नेपाली समय: ०८:१८:२८ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

मेलम्ची खानेपानी प्रकरणः नयाँ ठेक्का अघि नेपाली सब–कन्ट्र्याक्टर र सप्लायर्सहरुको पैसा भूक्तानी नभए आन्दोलन गर्ने चेतावनी

शुक्रबार, १७ जेठ, निर्माण सञ्चार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा संलग्न नेपाली सब–कन्ट्र्याक्टर, कर्सर, सप्लायर्स कम्पनीहरूले पाउनुपर्ने भुक्तानी रकमको २४ घन्टाभित्र टुंगो नलगाए मेलम्चीको साइट कार्यालय र काठमाडौंको आयोजना कार्यालयमा ताला लगाएर आन्दोलन थाल्ने चेतावनी दिएका छन्।

उक्त आयोजनामा संलग्न नेपाली सब–कन्ट्र्याक्टर र सप्लायर्सहरुलाई १ अर्ब ५३ करोड रुपियाँ भूक्तानी हुन बाँकी रहेको उनीहरुको भनाइ छ ।करिब ४० जति रहेका नेपाली सब–कन्ट्र्याक्टर र सप्लायर्सहरुले नयाँ ठेक्का लाग्नु अगावै आफूहरुले पाउनु पर्ने रकम पाउन सम्बन्धित क्षेत्रका सांसददेखि मन्त्रीसम्म र मेलम्ची खाने पानी विकास समिति समक्ष माग गरेका छन् ।

सिएमसी परियोजना छाडेर भागेपछि सरकारले उसको धरौटी बापत डेढ अर्ब रुपियाँ जफत गरेको छ । सिएमसीको धरौटी सरकार आफैले राखे पनि बाँकी रहेको १ अर्ब रुपियाँ बराबरको औजारहरु, अर्का १ अर्ब रुपियाँ बराबरको स्टक मेटेरियल र भुक्तानी गर्न बाँकी ५० करोड रुपियाँ सरकारको दायित्व भित्र पर्ने सरोकारावालाहरु बताउँछन् ।

आयोजना समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले शुक्रबार पीडित सब–कन्ट्र्याक्टर र सप्लायर्स पक्षसँगको अन्तरक्रियामा उक्त १ अर्ब ५३ करोड रुपियाँ भुक्तानी गर्न कानुनी बाटो नभएका कारण तत्काल सो भुक्तानी दिन नसकिने अवस्था रहेको स्पष्ट पारे ।

उनले समितिले पीडितको मागलाई सम्बोधन गर्न प्रतिवद्ध रहेको तर त्यसका लागि कानुनी बाटोको खोजीमा रहेको पनि बताए ।कार्यकारी निर्देशक कँडेलले सो आयोजनामा संलग्न स्वदेशी निर्माण व्यवसायीहरुको भुक्तानीको एकीन गर्न अध्ययन गर्न समिति गठन गर्ने तयारीमा जुटेको पनि जानकारी पनि दिए ।

कार्यक्रममा बोल्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद एवम् पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पीडित पक्षलाई भुक्तानीको व्यवस्था गर्न ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउने बताए ।

तामाङले भने, मेलम्चीको पानी चाडैं काठमाडौंमा ल्याउनको लागि बाधा अवरोध नपुरर्याइ सहयोग गर्न सबैलाई आग्रह समेत गरे । कार्यक्रमा बोल्दै स्थानिय सप्लार्यस राज के भट्टराईले आफुहरुले पाउनुपर्ने भुक्तानी नपाउदा बैंकलाई तिर्नु पर्ने ब्याज दिन प्रतिदीन बढदै गइरहेकोले यस्तै हो भने आफुहरुको रोडको बास हुने उनको भनाइ छ । 

उनले भने, ‘मर्नु नै छ भने खुट्टा तानेर मर्नु नै बेस’ आफुहरुले पाउनुपर्ने भुक्तानी नपाउने हो भने जस्तो सुकै कदम चाल्न पछि नर्पेने बताए । विभिन्न राजनितिक दलका नेताहरुले कार्यक्रमा बोल्दै सब–कन्ट्र्याक्टर लगाएत सप्लायर्स कम्पनीको भुक्तानी गरिनुपर्ने माग गरेका छन् । 

OOO
 



प्रकाशित: २०७६ जेठ १७
May 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार