नेपाली समय: ०८:०९:१० pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

मेलम्ची पाइपलाइन बिछ्याइमा देखियो लापरबाहीः ३० किलोमिटर पाइप फुटे, अब कति फुट्ने हुन् ?

निर्माण सञ्चार, २४ जेठ, काठमाडौं । संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका हुन् । 

३० किलोमिटर पाइप फुट्दा १६ करोडको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले बताए । क्षति भएका पाइप हटाएर पुनः नयाँ बिछ्याउँदा थप १६ करोड लाग्ने उनले बताए । 

समन्वयको अभाव, निर्माण व्यवसायीको लापरबाही सतहमै छताछुल्ल !

यसबारे आयोजना कार्यान्वयन निर्देशनालय प्रमुख खत्रीले भने, ‘हामीले पाइप बिछ्याएको ठाउँमा सडक विभाग र स्थानीय तहले सडक विस्तार गर्दा तथा ढल निर्माण गर्दा पाइप फुटेका हुन् । 
उनका अनुसार निर्माण व्यवसायीका कमजोरीले समेत पाइप फुटेका छन् । करिब १६ करोड रुपियाँबराबरको क्षति पुगेको छ । 
साही स्थानमा अब थप बिछ्याउँदा उत्ति नै खर्च हुने उनको भनाइ छ । यसको क्षतिपूर्ति सरकारले कोबाट लिन्छ त ? 

१२ सय किमी बिछ्याइएको, सबैमा कमसल कामको आशंका

यो घटनाले बाँकी सबै काम कमगुणस्तरीय भएको अनुमान छ । आउने दिनमा यसले झनै खतरा निम्त्याउने विकास विश्लेषकहरु बताउँछन् ।

०७० देखि उत्यकामा पाइप बिछ्याउँदै आएको आयोजनाले अहिलेसम्म काम सकेको छैन । हाजसम्म १ हजार २ सय किलोमिटर पाइप बिछ्याएको छ भने अब ३ सय किलोमिटर पाइप ओच्छ्याउने काम बाँकी छ । 
यतिबेला ललितपुर महानगरपालिका क्षेत्र, कलंकी, कुलेश्वरमा बिछ्याउने काम भइरहेको छ । 

एडिबीको चासो 

मेलम्ची खानेपानी आयोजनाको लगानीकर्ता एसियाली बिकास बैंक (एडिबी)ले  पाइप फुटेको विषयमा चासो देखाएको छ । एडिबीले अर्थ मन्त्रालयलाई पत्र लेख्दै सम्बन्धित सबै निकायलाई बोलाएर छलफल र समन्वय गराउन भनेको छ । 

निर्देशनालयले पनि पाइप फुटेर पुगेको क्षतिका विषयमा खानेपानी मन्त्रालय र अर्थ मन्त्रालयलाई जानकारी गराएको छ । उसले भनेको छ, दोहोरो भुक्तानी गर्न सकिदैन ।’

थप ठाउँमा क्षति हुने आशंका

खत्रीका अनुसार पानी पर्याप्त नहुँदा सबै ठाउँमा चेक हुन सकेको छैन । तर अब बाँकी ठाउँमा गर्दा थप क्षति हुन सक्ने उनी बताउँछन् ।

‘अहिले देखिएको क्षति ३० किमिमा हो । अझै थप क्षति पनि हुन सक्छ । पानी छैन, ट्यांकरको पानीले जाँच गर्दा कहाँ क्षति पुगेको छ भन्ने यकिन जानकारी पाउन सकिन्न ।’

१० मध्ये नौ पानीट्यांकी तयार

उपत्यकामा मेलम्ची आयोजनाको सात करोड ५० लाख लिटर क्षमताका १० वटा पानीट्यांकी बनाइएको छ । नौवटा निर्माण सम्पन्न भइरहेका छन् । एउटा अन्तिम चरणमा रहेको निर्देशनालयले जनाएको छ । पाइप बिछ्याउन र पानीट्यांकी निर्माणमा अहिलेसम्म १६ अर्ब खर्च भएको निर्देशनालय प्रमुख खत्रीले बताए ।

मेलम्ची खानेपानी आयोजना–२ कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्री भन्छन्–सडक र ढल हेर्ने निकायले पाइप फुटेपछि पनि हामीलाई भनेनन्

बानेश्वरमा मात्रै फुट्यो १५ किलोमिटर पाइप 

सबैभन्दा ठूलो क्षति बानेश्वर क्षेत्रमा भएको छ । निर्देशनालयका अनुसार बानेश्वरमा मात्रै १५ किलोमिटर पाइप फुटेको हो । महानगरका वडा कार्यालयले ढल निर्माण तथा सडकको काम गर्दा र सडक विभागले सडक विस्तार गर्ने क्रममा बानेश्वरमा धेरै क्षति पुगेको खत्रीले बताए । 

आजको नयाँ पत्रिकाबाट 

 

०००



प्रकाशित: २०७६ जेठ २४
June 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार