नेपाली समय: ०५:०४:३५ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

जुगाड खोला सफाइमा प्रजिअ बञ्जाडेले उठाइन् झाडू, चन्दननाथ नपा भने सुतेको सुतै

निर्माण सञ्चार, २ असार, जुम्ला । चन्दननाथ नगरपालिका स्थापना भएको एक दशक बित्यो । संघियता कार्यान्वयनको दुई वर्ष पनि कट्यो । तर चन्दननाथ नगरपालिकाले भने फोहोर फाल्ने स्थायी डम्पिङ साइटको व्यवस्था गर्न सकेको छैन् । 

नीति तथा कार्यक्रममा स्मार्ट सिटी बनाउने, ५ वर्षमै इलेक्ट्रिसिटी र रोड कनेक्टिभिटीले पूर्णता पाउने दाबी गरिएका छन् । तर फोहोर व्यवस्थापन नै गर्न नसकेको नगरपालिकाले के माखो मार्ला र भन्ने यतिबेला भइरहेको छ नगरवासीहरुमा । डम्पिङ साइट नै नबन्दा दिनहुँ जुम्ला बजार दुर्गन्धित बन्दै गएको छ । 

जुम्ला बजारको दुर्गन्धित अवस्था फेर्न भन्दै ‘जागौ युवा’ कर्णाली सञ्जाल सुरु पनि भएको छ । युवाहरुले फोहोर संकलन गरी नगरपालिकालाई उठाएर व्यवस्थापन गर्न पनि भनेका थिए ।

तर हप्ता दिनसम्म पनि फोहोर नउठेपछि सबै युवाहरुले बजारको फोहोर नगरपालिका कार्यालयको गेटमा थुपारिदिए । 
संकलित फोहोर व्यवस्थापन गर्न बारम्बार आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेपछि ढोकामा थुपारेको युवा अभियन्ता महेश शाहीले बताए । 
जुगाड खोला सरसफाई गर्दै आएपनि फोहोर व्यवस्थापन गर्न हामीलाई निकै समस्या भएको शारादा पछाईको भनाइ छ । उनका अनुसार गेटमा फोहोर थुपारिदिदा र पनि नगरपाकिलाले चासो नदिनु लाजमर्दाे हो ।

सिडिओ नै फोहोर संकलनको अभियान्ता

जुम्लालाई सुन्दर बनाउने युवाहरुको जागेको देखेर जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे आफै जुगाड खोलाको फोहोर संकलनमा सक्रिय भएकी छन् । प्रजिअ बञ्जाडेले जुम्लालाई दुर्गन्धमुक्त बनाउन आफैबाट अभियान थाल्ने बताएकी छन् । 

उनले आफ्नै सामाजिक सञ्जाल फेसबुक मार्फत् प्रत्येक शनिबार जुम्ला सरसफाई अभियानमा जुट्न इच्छुकहरु सबैलाई आग्रह समेत गरेपछि यतिबेला जुम्लामा सरसफाइ अभियानै सुरु भएको छ । नयाँ जाँगर पलाएको छ ।

सोहि अनुसार शनिबार प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको नेतृत्वमा झन्डै ३ सय युवा सकारी कार्यालयका प्रुमख, नागरिक समाज, डिएसपी र पत्रकारहरु सबै फोहोर संकलनमा सरिक भए । 

आएन नगरपालिका, उसकै बेइज्जत

तर, नगरपालिका आफै भने भाउ खोजेर बस्यो । सूचना नआएको बाहानामा नगरपालिकाबाट कसैको उपस्थिति भएन । ऊ आफैले गर्नु पर्ने काम यसरी जनसाधारण तहबाट अभियानकै रुप लिदा पनि नगरपालिका नआउनु अर्काे लाजमर्दाे कुरा हो ।

‘जसको जिम्मेवारी हो, ऊ नै नगरसरसफाइमा नआउनु त भविष्यमा उसकै अपमान हुन्छ भन्छन्, हरिष रोकाया । 

जुम्लामा आएका सिडिओमध्ये आफै फोहोर संकलन अभियान्ता बन्ने पहिलो सिडिओका रुपमा बञ्जाडेले परिचय बनाएकी छन् । प्रमुख जिल्ला अधिकारी बञ्जाडेले यो शनिबार बिहानै निवासबाट निक्लिइन् ।

करिब सात बजेबाट हातमा झाडू लिएर फोहोरको डंगुर अघि उनी उभिइन् र, सुरु गरिन् धमाधम फोहोर उठाउन ।

त्यसरी नै उनी जुम्लाको जुगाड खोलामा पसिन् । हातमा जोलोप्स, मुखमा मास्क लगाएर उनले फोहोर उठाउन थालेपछि यहाँको मुहार नै फेरिएको हो । उनको प्रेरणाले युवाहरु पनि उत्साही बनेर सरसफाइमा होमिएका हुन् ।

उनी आफै नै फोहोर उठाउन थालेपछि, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी कर्मचारी एकाएक फोहोर संकलनमा जुटेका थिए । 
पहिलो दिन जिएमडी स्कुलदेखि कवर्डहलसम्म झन्डै १० ट्यली फोहोर संकलन गरिएको छ । प्रमुख जिल्ला अधिकारी बञ्जाडेले ‘कर्मचारी, जनप्रतिनिधि जोसुकै होस् आफू बस्ने ठाउँ सफा गर्न आफै सक्रिय हुन’ अपिल पनि गरेकी छन् ।

‘युवाहरु जागेको देखेर प्रेरणा थपेको मात्रै हो’ प्रजिअ बञ्जाडे

युवाहरु नै जागृत भएपछि यसलाई थप प्रेरणा दिन आफू सक्रिय भएको उनको भनाइ छ । युवाहरुले नगरपालिका कार्यालयमै फोहोर फाल्नु चाहिँ राम्रो नभएको उनको भनाइ छ । 

उनका अनुसार अबको चार हप्ता निरन्तर सफा गर्ने र फोहोर व्यवस्थापनमा सुझाब दिने बताईन । यदि सुझाबको उल्घन गरेमा कार्बाहि प्रक्रियलाई अघि बढाउनेमा चेतावनी दिईन । 

कर्मचारी भन्दा नगरबासी तथा जनप्रतिधि फोहोर सफाइ अभियानमा सबैलाई सक्रिय गराउने र व्यवस्थापन गर्ने भन्ने छ । यसरी सबैको बानी नै बन्यो भने नगरपालिका र आसपास क्षेत्र सधै सफा र हरियाली बन्ने उनको भनाइ छ । 

प्रजिअ बञ्जाडे सहित प्रहरी, स्थानीय सफाइ अभियन्ता युवाहरु सफाइ अभियान पछि तस्वीर खिचाउँदै
‘सबैभन्दा पहिले हामीहरु जागरुक नै बन्नु पर्छ । जागरुक बन्नेहरुले नै असल बानीको विकास आफूमा गर्ने हो । जब कुनै पनि कुराको आदत आफू आफूमा बस्छ भने सोही आदतले नै मानिसलाई बनाउने हो । बस, आदत राम्रो लिने कि नराम्रो छनोट तपाईं हाम्रो हातमा छ,’ निर्माण सञ्चार संवाददाता सागर परियारसँग प्रजिअ बञ्जाडेले भनिन् ।

हुन पनि आदत अर्थात् बानी जस्तो बसाल्यो उस्तै हुने हो । जाँड खाने बानी बसाले जँड्याहा होइन्छ भने, पान खाने आदत बसाए पाने । सरसफाइ गर्ने बानीले मानिस आफै सफा र स्वच्छ बनेर बस्छ, फोहोरी बानी भएकाहरु फोहोरमै रामएर बस्छन् ।

दुर्गन्ध भएपनि फोहोरमै बस्ने झिँगालाई तपाई के भन्नुहुन्छ ?

प्रजिअको प्रेरणालाई धेरैले सम्मान गरेका छन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महतका अनुसार सबैमा गरिब सोच र मानसिकताले जुम्ला बजार दुर्गन्धित भएको हो ।

प्रमुख जिल्ला अधिकारीले गरेको सरसफाई अभियान र युवाहरुको जाँगरले आज परिवर्तनको आभास दिलाएको छ ।

महिलाले केही गर्न सक्दैनन् भन्ने संकुचित मानसिकतालाई महिला प्रजिअले बञ्जाडेले  पर्दाफास गरेकी छन् ।

उनको कामले सबै महिलालाई नयाँ केही गर्ने जोश समेत थपेको छ भने पुरुष हुँ भन्दै घमन्ड मात्र गर्ने तर जिम्मेवारी पुरा नगर्नेहरुको उल्टै बेइज्जत भएको स्थानीय बताउँछन् ।

जस्तै, यो अभियानमा नगरपालिकाले जस्तो व्यवहार गर्यो, आखिर उसकै बेइज्जत भयो । नगरपालिकाले वास्ता नगरेपनि प्रजिअको साथले जुगाडखोला सरसफाइ भएपछि स्थानीयहरु नगरपालिकाको अकर्मन्यतालाई देखेर खिसीटिउरी गर्न थालेको छन् ।

यता नगरपालिकाका अनुसार अहिले नगरपालिका– ५ स्थित बजार क्षेत्रमै अस्थायी ल्यान्डफिल्ड साइट निर्माण गरेर बजारको फोहोर व्यवस्थापन गरिने छ । तर स्थायी डम्पिङसाइट भने निर्माण जारी छ  ।

निर्माणको नाउँमा १० वर्ष बितिसकेको छ । तर  कहिले सम्पन्न हुने थाहा छैन ।

बन्दै गरेको डम्पिङसाइटलाई देखाएर फोहोर नै नपन्छाउने नगरपालिका भने आफैमा अकर्मण्य हो भन्छन् स्थानीय नगरवासी । 

एक प्रौढ नगरवासीले भने, ‘डम्पिङसाइट कहिले बन्छ कहिले तर घर अगाडिको फाहोर अर्काे १० वर्षसम्म थुपारेर बस्नु पर्ने कि के हो ? यो त भएन नि नगरपालिका प्रमुखज्यू !’

०००

Go to Front Face Coverage, Click here

 



प्रकाशित: २०७६ आषाढ २
June 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार