नेपाली समय: ०१:०१:०१ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

अदालतको आदेशः ‘जनक हजारी विद्यापीठको जग्गा कब्जा गरी बिक्री गर्ने पुजारी वैकुण्ठ दासलाई हिरासतमा राख्नू’

शनिबार, ११ जेठ, ०७६, निर्माण सञ्चार, काठमाडौं । उच्च अदालत जनकपुरले जनकपुरस्थित रत्नसागर मठका महन्त वैकुण्ठ दासलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 
मठमा पुजारी रहँदै आएका उनीसँगै अशोक शर्मा पनि संस्कृत विश्वविद्यालय अन्तर्गतको उक्त जग्गा किर्ते गरी बेचबिखन गर्ने अभियुक्त हुन् ।

संस्कृत विश्वविद्यालयअन्तर्गत जनक हजारी विद्यापीठको जग्गा कब्जा गरी बिक्री गरेको मुद्दामा बिहीबार उच्च अदालतले यस्तो आदेश दिएको हो । गत केही वर्षदेखि नै उनीहरु विश्वविद्यालयको उक्त सार्वजनिक जग्गा किर्ते र जालसाँजी गरी बिक्री गर्ने गिरोहका रुपमा चिनिदै आएका छन् ।

किर्ते र ठगीमा दुई पुजारी

विश्वविद्यालयकै जग्गामा लामो समयदेखि पुजारी रहँदै आएका उनीहरुले विश्वविद्यालयकै जग्गा किर्ते र ठगी गरेपछि उनीहरु सार्वजनिक रुपमै बदनाम बनिरहेका छन् ।

गत मंसिरमा यी दुवै विरुद्ध सरकारी कागज किर्ते र ठगी मुद्दाका आरोपमा जिल्ला अदालत धनुषामा पटके तथा थुनछेक बहस भएको थियो । मुद्दा लागेलगत्तै महन्त वैकुठ दास फरार भएका थिए ।

गत मंसीर २८ गते प्रहरीले महन्थ दासलाई सार्वजनिक गरेको थियो ।

जग्गा किर्ते गरेको आरोपमा  दासविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दर्तासँगै अदालतले पक्राउ गर्न आदेश जारी गरेपछि फरार भएका महन्त दासलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिन सफल भएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित विद्यापीठको भोगमा रहेको गुठी संस्थानको नाममा दर्ता रहेको सिट नम्बर १३५४–१४ किता नं ६२ को क्षेत्रफल ०-२-११ र सिट नं १३५४-१५ किता नं. २८ को क्षेत्रफल २–८–१४ भएको जग्गाको नक्कली जग्गा धनी दर्ता श्रेस्ता बनाई आफ्नो हो भनी उच्च अदालतमा समेत कागजात पेश गरेको किर्ते मुद्दामा दासलाई पक्राउ गरिएको धनुषा प्रहरीले त्यतिबेलै जनाएको थियो ।

जनकपुर-८ सिट नम्बर १३५४-१४ को कित्ता नम्बर ६२ को २ कठा ११ धूर तथा सिट नम्बर १३५४-१५ को कित्ता नम्बर १,२, २८ तथा ४९ समेत गरी २ बिघा ८ कठ्ठा १४ धूर जग्गा कीर्ते लालपूर्जा बनाई महन्तले बिक्री गर्न खोजेका थिए ।

विद्यापीठका प्राचार्य विजय चौधरीले महन्त वैकुण्ठदास र पूजारी अशोक शर्मा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

त्यतिबेला जिल्ला अदालत धनुषाले १५ लाखमा धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । जसको चित्त नबुझेपछि पुनरावेदन भएको हो ।
उक्त घटनाको केही महीनापछि सर्वोच्च अदालतले महन्त पदवी नै खारेज गरिदिएको थियो ।

फेरि फरार, अदालतका पनि आदेश थरीथरीका 

उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रत्नसागर मठका निलम्बित महन्त दास फेरि फरार भएका छन् । 

जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गर्न दिएको आदेश उल्टाउँदै बिहीबार उच्च अदालतले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश सुनाएको हो ।

उच्च अदालतका न्यायाधीश विनोद मोहन आचार्य र अनन्तराज डुम्रेको संयुक्त इजलासले सरकारी कागज कीर्ते तथा ठगी मुद्दा सुनुवाइका क्रममा महन्त दासको हकमा उक्त आदेश सुनाएको थियो भने अर्का अभियुक्त रत्नसागर मठका पुजारी अशोक शर्माका हकमा भने जिल्ला अदालतकै फैसला सदर गरिदिएको छ ।

जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले गत पुसमा वैकुण्ठ दास वैष्णवलाई १५ लाख रुपियाँ धरौटीमा रिहा गर्ने तथा सोही मठका पुजारी अशोक शर्मालाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश सुनाएका थिए ।

उच्च अदालतको आदेश सार्वजनिक भएलगत्तै महन्त वैकुण्ठ दास सम्पर्कविहीन बनेका हुन् ।

सजाएँ कस्तो मागिएको थियो ?

जनक हजारी विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहिरीमा नेपाल सरकारको तर्फबाट जिल्ला अदालत धनुषामा दायर अभियोग पत्रमा प्रतिवादी महन्त वैकुण्ठ दास र पुजारी अशोक शर्मासँग १६ करोड ९१ लाख २५ हजार रुपियाँ बिगो तथा जेल सजायको माग दाबी गरिएको थियो । 

प्रतिवेदनमा अतिक्रमित जग्गा हटाउने भरपर्दो दस्तारसंयन्त्र नभएकाले कारबाही गर्न नसकिएको उल्लेख छ । स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले गुठीको चलअचल सम्पत्ति संरक्षण र गुठी घरजग्गामा स्वीकृतिबेगर जबरजस्ती भोगचलन (अतिक्रमण) गर्नेलाई हटाउन सहयोग नपाएको पनि प्रतिवेदनमा उल्लेख छ

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको जनक हजारी विद्यापीठले गत ०५० सालदेखि नै भोग चलन गर्दै आइरहेको उक्त जग्गा जनकपुर ८ स्थित कित्ता ६२ को दुई कठ्ठा ११ धुर तथा कित्ता १, २, २८ तथा ४९ को दुई बिघा आठ कठ्ठा १४ धुर जग्गा किर्ते लालपूर्जा बनाई बिक्री वितरण गर्ने काममा उनीहरुको संलग्नता रहेको मुद्दामा आरोप छ ।

कता गयो मन्त्रालयको प्रतिवेदन ? किन खोजिदैन मिचिएको १० हजार बिघा जग्गा ?

जनकपुरस्थित जनकपुर मन्दिर तथा आसपासका गुठीका जग्गा अतिक्रमणका सन्दर्भमा केही समय अघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा गठित समितिले प्रतिवेदन तयार गरेको थियो । 

प्रतिवेदनमा जनकपुरका २५ गुठीको ९ हजार ८४३ बिघा १२ कठ्ठा जग्गा अतिक्रमणमा परेको उल्लेख छ । एक हजार बिघा जग्गा रहेको ठूलो गुठी लक्ष्मीनारायण (मटिहानी) मठ अतिक्रमणमा परेको उक्त प्रतिवेदनमा औंल्याइएको छ । 

प्रतिवेदन अनुसार उक्त मठमा ९ वटा मौजा थिए। ९ मौजामा बिन्धी, सपही, उमा, प्रेमपुर, तलसी, याही, जब्दी फूलभागा, बसहिया, नगराइन, कजरा रमौल र इटहर्वामा गुठी जग्गा रहेको तथ्यांक छ । 

बसहिया र फूलगाभाको जग्गा राजनीतिक परिवर्तनका बेला सबैभन्दा बढी अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।

अभिलेखमै छैन जग्गा ?

६ मौजाको २७४ बिघा १० कठ्ठा जग्गामा ६९ बिघा जग्गा अतिक्रमण परेको छ । बिन्धीको १३ बिघा जग्गामा ६ बिघा १८ कठठ, सपहीको ४३ बिघामा १५ बिघा १० कठ्ठा, उमा प्रेमपुरको सबै १७ बिघा, फूलगामाको १६५ बिघामा ३० बिघा अतिक्रम भइसकेको छ । तीन मौजा अभिलेखमा छैन ।

राममन्दिर गुठीको २ हजार ८६७ बिघा जग्गा अतिक्रमणको जोखिममा छ। यस्तै जानकी मन्दिरको ५९८ बिघा १० धुर र लक्ष्मण मन्दिरको ४०९ बिघा जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा उल्लेख छ ।

वरही कुटी गुठीको ७ बिघा जग्गा अतिक्रमणमा छ । उक्त गुठीको जग्गा २०५२ सालमा जनकहजारी संस्कृत विद्यापीठलाई दिएको देखिने प्रतिवेदनमा उल्लेख छ । 

त्यसमध्ये २ कित्ता जग्गा रत्नसागर मठका महन्थ बैकुण्ठदास र अशोककुमार शर्मा मिली मोही भएको किर्ते कागज गरी हड्पेको पाइएको हो । राममन्दिरका १६ स्थानको जग्गा अतिक्रमण भएको प्रतिवेदनको भनाइ छ।

राममन्दिरको जग्गा अतिक्रमण गरेर १०३ वटा घर बनेको प्रतिवेदनमा उल्लेख छ ।

रत्नसागर मन्दिर जग्गा कब्जा गरेर ३३ घर बनाइएका छन् । जानकी मन्दिरको जग्गामा ११८, लक्ष्मण मन्दिरको जग्गामा ८७, कुवा मठको जग्गामा १०५, भागवत बेलाकुटीको जग्गामा १०३ र सीताकुण्डमा तीनवटा घर बनेको प्रतिवेदनमा उल्लेख छन्।

प्रतिवेदनमा अतिक्रमित जग्गा हटाउने भरपर्दो दस्तारसंयन्त्र नभएकाले कारबाही गर्न नसकिएको उल्लेख छ । स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले गुठीको चलअचल सम्पत्ति संरक्षण र गुठी घरजग्गामा स्वीकृतिबेगर जबरजस्ती भोगचलन (अतिक्रमण) गर्नेलाई हटाउन सहयोग नपाएको पनि प्रतिवेदनमा उल्लेख छ । 

यसरी जग्गा अतिक्रमण भइरहँदा पनि सरकारका तर्फबाट यी सबै मिचिएका जग्गा प्रति गम्भीरता भने दिएको देखिदैन ।

यद्यपि स्थानीय अधिकारीहरु पछिल्ला दिनमा अख्तियारले चासो राखेको बताउँछन् । तर, कारबाही भने भएको छैन । 
भइरहेको कारबाही क्रममा पुजारीद्वय दास र शर्मालाई जोगाउन राजनीतिक दलका मान्छेहरु नै लागिपरेको समेत खुलेको छ ।

०००



प्रकाशित: २०७६ जेठ ११
May 25th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार