबेला उनी एमाले वैकल्पिक केन्द्रीय सदस्य छन् ।

जिसीको जन्म २०१७ सालमा भएको हो । आफ्नो परिवारका चार भाइ मध्ये जेठो छोरा रहेको जिसीको घर हालको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ मा पर्दछ ।

गत संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार हुँदा उनले झन्डै डेढ सय मतको कमीमा कांग्रेसका यज्ञबहादुर थापासँग हार व्यहोरेका थिए ।

शिक्षा शास्त्रमा स्नातक जिसीको राजनीतिक यात्रा भने कास्कीका प्रभावशाली तथा पुराना नेता खगराज अधिकारीबाट आरम्भ भयो ।

तत्कालीन माले निकट अनेरास्ववियुको पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटी अध्यक्षका रुपमा २०३७ सालबाट उनको राजनीतिक यात्रा सुरु भएको हो ।

तत्कालीन अखिलको कास्की जिल्ला अध्यक्षका रुपमा रहेका पूर्व स्वाथ्यमन्त्री अधिकारीले नै आजका मेयर जिसीलाई प्रारम्भिक कमिटीमा संगठित गरेका थिए ।

त्यतिबेलादेखि नै सुमधुर सम्बन्ध रहेका यी दुई राजनीतिक प्राणीहरुको भविष्य पनि एक अर्काेमा परिपूरक जस्तै गरी विकास हुँदै आएको दुवै नेता स्वीकार गर्छन् ।

जिसी भन्छन्, ‘हाम्रो सम्बन्ध, न्यानोपन, सुखदुखमा साथ र सहयोग गहिरो छ । कसले के भन्योसँग नभई हामीजतिको जनताको विश्वास आर्जन गरेको व्यक्तिहरुले सम्मानपूर्वक नै सम्बन्ध विकास गर्ने र अझै अघि बढ्ने हो भन्ने मलाई लाग्छ ।’

उनी जनताको सेवा गर्न नै आफ्नो जीवन पाइएको हो कि भन्ने विश्वास गर्छन् । यहाँसम्मको यात्रामा साथी शुभचिन्तक, राजनीतिक नेताहरु सबैको साथ, सहयोग पाएको भन्दै आफूलाई ऋणी रहेको समेत बताउँछन् ।

‘आजको यो यात्रा र यो उचाइ हिजोको पहिलो पाइलाबाट सुरु भएको हो । यो नितान्त राजनीतिक सम्बन्ध, अझै गहिरो र सुमधुर सम्बन्ध हो ।’

आजको दिनमा मेयरका रुपमा आफूलाई पाउँदा हिजोको प्रारम्भिक कमिटीको नेतृत्वमा खगराज अधिकारीले दिएको जिम्मेवारी सम्झदै जिसी यतिबेला गर्व गर्छन् ।

त्यसपछि कसरी अघि बढ्यो त राजनीतिक यात्रा ?

अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष तथा केन्द्रीय सदस्य थिए । लामो समयदेखि निरन्तर राजनीतिक रुपमा खट्दै कास्कीका घर घरमा भिजेका पुरानो नेता अधिकारी भन्छन्, ‘०३६ सालको विद्यार्थी आन्दोलनमा पश्चिमाञ्चल क्षेत्रको अगुवाई गरियो । टंक कार्की र पछिल्लो नेतृत्वहरुसँग काम गर्दै पार्टीको जिम्मेवारीमा आइएको थियो,’ अतीतलाई याद गर्दै अधिकारी भन्छन्, ‘मान बहादुरजीलाई २०३९ मा आइपुग्दा जिल्ला कमिटी उपाध्यक्षको जिम्मेवारी सुम्पिएका हौं ।’

यो क्रमसँगै जिसीले २०४१ मा पार्टीको संगठित सदस्यता लिएका हुन् ।

०४६ सालमा तत्कालीन माले जिल्ला संगठन कमिटीको सचिव बन्नु अघि जिसी तत्कालीन कालिका गाउँ कमिटीका सचिव, इलाका कमिटी सचिव हुँदै २०५०- (जहिले कास्की जिल्ला सम्बोधन गरेर फर्कने क्रममा तत्कालीन महासचिव मदन भण्डारीको हत्या भएको थियो), सोही समयमा जिसी जिल्ला कमिटी सदस्य बनेका थिए । त्योसँगै उनी क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष बने ।

जिक सदस्यको जिम्मेवारी तेस्रो अधिवेशनबाट पाएका थिए ।

जब कास्की जिल्ला सचिव बनाउने समय आयो त्यतिबेला भने व्यवस्थापिका संसद् विकास समिति अध्यक्ष तथा सांसद रवीन्द्र अधिकारी र जिसी दुईको प्रतिस्पर्धा भएको थियो ।

०४९ सालमा जिसी साबिकको कालिका गाविस अध्यक्ष चुनिएका थिए ।

०५४ मा जिविस सभापति बन्ने सवालमा पार्टी भित्र प्रतिस्पर्धा हुँदा पुण्य पौडलले २ मतले जितेका थिए । त्यतिबेला पनि एमाले कास्कीका अभिभावक सरह रहेका नेता अधिकारी जिसीका पक्षमा उभिएका थिए ।

पछि जतिबेला केन्द्रमा एमाले अध्यक्षात्मक प्रणालीमा गइसकेको थियो, झलनाथ खनाल अध्यक्ष हुँदा संविधान सभाको उपचुनावमा (माओवादीका देव गुरुङले उम्मेदवारी छाडेपछि) एमालेको तर्फबाट उम्मेदवार बनाउन जसरी पूर्व स्वास्थ्य मन्त्री अधिकारी उभिए जिल्लाका प्रभावशाली भनिएका अरु नेताहरुले साथ नदिए पछि जिसीलाई बागी बनाउन समेत केहीले प्रेरित गरेका थिए ।

अधिकारी सम्झदै भन्छन्, ‘पार्टीबाट पृथ्वी सुब्बा गुरुङ र जिल्ला सचिव युवा नेता अधिकारी थिए, उनलाई विद्रोही बन्नबाट रोक्न सकेनन् । म अञ्चल सचिव थिएँ, मैले पछिका दिनमा आफूले पाउने अवसर पनि दिने सर्तमा उनलाई रोक्न सफल भएको थिएँ ।’

त्यतिबेला सालिग्राम पौडेललाई उम्मेदवार बनाए । त्यो बेला उनले हारे भने काँग्रेसका दीपक गुरुङले जितेका थिए ।

तर दोस्रो संविधान सभा चुनावमा खगराज अधिकारीले आफूले टिकट छाडेर जिसीलाई व्यवस्थापिका संसदमा अघि बढाएको निर्माण सञ्चारलाई बताए । ‘तर जिसीले यो चुनावमा थोरै मत अन्तर २७१ मतले हार व्यहोर्नु पर्यो ।’

२०६८ मा जिल्ला कमिटी सचिव (प्रमुख) भएका उनी २०६६ सालबाट पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि जिल्ला अध्यक्ष बने । हाल उनी पार्टीका कास्की इञ्चार्ज तथा वैकल्पिक केन्द्रीय सदस्य छन् ।

यसरी यात्रा पार गर्दै आउँदा उनको सबै नेतासँग जिल्लामा सुमधुर सम्बन्ध रहेको कार्यकर्ता पंक्तिको बुझाइ छ ।

‘खगराज अधिकारीसँग चाहि वास्तवमै विशेष र सुमधुर सम्बन्ध छ,’ युवा नेता दीलिपले भने, ‘खगराज कमरेडकै सहयोगमा ०७० सालमा जिल्ला सुकुम्बासी आयोग कास्कीको अध्यक्ष समेत बन्नु भएको थियो । तर त्यो भने ३ महिना मात्रै रह्यो ।’

पोखरा उपमहानगरमा विकासे विरासत, जसले आज मेयर जित्ने दियो आधार

पोखरा उपमहानगरमा विकासे विरासत, जसले आज मेयर जित्ने दियो आधार देशका केही नगरपालिकाहरु २०५२ साल माघ १८ गते उपमहानगर घोषणा भएका थिए । ती मध्ये एक पोखरा पनि एक थियो ।

प्राकृतिक सौन्दर्य, हरित तथा जलसम्पदाले सम्पन्न र पर्यटकका लागि देशकै रोजा पोखरा उपमहानगरको भविष्य रेखा कस्ले कोर्यो जसले गर्दा आजको पोखरा बनेको छ ।

गत आर्थिक वर्ष ७ सय ५७ अमेरिकी डलर रहेकोमा प्रतिव्यत्ति आय अहिले झन्डै १०५ डलरले बढेको देखिएको छ । तर पोखरा महानगरपालिका नै यस्तो नगर हो जहाँ प्रतिव्यक्ति आय १३७१ अमेरिकी डलर पुगेको छ 

कसरि यो पोखरामा मातृ शिशु मृत्युदरदेखि देशकै सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको सहरका रुपमा चिनिएको छ ?  यसको रहस्य उजागर हुँदा पोखरामा एमालेका उम्मेदवारहरुले लोकप्रिय मत ल्याएर जित्नुको रहस्य खुलासा हुने पूर्व मेयर थापाको दाबी छ ।

आज पोखरा देशकै उच्च आर्थिक दर भएको सहरका रुपमा रहेको छ ।

अर्थको तथ्यांक अनुसार यो वर्ष गत वर्षको तुलनामा प्रतिव्यक्ति आय वृद्धि भएको छ । नेपालीको वार्षिक आय ८ सय ६२ पुगेको छ ।

गत आर्थिक वर्ष ७ सय ५७ अमेरिकी डलर रहेकोमा प्रतिव्यत्ति आय अहिले झन्डै १०५ डलरले बढेको देखिएको छ । तर पोखरा महानगरपालिका नै यस्तो नगर हो जहाँ प्रतिव्यक्ति आय १३७१ अमेरिकी डलर पुगेको छ ।

गत वर्ष साँढे ७ सय अमेरिकी डलर एभरेज नेपालीको रहँदा पोखरा महानगरको प्रतिव्यक्ति आय भने ११ सय भदा बढी रहेको थियो ।

यो सहरबाट राज्यका अन्य महानगरका तुलनामा जिडिपी योगदान पनि उच्च रहेको छ । यसरी विकास सूचकाङ्कमा देशकै नमूना स्तर देखिनुका पछाडि झन्डै २ दशकदेखि पोखरालाई बनाउने सपना बोकेका महारथीहरुको भिजनले काम गरेको स्पष्ट छ ।

एमाले कास्कीका नेता तथा समाजसेवी थापाले यसबारे आफूहरुको लामो योगदानबारे निर्माण सञ्चारसँगको छलफलमा खुलेर देखा परे ।

०५४ साल वैशाखमा भएको स्थानीय निर्वाचनबाट थापा मेयरमा निर्वाचित भएका हुन् । तत्कालीन पोखरा उपमहानगर बनाउने जिम्मेवारी पाएसँगै उनले १५ वर्षीय भिजन तयार गरेर अघि बढको रोचक प्रसंग सुनाए ।

१५ वर्षका लागि १० वटा नयाँ योजना तयार गरिएका थिए । जुन देशकै नयाँ मध्ये पर्दछन् । सबैभन्दा पहिले सन् १९७२ मा पोखरालाई पर्यटकीय क्षेत्र बनाउने भनी तत्कालीन पञ्चायती सरकारले गुरुयोजना तयार गरेको थियो ।

त्यो अलपत्र जस्तै थियो । पछि (सन् १९९० अर्थात्) बहुदलीय प्रजातन्त्र आएपछि राजनीतिक दलहरु प्रति जनताको तीव्र विकासको आकांक्षा देखिन गयो ।

देशका धेरै क्षेत्रका जनताले विकासे आकांक्षा राखे पनि पोखरा मात्रै यस्तो पृथक क्षेत्र बन्न सक्यो, सायद कुशल र भिजनरी नेतृत्व पाएर नै हुनु पर्छ, देशका अन्य सहरका तुलनामा पोखरा बोलीमा नभई व्यवहारमै सपनालाई साकार पार्ने दिशामा लागेको देख्न सकिन्छ ।

कसरि यो पोखरामा मातृ शिशु मृत्युदरदेखि देशकै सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको सहरका रुपमा चिनिएको छ ?  यसको रहस्य उजागर हुँदा पोखरामा एमालेका उम्मेदवारहरुले लोकप्रिय मत ल्याएर जित्नुको रहस्य खुलासा हुने पूर्व मेयर थापाको दाबी छ 

फलतः आजको प्रतिव्यक्ति आयमा देशकै सबैभन्दा बढी हुने नगर भित्र पुगेको हो । पूर्व मेयर थापा भन्छन्, ‘सबैभन्दा पहिला विकासको सम्भावना रहेका क्षेत्रको पहिचान गरियो ।

सडक तथा बत्ती पूर्वाधार विकास, कृषि, पर्यटन, हिरत तथा जलसम्पदा, शिक्षा, स्वास्थ्य, उद्योग र संस्कृति जस्ता क्षेत्रहरु बिच लगानी गरी एक अर्काेमा परिपूरक बनाउने योजना सहित बृहत् विकास परियोजना तयार गरियो । तिनमा अल्पकालीन र दीर्घकालीन गरी कार्यक्रम छुट्याइयो ।

देशमै सबैभन्दा पहिले नगरको विकासका लागि दीर्घकालीन भू–उपयोग नीति यहाँ अवलम्बन गरियो । आइएपी अर्थात् एकीकृत कार्य योजनाका रुपमा ‘ग्रेटर पोखरा’ को भिजन तयार गरियो ।

यो भिजले आउँदो १५ वर्ष (२०५५ सालदेखि ०७०) भित्र आफ्नो देशकै नमूना महानगर बनाइने, मातृ तथा शिशु मृत्युदर सबैभन्दा कम भएको सहर बनाउने, देशकै सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको सहर बनाउने, सबैभन्दा सुन्दर पर्यटकीय नगर बनाउने, देशकै सबैभन्दा सभ्य र सुसंस्कृत नागरिकहरुको बसोबास भएको विकसित महानगर बनाउने सपनाको बीज त्यसरी रोपिएको थियो ।

नभन्दै यसको असर कामले देखिदै गयो ।

पोखराको सडक चौडाइ राजधानीको दरबार मार्ग (१६ मिटर) भन्दा बढी १८ मिटरका सडकहरु पोखराको प्रवेशद्वारदेखि प्रकृतिक ताल, फेवा र गुफाहरुसम्म लमतन्न तन्किन पुगे ।

पोखराका कुनै पनि भित्री सडक १५ मिटर भन्दा सानो छैनन् भने पोखराको न्युरोड सबैभन्दा बढी चाक्लो रहेको छ । चुनाव जितेसँगै ‘अर्जुन दृष्टि महानगरको समृद्धि’ भनेर होमिएका एमाले नेताहरुलाई जनताले पत्याउने आधार भनेकै आजको विकासे पोखरा नै रहेको थापाको दाबी छ ।

पोखराले लिएका कतिपय योजनाहरु अन्तर्राष्ट्रिय रुपमा समेत चिनिएका छन् । कम्बोडिया सरकारले समेत पोखराको नगर विकास योजना र कतिपय योजनाहरु अवलम्बन गर्ने गरी पोखरा अघि बढ्यो ।

पोखराले अघि बढाएका कतिपय योजनाहरु कति वर्ष पछि धरानले प्रयोग गरेको थापा बताउँछन् । कतिपय योजनामा जापान सरकार सहमत भएर सिधै सहयोग समेत गरेको छ ।

तत्कालीन पोखरलाई महानगर बनाउन भन्दै ०५५ पछि पुरानो लेखनाथ र पोखरामा रहेका फरक फरक कर नीति एकीकृत गरियो ।

लामाचौर, भलाम, अर्बा, ह्याङ्जा, अर्मला जस्ता १० वडाहरुलाई भविष्यको महानगर भित्र पार्ने योजना सहित विकासे योजना विकेन्द्रित गरियो ।

देशमै सबैभन्दा पहिले नगरको विकासका लागि दीर्घकालीन भू–उपयोग नीति यहाँ अवलम्बन गरियो । आइएपी अर्थात् एकीकृत कार्य योजनाका रुपमा ‘ग्रेटर पोखरा’ को भिजन तयार गरियो

०७२ मा महानगरका लागि सिफारिस हुँदा जनसंख्या, भूगोल, विकासको स्तरदेखि सबै पूर्वाधार र क्राइटेरिया मिट गर्ने भित्र पोखरा नै सर्वश्रेष्ठ दर्ज भएको थियो ।

यी थिए नेपालमै पहिलो थालनी गरिएका १० नयाँ सहरी योजनाहरु—

१ नेपालमै पहिलो पटक सहर तथा गाउँ सहकार्य परियोजना अर्थात् रुरल अर्बान पार्टनरसिप प्रोग्राम जुन कम्बोडियाले लागु गर्न पुग्यो ।

२ नेपालमै पहिलो पटक सेनेटरी ल्यान्ड फिल्ड साइड विकास कार्यक्रमको लागू

३ ग्रामीण तथा सहरी विकासका लागि शिक्षा र स्वास्थ्य सम्बन्धी परियोजना

४ बस्ती विकास, सहरीकरण तथा सडक पूर्वाधारका लागि भू–उपयोग नीति

५ एक घर २ रुख वृक्षारोपण कार्यक्रम

६ अन्तर्राष्ट्रिय भगिनी नगर सम्बन्ध परियोजना । जापानको कामागाने सहरसँगको सहकार्यमा सन् २००१ मा काम सुरु भयो ।

७ मातृशिशु मितेरी अस्पतालको सुरुआत । यो पनि जापानको त्यही सहरको सहकार्यमा अघि बढेको ।

८ जिआइ एस प्रविधिमा आधारित घर नम्बर योजना लागू

९ जनसहभागितामूलक महानगर अस्पताल परियोजना

१० लोक साहित्य अन्तर नगर प्रतियोगिता, पोखरा ज्येष्ठ महिलालाई ‘नगर आमा’ द्वारा सम्मान तथा भत्ता वृद्धि, पोखरा नवरत्न सम्मान पुरस्कार आरम्भ, अन्तर नगर फुटबल राष्ट्रिय प्रतियोगिताका रुपमा राष्ट्रिय स्तरका नमूना कार्यक्रमहरु सुरु गरियो ।

विभिन्न विधामा १० हजारदेखि ५० हजारसम्म पुरस्कार दिने गरी प्रतियोगिता गरिन्छ । आज पनि मातृ शिशु अस्पताल पोखरा वडा नम्बर १६ मा रहेको छ, नमूनाका रुपमा लिइने गरिन्छ ।

तबमात्र सम्भव भयो समृद्ध पोखरा 

यसरी व्यवस्थित, स्वच्छ, सफा, हराभरा, सभ्स र सुसंस्कृत सहर बनाउने योजनाको जग शिलान्यास गरिएको झन्डै २ दशकमा पोखरा महानगरवासीको प्रतिव्यक्ति आय देशको एभरेज आयको तुलनामा झन्डै दोब्बर रहेको छ ।

यो मिसनको पोखरा बनेपछि पोखरेली जनताले एमाले नै विकासको अगुवा रहेको देखे र जनतासँग मत माग्न एमालेलाई नैतीक आधार पनि रहेको दाबी गर्छन् पूर्व मेयर तथा यो चुनावरुपी महाभारतका ‘कृष्ण’ थापा ।

विजय सभामा खिचिएका केही तस्वीरहरु । तस्वीर– निसञ् ।

 

...

सोमबार, १५ जेठ, ०७४

 



प्रकाशित: २०७४ जेठ १५
May 29th 2017

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार