नेपाली समय: ०५:२९:०४ बेलुका
वि.सं २०७६ आषाढ १   आइतबार

वितरणमा फड्को मार्दै टेलिकमः उपल्लो डोल्पामा पनि मोबाइल टावर विस्तार

शनिबार, १८ जेठ,   निर्माण सञ्चार, डोल्पा । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आफ्नो सेवा विस्तार अभियान देशव्यापी बनाउँदै छ । यही क्रममा सडक सञ्जालमा पनि जोडिन बाँकी रहेको डोल्पा जिल्लामा भने नेपाल टेलिकमले मोबाइल टावर विस्तार गरेको छ ।

निर्माण सञ्चारका लागि डोल्पा संवाददाताका अनुसार टेलिकमको मोबाइल टावर उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकास्थित–४ कागकोटमा पर्ने नालढाण डाँडामा निर्माण भएको हो । 

भिस्याट लिंक प्रविधि पनि सुरु

भिस्याट प्रविधिका लागि अनिवार्य सर्त हो मोबाइल टावर । टावर निर्माणसँगै हिजो (शुक्रबार)देखि यहाँ भिस्याट लिंक प्रविधिबाट सञ्चार सेवा सुरु भइसकेको छ। 

टेलिकम सेवा विस्तार भएसँगै यहाँका स्थानीय दंग परेका छन् । किनकि, छिमेकी जिल्लाहरुमा टेलिकम फोन आइरहँदा आफूहरु चाहिँ वञ्चित भएको उनीहरुलाई लागिरहेको थियो ।
तर, अहिले उनीहरु हातहातमा मोबाइल लिएर कुरा गर्न सक्ने भएको टेलिकमका प्रतिनिधिले बताए ।

टावर सेवा सुचारु भएपछि सञ्चारविहीन यहाँका कागकोट, सेरी, मुकोट, खानी जस्ता दर्जन गाउँ सञ्चार पहुँचमा जोडिएका हुन्। टेलिफोन टावर बनेसँगै स्थानीयहरुले देशविदेशमा रहेका आफन्तसँग समेत कुरा गर्न सकेको प्रतिक्रिया दिएका छन् ।

पछिल्लो तथ्यांक अनुसार डोल्पाबाट पनि खाडी मुलुकमा रोजगारीका लागि जानेको संख्या धेरै रहेको छ । विशेष गरी यहाँबाट रोजगारीका लागि कालापहाड (छिमेकी भारत आदि) जानेहरु बर्सेनी बढिरहेका छन् ।

यो स्थान समुन्द्री सतहदेखि झन्डै ४३ सय मिटर उचाइमा  पर्दछ । टावरले सञ्चारमा जोडिएपछि झन्डै २ हजार जनसंख्याले यसको लाभ लिन सक्ने भएका हुन् ।

टेलिकम सेवा विस्तारबारे गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ भन्छन्, ‘टेलिकमका हाकिमहरुले पनि हाम्रो कुरा सुने छन् । हामी जनतालाई सेवा दिएर राहत दिन खोजिरहेका थियौं । तर वर्षौंपछि बल्लतल्ल भयो ।’

टेलिकमले जनाए अनुसार सो टावरको क्षमता भने हाललाई न्यून आकारकै छ । टेलिकमका प्राविधिक निलप्रसाद देवकोटा अनुसार जडित उक्त टावरबाट एक पटकमा २४ देखि ३२ जनासम्मले गर्ने कुराकानी सञ्चार गर्न सक्ने छ ।

दुर्गमका धेरै जिल्लामा अन्य फोन सेवा पुग्दा पनि नेपाल टेलिकम भने पुग्न सकेको छैन ।

०००

कभरेजलाई ‘फ्रन्ट–फेस’बाट पनि हेर्न यहाँ क्लिक गर्नुहोस्ः काममा परिणाम देखाउँदै प्रबन्ध निर्देशक डिल्ली अधिकारी

 



प्रकाशित: २०७६ जेठ १८
June 1st 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्