नेपाली समय: ०५:२६:३९ बेलुका
वि.सं २०७६ आषाढ १   आइतबार

९ महिनामै जुरुक्क उठ्यो ‘दरबार हाइस्कुल’, नेपालको शैक्षिक इतिहासको धरोहर !

शुक्रबार, १० जेठ, ०७६, निर्माण सञ्चार, काठमाडौं । १९९० को भूकम्प पनि भोगिसकेको तत्कालीन ‘दरबार हाइस्कुल’ २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भयो । 
क्षतिग्रस्त उक्त भवनको शुक्रबार चिनियाँ राजदूत सहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सहितको टोलीले पुनर्निर्मित भवनको उद्घाटन सहित अनुगमन गरे । 

भूकम्पले क्षतिग्रस्त यो भवन लामो समय रेट्रोफिट वा पुनर्निर्माण कसरी गर्ने भन्नेमै विवादित रहेको थियो । यसको निर्माण आरम्भ करिब १० महिना अघिदेखि सुरु भएको हो । जमलस्थित दरबार हाइस्कुलको मुख्य भवन निर्माण थालनीको १० महिना नपुग्दै यसरी जुरुक्क उठ्ला भनेर कमैले सोचेका थिए । 

चिनियाँ राजदूत र प्राधिकरण सिइआले गरे उद्घाटन 

भवन निर्माणको जिम्मा सरकारले चीनलाई दिएको थियो । निर्माण कार्यमा चिनियाँ एससिजी कम्पनी जुटेको छ । सम्झौता अनुसार काम थालेको २० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ । 

हाइस्कुलको पुनर्निर्माण गत ०७५, साउन १८ गतेबाट सुरु गरिएका थियो। प्रधानाध्यापक हेमचन्द्र महतोले तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण कार्य सम्पन्न भएको बताए।

अन्य कामको गति हेर्दा भानु माविको पुनर्निर्माणले भने अपेक्षा भन्दा तीव्र गतिमा काम सम्पन्न भएको छ । अब आउने मंसिरदेखि नै भवनमा कक्षाहरु सुरु गर्ने गरी काम अघि बढिरहेको प्रशासनको भनाइ छ ।

कुनै बेला ब्राह्मण ज्योतिषिले गोत्र हत्याबाट मुक्ति पाउनु छ भने १०८ ब्राह्मण बटुकहरुलाई भोजन र आवासीय सुविधा सहितको संस्कृत शिक्षा पढाएमा गोत्र हत्याको दोष मेटिने सुझाव दिएपछि राणाहरुले यहाँ सर्वसाधारणलाई पनि शिक्षा दिन आरम्भ गरेका थिए

उक्त हाइस्कुलको मुख्य भवनको शुक्रबार नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका हुुन् ।
यसलाई चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो ।

विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले दिएको जानकारी अनुसार नवनिर्मित भवनमा ४६ कोठा रहेको छ । यो भवन पहिले भन्दा क्षमता थपेर ४ तले संरचनामा बनाइएको छ ।
अब भवनको फिनिसिङ मात्र बाँकी रहेको र आउने ४ महिनामा काम सक्ने लक्ष्य राखिएको छ ।

पुनर्निर्माणमा विद्यालयः अपेक्षाकृत सफलता

भूकम्प पछिको पुनर्निर्माणमा प्राधिकरणले सन्तोष लिने ठाउँ भनेकै विद्यालयहरुको पुनर्निर्माण हो, जसको गुनगान एसियाली विकास बैंकले त मुक्त कण्ठले प्रशंसा गर्दै आइरहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै गर्दा सिइओ ज्ञवालीले पनि यसबारे स्पष्ट पार्ने प्रयास गरेका थिए । पुनर्निर्माणको सफलता प्रति प्राधिकरणका सीईओ ज्ञवालीले चिनियाँ सहयोगप्रति आभार प्रकट गरे ।

भूकम्पपछिको पुनर्निर्माणमा चीनले सम्हालेका २५ संरचना चीनले उच्च प्राथमिकता साथ काम गरिरहेको राजदूतको भनाइ थियो । उक्त २५ संरचनामध्ये ६ वटामा काम जारी छ । त्यो मध्ये यो विद्यालय पनि एक हो । पुनर्निर्माण कार्यमा थापाथलीस्थित प्रसूति अस्पताल, वीर अस्पतालको काम पनि लगभग सकिएको छ । 

भूकम्पपछि यहाँको पठन पाठन भृकुटीमण्डपस्थित वाल्मीकि विद्यापीठ परिसरमा सरेको छ । भवनको भुइँतलामा भानु संस्कृत मावि र माथिल्लोमा भानु मावि रहेको यो ऐतिहासिक स्थलका विद्यार्थीहरु आफ्नो स्कुल ठडिएको देखेर दंग परेका थिए ।

रोचक तथ्यः  शिक्षाको ऐतिहासिक धरोहर

पहिलो राणा प्रधानमन्त्री जंगबहादुरले विसं १९१० आश्विन २७ गते दरबारकै भाइभतिजालाई अंग्रेजी पढाउने धेय राखेर ‘दरबार स्कुल’ को सुरुवात गरेका थिए । ०२४ सालबाट ‘भानु माध्यमिक विद्यालय’का नाउँबाट सञ्चालनमा आयो । जुन नेपालमा शिक्षा आरम्भको ऐतिहासिक थलो हो । 

रोचक तथ्य के छ भने जंगबहादुर बेलायत भ्रमण पछि नेपाल फर्केर यसको सुरु गर्दा जनताका छोराछोरीलाई नभई दरबारकै भाइभातिजहरुलाई अंग्रेजी सिकाउन यसको सुरु गरेका थिए ।

तत्कालीन दरबार हाइस्कुल
आजको भोटाहिटीदेखि कमलाक्षी (कमलादि) सम्म करिब ३५० फिट लम्बाई सहित अवस्थित यो विद्यालयको क्षत्रफल ९ रोपनी ३ आना १ पैसा २ दाम रहेको ऐतिहासिक तथ्यले बताउँछ ।

सुरुमा जङ्गबहादुरले थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भूइँतलामा यसको सञ्चालन सुरु गरेका थिए । पछि जंगबहादुरका सन्तानहरुले यो विद्यालयलाई विभिन्न स्थानमा सार्ने काम गरे । 

बन्धु हत्याको दोष मेटाउन जनतालाई पनि शिक्षा दिन सुरु

तर, विसं १९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशमशेर राणाले दरबार हाइस्कुललाई जमल सारेका हुन् । त्यतिबेला राणा शासकहरु बन्धु हत्याको दोषबाट त्रसित थिए ।

कुनै बेला ब्राह्मण ज्योतिषिले गोत्र हत्याबाट मुक्ति पाउनु छ भने १०८ ब्राह्मण बटुकहरुलाई भोजन र आवासीय सुविधा सहितको संस्कृत शिक्षा पढाएमा गोत्र हत्याको दोष मेटिने सुझाव दिएपछि राणाहरुले यहाँ सर्वसाधारणलाई पनि शिक्षा दिन आरम्भ गरेका थिए ।

विसं १९३३ मा रणोद्दीप सिंहले राणाहरूका सेवामा खटिएका कामदारका छोराछोरीलाई  पनि पढ्न पाउने मौका दिएका थिए ।

...

सम्बन्धित समाचार

१९२ शैय्याको प्रसूति गृह अस्पताल अर्को महिनादेखि सञ्चालनमा आउने, वीर अस्पतालको पुनर्निर्माण पनि सकिदै

 

०००
 



प्रकाशित: २०७६ जेठ ११
May 25th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार