नेपाली समय: ०४:०९:०३ अपरान्ह
वि.सं २०७६ साउन ६   सोमवार

१९५० को नेपाल–भारत सन्धि खारेज गर्न सीमाविद्को प्रस्ताव, प्रबुद्ध समूहले के गर्दैछ ?

निर्माण सञ्चार, काठमाडौं । नेपाल र भारतबीच भएको सन् १९५० को सन्धिका अधिकांश धाराहरु दुवै पक्षले पालना नगरेको र अहिले त्यो सन्धि पुरानो भइसकेकोले नयाँ सम्झौता गर्नुपर्ने धारणा नेपाली विज्ञहरुले राखेका छन् ।

नेपाल र भारतका प्रबुद्ध समूह इपीजीको यसै महिनाको अन्त्यतिर हुने भनिएको बैठक अगाडी इपीजीका नेपाली सदस्यहरुले बुधवार आयोजना गरेको छलफलमा अधिकांश सहभागीले यस्तो धारणा राखेका हुन् ।

सो सन्धि पुनरावलोकन लगायत दुई देशबीच महत्वपूर्ण मुद्दाहरुमा दुवै देशको सरकारलाई सुझाव दिनका निम्ति दुई देशले उक्त समूह गठन गरेका हुन् । छलफलमा सहभागी अधिकांश विज्ञहरुले बदलिंदो परिस्थितिमा झन्डै ७० वर्ष अगाडी गरिएको उक्त संझौतालाई खारेज गरी नयाँ सम्झौता गर्नुपर्ने धारणा राखेका हुन् । उनीहरुले पुरानो संझौताका अधिकांश बुंदाहरु दुवै पक्षले कार्यान्वयनमा नल्याएको बताए ।

छलफलमा सहभागी सीमाविद् बुद्धिनारायण श्रेष्ठले भने, ‘१० बुंदा भएको १९५० को सन्धिका अधिकांश धाराहरु सफल नभएको र प्रयोगमा नल्याइएको हुनाले यसलाई खारेज गरेर नयाँ सन्दर्भमा नयाँ सन्धि गर्नु सान्दर्भिक हुन्छ ।’

नेपाल भारतबिच भएको १० बुँदे सम्झौताको अंग्रेजी भर्सन निम्नानुसार रहेको छ—

एक वर्ष अगाडी गठित नेपाल र भारतका विज्ञहरु सम्मिलित प्रबुद्ध समूह इपीजीको बैठक भारत र नेपालमा पालैपालो गरि चार पटक बसिसकेको छ । अर्को बैठक यसै महिनाको अन्त्यमा नेपालमा हुंदैछ तर मिति तोकिइसकेको छैन ।

यद्यपी सहभागी कतिपयले भने पुरानो सम्झौता खारेज गर्नु अगाडी नयाँ सम्झौताको बारेमा स्पष्ट हुनुपर्ने धारणा राखेका छन् । पूर्व राजदूत रामभक्त ठाकुर भन्छन्, ‘धेरै कुरा नयाँ ढंगले लेख्नुपर्छ । तर त्यसरी लेख्दा खेरि धेरै विषय विचार गर्नुपर्छ । ८ नम्बरको बुंदा आउँदैन भने बरु नलेखौं ।’ सन् १९५० को सन्धिको बुंदा नम्बर ८ मा त्यसअघि भएका सबै सन्धि सम्झौता खारेज हुने उल्लेख छ ।

नेपाली पक्षको इपीजी टोली नेता रहेका पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापाको टोलीले भारतीय सीमा क्षेत्रमा पुगेर त्यहाँका बासिन्दा एवं सुरक्षाका विषयमा सम्बन्धित अधिकारीहरुसंग सन्धि पुनरावलोकनबारे छलफल गरिसकेको बताइएको छ । उनले सन्धि यथास्थितिमा रहिरहन नसक्ने भए पनि नयाँ सन्धिको स्वरुप कस्तो हुने विषयमा निष्कर्ष निकाल्न बाँकी रहेको बताए ।

उनले भने, ‘सन्धि खारेज गर्ने विषयमा दुवै पक्षले अहिलेसम्म सोचेको थिएन, सोचेको पनि छैन । सही बाटो पत्ता लगाउन जुन प्रक्रियाको शुरुवात भएको छ, त्यसले सकारात्मक परिणाम दिन्छ भन्ने हाम्रो धारणा छ । सन्धि यथास्थितिमा त रहन्न । तर कहाँ कुन प्रकारबाट टुंगिन्छ, त्यो भने समयले नै बताउँछ ।’

प्रत्येक तीन–तीन महिनामा आलोपालो गरी नेपाल र भारतमा बैठक हुने सहमति भएको इपीजीको सम्पन्न पछिल्लो चार बैठकमा दुवै पक्षबीच सन्धि पुनरावलोकन वा परिवर्तनको बारे छलफल भइरहेको बताइएका छन् । - बीबीसी

 

...

विहिबार, १९ साउन २०७४



प्रकाशित: २०७४ साउन १८
August 2nd 2017

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार