नेपाली समय: ०५:२९:३८ बेलुका
वि.सं २०७६ आषाढ १   आइतबार

लगानी बोर्ड बैठकपछि अघि बढ्यो पिपिपी ऐन: ५५ अर्बको लगानी स्वीकृत, ५५० मेगावट सौर्य ऊर्जा उत्पादनका लागि अध्ययन अनुमति

निर्माण सञ्चार, २० जेठ, २०७६, काठमाडौं । लगानी बोर्डको ३८औं वैठकले विभिन्न परियोजना अन्तर्गत ५५ अर्ब रुपियाँको वैदेशिक लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिंहदरबारमा आइतबार साँझ बसेको वैठकबाट उक्त लगानी स्वीकृत गरिएको हो ।

सो वैठकमा प्रधानमन्त्री ओलीले लगानी सम्मेलनबाट अघि बढेका प्रस्तावहरु तुरुन्तै अघि बढाउन निर्देशन समेत दिएका छन् ।

एकल वा संयुक्त जुनसुकै प्रकारका लगानीका लागि सहमति जुटेका  प्रस्तावहरु विना झन्झट काम गर्ने वातावरण बनाउन प्रधानमन्त्री ओलीले लगानी बोर्डलाई निर्देशन दिएको लगानी बोर्ड सदस्य बालकृष्ण शिवाकोटीले जानकारी दिए ।

६ अर्ब ५१ करोड लागतमा वीरगन्ज तथा भैरहवामा ‘फ्रेइट टर्मिनल’ 

सोही वैठकले ६ अर्ब ५१ करोड लागतमा वीरगन्ज तथा भैरहवामा ‘फ्रेइट टर्मिनल’ बनाउनका लागि सम्भाव्यता अध्ययन गर्ने अनुमति समेत प्रदान गरेको छ ।

बोर्ड सदस्य शिवाकोटीका अनुसार वीरगञ्ज र भैरहवामा प्राइभेट फ्रेइट टर्मिनल र बुल्क हेन्डिलिङ फेसिलिटिज निर्माण परियोजनाको सम्भाव्यता अध्ययन गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त परियोजना अध्ययनका लागि सरकारलाई कुनै आर्थिक दायित्व पर्ने छैन । सो अध्ययनका लागि फ्लास फ्रेइट लोजिस्टिक कम्पनीलाई अनुमति दिने निर्णय भएको हो ।

परियोजना अध्ययनका लागि मात्र ६ अर्ब ५१ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

५५० मेगावाटको सौर्य ऊर्जा अध्ययन गर्ने अनुमति

वैठकले एक फिलिपिनी कम्पनीलाई सातै प्रदेशमा ५५० मेगावाटको सौर्य ऊर्जा परियोजना सम्भाव्यता अध्ययन गर्ने अनुमति प्रदान गर्ने निर्णय समेत गरेको छ ।

लगानी बोर्ड सदस्य शिवाकोटी अनुसार उक्त परियोजनाका लागि फिलिपिन्सको एमएस ग्रिनइनर्जी सोलुसन इङ्कलाई अनुमति दिने निर्णय लिएको छ । सो कम्पनीले ऊर्जा परियोजनाको सम्भाव्यता अध्ययन गर्ने छ ।

५५० मेगावट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य सहितको सो परियोजनाका लागि ४८ अर्ब २४ करोड खर्च लाग्ने अनुमान छ ।

२ खर्ब लागतमा लुम्बिनी वल्र्ड बुद्धिस्ट एक्जिबिसन पार्क बन्ने

त्यस्तै, सोही वैठकबाट लुम्बिनीमा वल्र्ड बुद्धिस्ट एक्जिबिसन पार्क निर्माण तथा सञ्चालनका लागि आएको सिल्क रोड इन्टरनेसनल होल्डिङ कम्पनी लिमिटेडको प्रस्ताव स्वीकृत गर्दै प्रस्तावक कम्पनीलाई अध्ययन अनुमति प्रदान गर्ने निर्णय पनि गरिएको छ  ।

लगानी बोर्डका सदस्य एवम् उद्यमी शिवाकोटीले बताए अनुसार लुम्बिनी वल्र्ड बुद्धिस्ट एक्जिबिसन पार्कका लागि २ खर्ब रुपियाँ लाग्ने अनुमान छ ।

अघि बढ्यो पिपिपी तथा लगानी ऐन र नियमावली 

वैठकबाट बहुप्रतिक्षित सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ कार्यान्वयन गर्न तयार मस्यौदा स्वीकृत गर्न मन्त्रिपरिषद्मा पेस गर्ने समेत निर्णय भएको छ । सो मस्यौदा अब मन्त्रिपरिषद्बाट पास हुने छ । 

ऐनका साथै, वैठकले सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली २०७६ को मस्यौदा समेत स्वीकृत गर्न मन्त्रिपरिषदमा पेस गर्ने भएको छ । 
यी दुवै निर्णय सोही वैठकमा भएको थियो ।


वैठक आरम्भमै प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनबाट प्राप्त परियोजना अघि बढाउनेबारे बोर्डले गरेका कामहरुको प्रगतिबारे  प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । 

बोर्डको ब्रिफिङ पछि प्रधानमन्त्री ओलीले मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको सन्दर्भ उठाएका थिए । त्यसका लागि वैदेशिक लगानी सम्मेलनको आयोजना गरिएको र सोका लागि एकल विन्दु सेवा मार्फत् लगानीकर्ताहरु कसैले पनि झन्झट महसुस गर्नै नपाई कमहरु द्रुत गतिमा अघि बढाउन आवश्यक सबै काम गर्ने बोर्डलाई निर्देशन दिएका थिए ।

...

न्युज ‘फ्रन्ट फेस’ हेर्न यहाँ क्लिक गर्नुहोस्

०००
 



प्रकाशित: २०७६ जेठ २०
June 3rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार