नेपाली समय: ०८:१४:१० pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

पुँजीगत खर्च गर्न नसकेका अर्थमन्त्री भन्छन्, ‘अझै २–३ वर्ष यो आलोचना खेप्नु पर्नेछ’

निर्माण सञ्चार, २४ जेठ, काठमाडौं । विकास बजेट खर्चन नसकेका अर्थमन्त्री डा युवराज खतिवडा यो आरोप अझै २–३ वर्षसम्म आइरहने बताउँछन् ।
त्यसका लागि उनी मानसिक रुपले नै तयार देखिन्छन् ।

चालू आर्थिक वर्षका लागि ४० प्रतिशत बजेट पनि खर्चन नसक्तै अर्थमन्त्री आउने आर्थिक वर्षका लागि फेरि बजेट विनियोजन गरेको हप्ता दिन नबित्दै उनले यस्तो भनेका हुन् ।
अर्थमन्त्री डा खतिवडाले बिहीबार प्रतिनिधिसभा बैठकमा बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रतिपक्षी नेपाली काँग्रेसलाई भने झटारो हानेका छन् ।

काँग्रेसका समयमा कुनै बेला जिडिपीको ६८ प्रतिशतसम्म वैदेशिक ऋण लिएको सन्दर्भ संकेत गर्दै अर्थमन्त्री खतिवडाले भने ‘कुनैबेला देश जिडिपिको  ६८ प्रतिशत  वैदेशिक ऋणमा थियो । तर यो अहिले ३० प्रतिशतमा झरेको छ । आगामी वर्ष ३१ प्रतिशत रहने अनुमान गरेका छौँ ।’

उनका अनुसार यो बजेटमा जिडिपीको मात्र ३० प्रतिशत वैदेशिक ऋण लिइएको हो ।

उनले वित्तीय संघीयता कार्यान्वयनमा आइसकेको जिकिर गरेका छन् भने संघ, प्रदेश र स्थानीय तहका साझा कार्यविधिसम्बन्धी विधेयक संसदमा प्रस्तुत भएको पनि बताएका छन् ।
वित्तीय संघीयता कार्यान्वयनले पूर्णता नपाएपनि पूर्णताको नजिक पुग्नेगरी बजेट कार्यान्वयन गरेको अर्थमन्त्रीको जिकिर छ ।

दक्षिण एसियामै सन्तुलित बजेट

अर्थमन्त्रीले बजेटबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा आफूले भरखरै प्रस्तुत गरेको बजेट दक्षिण एसियामै सन्तुलित भएको पनि दाबी गरेका छन् ।
उनका अनुसार नेपाल दक्षिण एसियामै ऋणमा सबैभन्दा सहज अवस्थामा छ । नचाहिने ठाउँमा ऋण लिएर ऋणको भारी बोकाउने तर्फ सरकार नरहेको उनको भनाइ छ ।

पुँजीगत खर्च गर्न नसकेको आरोप अझै २–३ वर्ष !

मुलुक यतिबेला पुँजीगत खर्च गर्नै नसकेर बजेट फर्काएर बसिरहेको छ । निर्माण क्षेत्रको ऋण भुक्तानी गर्न नसकेको सरकारले आर्थिक सन्तुलन नमिलाउँदा विकास बजेटको हुनु पर्ने खर्च पनि डाटामा देखाउन सकेको छैन ।

सरकारले झन्डै ६० अर्ब माथि निर्माण कार्य सकेबापत नै निर्माण व्यवसायी तथा अन्य विकास एजेन्सीहरुलाई भुक्तानी गर्न बाँकी छ ।
यसबारे स्वीकार गर्दै अर्थमन्त्रीले भने, ‘पुँजीगत खर्च लक्ष्य अनुसार गर्न सकेका छैनौँ । यो दशकौँको इतिहास हो । धेरै खर्च  भए ९० प्रतिशत हुन्छ । चालु आवमा ८६ प्रतिशत खर्च हुन्छ भनेका छौँ ।’

उनले निर्माण कार्यमै जोडिएर पुँजीगत खर्च हुन नसकेको जिकिर गरेका छन् । स्वीकार गर्दै भने, ‘कहिले दाताको सर्त पूरा गरेर काम गर्ने अवस्था हुँदैन, कहिले ठेकेदारले समयमै काम गर्दैनन्, कहिले निर्माण सामाग्रीको अभावले समयमै काम हुँदैन । यो आलोचना अझै २–३ वर्षसम्म हुने देखिन्छ ।’

असारे विकास किन ?

उनका अनुसार भुक्तानी असार मसान्तमा हुने भएकाले विकास नै असारे विकास जस्तो देखिएको हो । 

उनले भने, ‘काम पुस–माघमा सकिन्छ । तर, भुक्तानी असार मसान्तमा दिने भएकाले असारे विकासजस्तो देखिन्छ । विद्युुतका काठेपोललाई फलाममा परिवर्तन गर्नेगरी कार्यक्रम राखेका छौँ । विगतका आयोजना छुटेका छन् भने त्यसलाई सम्पन्न गर्नेगरी प्रतिवद्धता गरेका छौँ ।’

३० वर्षमा ३ चौथाई जनसङ्ख्या सहरबासी 

अर्थमन्त्रीका अनुसार आउने ३० वर्षमा ३ चौथाइ जनसंख्या सहरबासी हुने छन् । उनले थपे, ‘सहर केन्द्रित विकास भएको छ कि भन्ने प्रश्न उठेको छ । मानिसहरु कसरी सहरीकृत हुँदैछ भन्ने अहिलेका अन्तर्राष्ट्रिय प्रकाशन हेर्यो भन्ने थाहा हुन्छ  ।’

उनले अघि भने, ‘नेपालमा पनि त्यो कुरा लागू हुनछ । अबको ३० वर्षमा विश्वमा ९५ प्रतिशत मानिस सहरबासी हुने छन् । नेपालको पनि ३ चौथाई जनसंख्या सहरबासी हुन्छन् ।’

उनले अबको चुनौती भनेकै व्यवस्थित सहरीकरण हो । उनले भने, ‘गाउँ पनि छ है भनेर आफ्नो गाउँ आफै बनाउ भन्दै कार्यक्रम ल्याएका छौ ।’ 

 


०००



प्रकाशित: २०७६ जेठ २४
June 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार