नेपाली समय: ०४:१६:०१ अपरान्ह
वि.सं २०७६ साउन ६   सोमवार

भारत–पाकिस्तान विभाजनको ७० वर्षः अझै चलिरहेछ छ एक अर्काबीच दुश्मनी, हेर्नुस् इतिहासका घटनाक्रम

निर्माण सञ्चार, काठमाडौं । भारत र पाकिस्तान स्वतन्त्र भएको आज ७० वर्ष पूरा भएको छ । दुबै देशको आ–आफ्नो स्वतन्त्रताको ७० वर्ष मनाइरहेका छन् । ब्रिटिश इण्डिया कम्पनीको विभाजनसँगै जन्मिएको भारत र पाकिस्तानबीच पहिलेदेखि नै सम्बन्ध राम्रो छैन् । यी दुईबीचको सम्बन्धले दक्षिण एसियाको भुराजनीतिसँगै समग्र विश्वलाई हल्लाइदिएको छ । सम्बन्ध सुधारका प्रयास भएपछि सफल हुन सकेको छैन् ।

यस्ता छन् ७० वर्षका ऐतिहासिक घटनाक्रमः

दिल्लीबाट इस्लामावाद जम्मा ७०० किलोमिटर टाढा छ-लण्डन र जिनिभाबीचको दूरीभन्दा पनि कम । उड्डयन दृष्टिले यो एकदमै छोटो यात्रा हो । तर तपाईँ भारतीय राजधानीबाट पाकिस्तानी राजधानीसम्म सीधा यात्रा गर्न सक्नुहुन्न । यी दुई राजधानीबीच सीधा उडान छैनन् । यो, सात दशकयताको आपसी आशंका र तनावको एउटा सानो उदाहरण मात्रै हो ।

एउटा उदाहरण हेरौं: क्रिकेट । भारत र पाकिस्तान केही साताअघि च्याम्पियन्स् ट्रफीको उपाधिका लागि भिडेका थिए । दुवै देशमा क्रिकेट असाध्यै लोकप्रिय छ । तर त्यो खेल दक्षिण एसियामा नभइ लण्डनमा भएको थियो । भारत र पाकिस्तान एकअर्काको भूमिमा क्रिकेट खेल्दैनन् । तथापि उनीहरु संसारका विभिन्न भागमा एकदिवसीय प्रतिस्पर्धामा उत्रिएका छन् ।

संस्कृति र इतिहास मिल्दोजुल्दो भएको भएपनि उनीहरु केवल प्रतिस्पर्धी मात्रै होइनन्, दुश्मन झैं छन् । भारत र पाकिस्तानले स्वतन्त्रता पाएको ७० वर्षमा उनीहरुले तीनवटा युद्ध लडिसकेका छन् । कति चाहिँ चार वटा भन्छन् तर सन् १९९९ मा जब ती दुई मुलुकका सेनाले अन्तिमपटक लडेका थिए, त्यतिबेला युद्धको औपचारिक घोषणा भएको थिएन ।

भारत र पाकिस्तानबीचको तनाव संसारकै सबैभन्दा लामो भूराजनीतिक तनाव हो । यसका कारण दुवै मुलुकले आ-आफ्नो पारमाणविक अस्त्र विकास गरेका छन् । यो असजिलो तनाव क्षेत्रीय विवादभन्दा बढी जस्तो देखिन्छ: यो बृहत खतराले भरिएको छ ।

भारत र पाकिस्तानले एकै समयमा स्वतन्त्रता पाए । भारतमाथिको ब्रिटिश शासन सन् १९४७ अगस्ट १५ मा समाप्त भयो । महिनौं लामो राजनीतिक गतिरोधपछि ब्रिटेनले मुलुकलाई दुई भागमा विभाजन गर्ने सहमति जनायो । ठूलो संख्यामा रहेका मुसलमान अल्पसंख्यकहरु हिन्दु बाहुल्य भारतमा अप्ठ्यारोमा पर्न सक्ने भन्ने चिन्ता सम्बोधन गर्न छुट्टै र मूलत: मुसलमान राष्ट्र पाकिस्तान सिर्जना गरियो । पञ्जाब र बंगालजस्ता भारतका सबैभन्दा ठूला प्रान्त पनि विभाजनमा परे । स्वतन्त्रताको दुई दिनपछि मात्रै नयाँ अन्तर्राष्ट्रिय सिमाना कहाँ पर्छ भन्ने विस्तृत खाका सार्वजनिक गरियो ।

विभाजनले आधुनिक समयको सबैभन्दा ठूलो संकट निम्त्यायो । कसैलाई संख्या यकीन छैन तर करिब १ करोड २० लाख मानिस शरणार्थी बनेको बताइन्छ । एउटा पीडादायी रक्तपातमा मुख्य-मुख्य समुदायका व्यक्तिहरु दुवै आक्रमणकारी र पीडित थिए । ५ लाखदेखि १० लाख मानिस मारिएको हुनसक्ने अनुमान गरिएको छ । यसका लागि कसैलाई जिम्मेवार पनि बनाइएन । मेलमिलाप प्रक्रिया पनि भएन । तर के भएको थियो भन्ने विषय लामो समयसम्म मौनतामै हरायो । के भएको थियो भन्नेबारे चलचित्र र साहित्यमा प्रतिविम्बित भयो । इतिहासविद्हरु शुरुमा विभाजन वरपरको राजनीतिमा केन्द्रित भए । धेरैपछि मात्रै उनीहरु मानिसहरुले विभाजनताका भोग्नुपरेको पीडामा केन्द्रित भए ।

विभाजनले भारत र पाकिस्तानको सम्बन्ध विषाक्त बनायो र समग्र दक्षिण एसियाको भूराजनीतिलाई असर पार्यो । सन् १९७१ मा भारतीय सेनाको सहयोगमा पूर्वी पाकिस्तानले स्वतन्त्रता पायो । अर्को नयाँ मुलुक बांग्लादेशको जन्म भयो । भारत र पाकिस्तान स्वतन्त्रतापछिको अर्को समस्या कश्मिर थियो । मुसलमान बाहुल्य उक्त राज्यका महाराजा, जो हिन्दु थिए, उनले कश्मिर भारतको अंश हुनुपर्ने निर्णय गरे । केही महिनामै भारतीय र पाकिस्तानी फौज कश्मिरको नियन्त्रणका लागि लडाइँमा उत्रिए । उक्त जटिल द्वन्द्व अहिलेसम्म पनि समाधान भएको छैन र अरु विषयभन्दा यसले दुई मुलुकबीचको सम्बन्धलाई बढी सताएको छ ।

भारतीय शहरहरुमा आतंकवादी शैलीमा हुने गरेका आक्रमणहरुमा संलग्न अतिवादी संगठनहरुलाई पाकिस्तानले सघाइरहेको भारतले आरोप लगाउने गरेको छ । पाकिस्तानले पनि बलुचिस्तानमा भएका पृथकतावादी गतिविधिलाई भारतले साथ दिएको बताउने गर्छ । दुवै देशका नेताहरुले समयसमयमा भेटघाट गरेका छन् । सम्बन्धमा सकरात्मक मोड आउन लागेको बेलाबेलामा आशाहरु पनि जागे । तर अहिले भने सम्बन्ध निकै चिसो छ ।

बीबीसीका लागि एन्ड्रयु ह्वाइटहेडको रिपोर्ट ।

 

...

शनिबार, १४ साउन २०७४



प्रकाशित: २०७४ साउन १३
July 28th 2017

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार