नेपाली समय: ०५:०६:१३ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

नेकपा निकट निर्माण व्यवसायीले भन्यो, ‘अब संघर्ष नै निर्विकल्प बन्यो, एकताबद्ध भएर व्यवसायीका पक्षमा ओर्लने छौं’

शुक्रबार, १७ जेठ, निर्माण सञ्चार, काठमाडौं । खरिद नियमावली संशोधनमा निजी क्षेत्रको भूमिका ‘माइनस’ गरिएप्रति आन्दोलित निर्माण व्यवसायीहरु अन्ततः सडक संघर्षमै ओर्लनु पर्ने ठाउँमा पुगेको बताउन थालेका छन् ।

यही क्रममा नेपाल कम्युनिस्ट पार्टी निकट ‘नेपाल निर्माण व्यवसायी संगठन’ (सियोन) ले पनि लामो रसाकस्सीका बाबजुद आफ्ना लागि पनि आन्दोलन नै निर्विकल्प बनेको बताउको छ । शुक्रबार बसेको संगठन (सियोन) को वैठकले आफूहरुका प्रयत्नहरु सरकारी पक्षबाट सुनुवाइ नभएकाले आन्दोलनबाहेक विकल्प बाँकी नरहेको बताएको हो ।

निर्माण सञ्चारसँग बोल्दै संगठनका संयोजक यक्षध्वज (वाइडी) कार्कीले भने, ‘हामीले चरणबद्ध रुपमा नै अघि बढ्ने रणनीति अख्तियार गरेका थियौं । यस बीचमा सरकारका विभिन्न मन्त्रालय, तालुकदार मन्त्रीहरु, प्रधानमन्त्री ओली निकट शीर्ष नेताहरुलाई समेत भेटेर हामीले आफ्ना कुरा राख्यौं । तर, सुनुवाइ हुने छाँट देखिएन । अब हाम्रो विकल्प नै आन्दोलन बन्ने भएको हो ।’

संयोजक कार्कीले खरिद नियमावलीको नयाँ संशोधन आएलगत्तै आफूहरुले गरमागरम बहस गरेर बुँदा बुँदा केलएर केही प्रावधानहरु संशोधन नभए निर्माण उद्योगको भावी परिणाम कसरी बरबाद हुन सक्छ भन्ने समेत लेखेर सम्बन्धित सबैलाई जानकारी गराएको बताए ।

खरिद नियमावलीमा रहेका संशोधन गर्ने पर्ने बुँदाहरुलाई लिएर सियोनले अघिल्लो हप्ता नेकपा संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महाशेठ, प्रधानमन्त्री केपी शर्मा ओलीका प्राविधिक सल्लाहकार इन्जिनियर घनश्याम भट्टराई, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव वेगेन्द्रराज पौडेल सहित नेकपाका वरिष्ठ नेताहरुलाई डेलिगेसन मार्फत् ज्ञापन पत्र बुझाएको थियो ।

 

 

०००



प्रकाशित: २०७६ जेठ १७
May 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार