नेपाली समय: ०६:४७:०२ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

राजधानीमा भारतीय शैक्षिक मेला हुँदै

निर्माण सञ्चार, २७ जेठ, काठमाडौं । ‘भारतीय शैक्षिक मेला २०१९’ आगामी जेठ अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ ।

भारतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तलामा शुक्रबार(३१) र शनिबार (३२) गते (१४ र १५ जुन) उक्त शैक्षिक मेला आयोजना हुन लागेको हो ।

‘स्टडी इन इण्डिया’ भन्ने स्लोगनका साथ आयोजना हुन लागेको शैक्षिक मेलामा भारतका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी दिएको छ ।

प्लस टु तथा स्नातक दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरिएको एक्स्पो दुई दिनसम्म सञ्चालन हुने छ ।

एक्स्पोमा भारतमा अध्ययन गर्न उपयुक्त विषय, त्यसको प्रभाव र अध्ययनका लागि आवश्यक तयारीका बारेमा जानकारी दिइने आयोजक संस्था इन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले बताए ।

बिहान १०.३० देखि बेलुकी ५.३० बजेसम्म चल्ने भारतीय शैक्षिक मेलामा उच्च शिक्षा अध्ययनको लागि भारतको एनएएसि, एबिईटि, एनबिए लगायतबाट मान्यताप्राप्त उत्कृष्ट विश्वविद्यालय तथा कलेजको बारेमा नेपाली विद्यार्थीहरुलाई जानकारी दिइने छ ।

इन्जीनियरिङ, म्यानेजमेन्ट, प्यारामेडिकल, फेसन डिजाइन, आइटी, पाइलट ट्रेनिङ र आयुर्वेदिक लगायतका संकायका बारेमा जानकारी दिइने महर्जनले बताए।

एक दशकभन्दा लामो समय व्यवसायिक ढंगले काम गरेका परामर्शदाताहरुले एउटै थलोमा बसेर सत्यतथ्य तथा भरपर्दो जानकारी उपलब्ध गराउने भएकाले मेला नेपाली विद्यार्थीको लागि विशेष रहने आयोजकको अपेक्षा रहेको छ ।

मेलामा विद्यार्थीले निःशुल्क रुपमा भारतबाट आउने ठूला र उत्कृष्ट विश्वविद्यालयबाट परामर्श, शुल्क संरचना, कलेजको वातावरण, छात्रबृत्ति, भारतीय शिक्षाका प्रावधान र व्यवस्था, भर्ना हुने तरिका, होस्टेल, खानालगायतको बारेमा प्रत्यक्ष र विस्तृत रुपमा जानकारी दिइने महर्जनले जानकारी दिए।

एकै थलोमा चालिस भन्दा बढी भारतीय कलेज र विश्वविद्यालयको प्रतिनिधित्व रहने सो मेलामार्फत विद्यार्थीले भारतसम्म पुगेर सबै कलेज र विश्वविद्यालय घुमिरहने झन्झटबाट मुक्त हुने आयोजक पक्षको भनाई छ ।

 



प्रकाशित: २०७६ जेठ २८
June 11th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार