नेपाली समय: ०२:१२:२१ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

चर्चित बन्दै रावलः ‘पार्टी एकता भएपनि मन मिलिसके जस्तो देखिएन'

निर्माण सञ्चार, ३२ जेठ, अछाम । जे हो त्यही बोल्ने र बोली अनुसारको काम गर्ने भएकैले पछिल्ला दिनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावल यस भेगकमा बढी नै लोकप्रिय हुँदै गएका छन् ।

आफ्नै पार्टीले गरेको भन्दैमा नराम्रो कामको ढाकछोप नगरी गर्नु पर्ने विकल्प समेत दिने कारणले उनी सुदूरपश्चिमबासीमा लोकप्रिय बनेका हुन् ।
नेकपाका नेता तथा स्थायी कमिटी सदस्य भीम रावल सूदुरपश्चिमका लागि पार्टीका इन्चार्ज समेत हुन् ।

तर, उनले एक विशेष कार्यक्रममा दुई कम्युनिस्ट पार्टीको एकता भएपनि मन मिलिनसकेको टिप्पणी गरेका छन् ।

अछाम जिल्ला कमिटीका सदस्यहरुलाई सपथग्रहण गराउन आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न सदरमुकाम मंगलसेन आएका नेता रावलले मन मिलिनसकेकाले पार्टी असरल्ल बनेको बताए ।

उनले भने, ‘यस्तै अवस्था रहे संगठन मजबुत हुँदैन । बिग्रन सक्छ ।’

उनले अब पनि पूर्व एमाले र माओवादीकै रुपमा विभाजित मानसिकता बोकर बसे पार्टीले घाटा व्यहोर्नु पर्ने बताएका हुन् । 

उनले भने, ‘हामी अब पूर्व एमाले र माओवादी केन्द्र होइनौं, त्यो मानसिकताबाट मुक्त हुन सबै साथीलाई आग्रह गर्दछु । अन्तरविरोध भए आपसी छलफलबाट समाधान निकाल्नु पर्छ । एकढिक्का भएर अघि बढ्नु पर्छ ।’

उनले पार्टीभित्र तलदेखि माथिसम्म नै मनहरु विभाजित हुने गरी नेतृत्वले व्यवहार गर्न नहुने पनि बताए ।

उनका अनुसार विगतका विभाजनका रेखालाई मेट्ने गरी काम गरेर अघि बढ्न आवश्यक छ । पार्टी एकतासँगै अछाममा १ सय ४५ सदस्य रहेको जिल्ला कमिटी छ । जसमा पूर्व एमालेबाट ९० तथा माओवादी केन्द्रबाट ५५ जना सदस्य रहेका छन् । 

नेता रावलले दुई पार्टीहरुका हिजोका फरक फरक विशेषता रहेपनि अब एक भएकाले एकढिक्का भएर अघि बढ्नु पर्ने कार्यकर्तालाई निर्देशन दिए ।

 

०००

 

To Go Front Face Coverage, Click Here



प्रकाशित: २०७६ जेठ ३२
June 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार