नेपाली समय: ०९:४०:४४ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

चन्दननाथ मेयरको घोषणाः ५ वर्षभित्र गाउँगाउँमा सडक, घरघरमा बिजुली, कसरी ?

निर्माण सञ्चार, २ असार, कर्णाली प्रदेश । २० वर्षपछि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपालकै पहिलो मेयरका रुपमा कान्तिका सेजुवाल निर्वाचित भइन् । कर्णालीको पहिलो नगरपालिका चन्दननाथको मेयरमा महिलाबाट उनले बाजी मारिन् । उनी त्यस अघि जुम्लाको सामुदायिक विद्यालयमा झण्डै ४० वर्ष लामो समय शिक्षिका थिइन् ।  

उनले त्रिभुवन विश्वविद्यालयबाट दुइटा विषयमा स्नातकोत्तर गरेकी छन् । उनले निर्वाचनमा जित हासिल गर्नु अघि र मेयर भईसकेपछि हालसम्म पनि चन्दननाथ नगरपालिकालाई कनेक्टिभिटी, ईलेक्ट्रिसिटीमा देशकै नमुना बनाउने अठोट गर्दै आएकी छन् ।

जुम्लाको विकास, कर्णालीवासीका समस्या, जनप्रतिनिधिसँगको अपेक्षा, स्थानीय तहको दुईमा भएका गतिविधिका बारेमा निर्माण सञ्चारकर्मी सागर परियारले गरेको कुराकानीको सारः

जितेको दुई वर्ष भइसकेको छ, यस अवधिमा स्थानीय सरकारले विकास गरेको अनुभूति दिने गरी केके गर्नु भयो ? 

म जनप्रतिनिधिका रूपमा चुनिएर आएपछि जेठ ७ गते सपथ लिएर जनताको सेवा गर्ने प्रण गरँे । दुर्गम कर्णालीको पहिलो नगरपालिकालाई स्मार्ट सिटी, कनेक्टिभिटी र इलेक्ट्रिसिटी प्राथमिकतामा राखेर काम गरेको छु ।

नगरपालिका भित्रका १० वटै वडामा सडक पुराएको छु । पहिलो वर्ष अलि नयाँ भएर होला जनताको अपेक्षा अनुसार काम गर्न सकिएन । फोहोर व्यवस्थापनका लागि कालेखोलीदेखि दुनैसम्मको सडक खोलेको छु । 

करोडौको टावर स्थापना गरेको छु । फोहोर व्यवस्थापनको कुरामा ८,९ र १० वडाको लागि पनि फोहोर संकलनको पहल भइरहेको छ भने दोस्रो वर्षमा पहिलेका कामलाई निरन्तरता दिएका छौँ । 

चौथो नगरसभाबाट १५ वटा ऐन समेत पारित गरेका छौँ । विकास निर्माणका संरचनालाई अनुगमनमा जोड दिएका छौँ । त्यसपछि महिला तथा बालबालिकाको लागि पनि कानुन निर्माण गरेका छौँ । अन्यौलकै आधारमा २ वर्ष बित्यो । तर ५ वर्षमा सबैका घरघरमा बिजुली गाउँगाउँमा सडक हुने छ, लेखेर दिन्छु ।

नतिजामुखी काम त खासै देखिएन भन्ने छ नि ? 

नतिजाकै कुरा गनुर्् हुन्छ भने, हामीले कनेक्टिभिटीमा हकमा त केही गरेका छौं त । रिंगरोड जोड्ने सडक ६ वटा निर्माण भएका छन् । नामै लिऊँ तलिउम, कार्तिकस्वामी, केटीएस लाइन, दानसाँघु, कालेखोली र रानारावत, तपाई हेर्न सक्नु हुन्छ । 

यो कुरा बुझ्न जरुरी छ कि तपाईले भने जस्तै नतिजा देखिएको छैन तर हामी सुतेर त बसेका छैनौँ नि ! काम थुप्रै गरिरहेका छौ । २० वर्षे अल्पकालीन, मध्यकालीन र दिर्घकालीन गुरुयोजना बनिसकेको अवस्था छ त । 

दिगो विकासको अवधारण अनुसार हामी काम गरिरहेका छौँ । विकास त जादुको छडी होइन झट्ट देखाउने कुरा । ५ वर्षमा कनेक्टिभिटी र इलेक्ट्रिसिटीले पूर्णता पाउँछ ढुक्क हुनुहोस् । 

इलेक्ट्रिसिटीको नारा घन्किएको छ तर, नगरबासी त अन्धकारमै छन् त ?

तपाईले भनेको सही हो । नगरबासी अन्धकारमै छन् । तर हामी चुप लागेका छैनौँ । राजनीति यात्रालाई निरन्तरता दिनका लागि पनि कनेक्टिभिटी इलेक्ट्रिसिटीको नारालाई पूर्णता दिन्छौँ । अब चन्दननाथ नगरपालिका असार महिना भित्रै लोडसेडिङमुक्त हुन्छ । यसमा शंका छैन । 

ठिन्के र जुगाखोला जलविद्युतको लागि १ करोड ६० लाख विनियोजन गरेका छौँ । काम अन्तिम चरणमा पुगिसक्यो । अनि विमानस्थल प्रतिष्ठान, बसपार्क, बीच बजारमा फ्री वाईफाई जडान गरेका छौँ । सुरक्षाको हिसाबले संचालनमा आएको छैन । १० वटै वडामा विद्युतको पोल गाडिसकेका छौँ । 

व्यक्तिगत पहलमा नेपाल टेलिभिजनको टावर विस्तार गरेको छु । सडक बत्ती जडान भएका छन् । भलै केही महिनायता नगरबासी अँध्यारोमा छन् । तर दिर्घकालीन विकासमा नगरपालिका जुटिरहेका छौँ ।

फेरि भनेँ, असार भित्रै जुम्ला बजार झिलिमिली हुनेछ ।

पाँच वर्षको अवधिमा घरघरमा बिजुली हुने छ । निरन्तर बिजुली आएमा संचारका सबै माध्यमको पुहँचमा नागरिक पुग्ने छन् । भने गाउँ गाउँमा सडक पुग्ने छन् । जसबाट घरबाटै गाडी चढेर नगरपालिका कार्यालय सेवाग्राही आउने छन् ।

बिजुली नियमित भए कार्यलयबाट सेवा पनि समयमै पाउँछन् । मेरो कार्यकालमा घरघरमा बिजुली गाउँगाउँमा सडक पुराउँछु । 

अपेक्षा अनुसार जनप्रतिनिधिले काम नगरेको आरोप छ त ? 

लामो समयपछि संघियता आयो, घरदैलोमा सिंहदबार पनि आयो । सरकार जनप्रतिनिधि संग अपेक्षा गर्नु स्वाभाविक हो । तर आरोप गुनासा गर्नका लागि गुनासो गरेर समृद्धि हँुदैन ।

हामी प्रमुख र उपप्रमुख महिला भएकोले आम महिला दिदि बहिनीको पहुँच बढेको छ । महिला मैत्री नीति निर्माणमा जोड दिएका छौँ । पहिलो वर्ष अलमलमै बित्यो, दोस्रोमा केही काम गर्यौ, अझै गर्देछौँ । पाँच वर्ष भित्र जनताका अपेक्षा पूरा गरी छड्ने संकल्प छ ।  

ढिलो विधेयक आउनु, ढिलो कार्यविधि आउनु, ढिलो कार्यान्वयन हुनु, स्पष्ट निर्देशन नआउनु पनि काम गर्न नसक्नुका कारण छन् । आरोप गुनासा पनि स्वभविक छन् । तर सकरात्मक सोचको विकास हुन जरुरी छ । 

फोहोर व्यवस्थापन त गर्न सक्नुभएन भन्ने चर्काे आलोचना छ नि !

भने जति, सोचे जतिकै काम गर्न निकै ग्राहो छ । तर म ग्राहो छ भनेर पछि हट्ने मान्छे होइन । पाएक पर्ने जगा दिन नमान्ने, भएकोले दुई वर्ष बित्यो, आगामी आवबाट प्रयोगमा आउने निकै ठुलो डम्पिङ साइट निर्माणको तयारीमा छौँ ।

यहाँका युवा, पत्रकार सरोकारवालासंग समन्वय गरी सुन्दर जुम्ला बनाउने सवालमा रतिभर पछि हटिने छैन । 

नगरपालिकाको आन्तरिक आम्दानी लक्ष्य अनुसार छैन, कसरी विकास हुन्छ ?

हो । हाम्रो आम्दानी निकै न्यून छ । दुई आर्थिक वर्षमा हामीले बहाल र व्यावसायिक  कर लगाएनौँ । जुन क्षेत्रबाट स्थानीय सरकारको आम्दानी बढ्थ्यो । तर अब हामी आगामी आवबाट बहाल कर र व्यवसायिक करको दायारा फराकिलो बनाउने सोचमा छौँ भने राजश्व चुहावटलाई पनि रोक्ने प्रयासमा छौँ । आम्दानी बढाउनकना लागि कृषि र पर्यटन क्षेत्रमा लगानी बढाउनु पर्ने अवस्था छ । 

तपाईको स्मार्ट सिटीको योजना कहाँ पुग्यो त ?

ठ्याक्कै कुरो निकाल्नु भयो धन्यवाद । स्मार्ट सिटीलाई के भन्छ भन्नेमा हामी सबै स्पष्ट हुनु पर्छ । स्मार्ट सिटी भन्ने बित्तिकै भारतको ताजमहल जस्तो बंगला र चीनको सिसा जस्तो सडक नसोचाँै ।

भूगोलका आधारमा स्मार्ट सिटी बन्छ । जस्तै, सेवा प्रदायकले सेवाग्राहीलाई छिटो छरितो, प्रभाकारी सेवा दिनु स्मार्ट होइन, सफा घर, सफा कार्यालय, सफा विद्यालय, सफा नागरिक, सबैको स्वास्थ्य शिक्षामा पहुँच, विद्युत संचार लगायत अरु मैले यो स्मार्ट सिटी खोजेको हुँ ।

अर्को कुरा पाँच वर्षमा घरघरमा बिजुली र गाउँ गाउँमा सडक पुराएर स्र्माट सिटीको सपना पुरा हुन्छ । 

स्मार्ट सिटीको काम के भइरहेको छ त ?

भूगोलका आधारमा बन्ने स्मार्ट सिटी जुम्लामा बन्छ । मैले विज्ञ टोलीलाई ५० लाख बजेट स्मार्ट सिटीको डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) बनाउन दिइसकेको छु । केही प्राविधक तथा सैद्धान्तिक समस्या छन् । पाँच वर्ष भित्र स्मार्ट नगर बनाएरै छाड्छु । गर्नलाई धेरै समस्या छन् ।

मुख्य कुरा त हाम्रो सोच र विचारमा समस्या छ । 

स्मार्टसिटिका लागि ४ सुचक छन् । टेक्नोलोजी, भौतिक पूर्वाधार सुशासन र स्वास्थ्य शिक्षा हो । जुन कुराको माथि मध्यम स्तरमा आइपुगेका छौँ । आज नभए भोलि त पक्कै स्मार्ट सिटि बन्छ । डिपिआर फाइनल हुनेबित्तिकै काम पनि सुरु हुन्छ ।

नेपालकै पहिलो मेयरका रुपमा कान्तिका सेजुवाल
तर अहिलेबाट पनि विभिन्न काम भइरहेका छन् । विज्ञका अनुसार पनि शहर भन्दा दुर्गममा स्मार्ट सिटि बनाउन सहज छ । उदाहरणका लागि काठमाडौं कुनै हालतमा स्मार्ट सिटि बन्दैन । त्यसैले नगरपालिकालाई स्मार्ट सिटि बनाउन कुनै गाह«ो छैन । 

जनप्रतिनिधि आएपछि भ्रष्टचार बढ्यो भन्ने आरोप छ नि ! 

प्रमाणमा आधारित कुरामा हामीले बहस गर्ने हो । तपाईले भने अनुसार पनि होला धेरै ठाउँमा सुन्नमा आउँछ । तर चन्दननाथ नगरपालिकामा त्यसो हुँदैन । भ्रष्टकर्मचारी र जनप्रतिनिधिलाई मैले छुटकरा दिन्नँ । तपाई हाम्रा हरेक कुरामा निगरानी गर्नुहोस, कतैबाट सुईको भेटाउनु भयो भने पनि हामी कारबाही गर्छौं ।

यो दुई वर्षसम्म किन भएन त सार्वजानिक सुनुवाई ?

सार्वजानिक सुनुवाई हुनु पर्छ । सार्वजानिक सुनुवाई ऐन २०५५ र नियमावली २०५६ अनुसार गर्नु पर्दछ । तर केही प्राविधक समस्याले हो हामी गर्छौ । तर यही आधारमा भ्रष्टचार भइरहेको छ भन्नु तथ्यहीन कुरा हो । 

हामी जनताका सेवकका रुपमा आइसकेपछि सेवा गर्छौ, सरकारले पारिश्रमिक दिएको किन भ्रष्टचार गर्नु । ढुक्क हुनुहोस हामी सुशासन र पारर्दशिताका क्षेत्रमा चन्दननाथ नगरपालिका कर्णालीमै अगाडि छ । 

महिला शसक्तीकरणका कुरा गरौं, के के भए त काम ? 

यसै त कर्णालीका महिला अशिक्षित छन् । सम्झाउनै बुझाउनै ग्राहो छ । तर म एक महिला भएको हिसाबले पनि महिलामैत्री कानुन निर्माण, महिला हिंसा न्यूनीकरणका सवालमा विशेष जोड दिएको छु ।  सशक्त रूपमा, सक्रिय रूपमा नेतृत्व लिन नसक्ने अवस्था अझै छ  । 

तर चेतना विकासका लागि अग्रसर भई अघि बढिरहेकी छु । कार्यबोझका कुरा छन्, अबसरमा समानता, रुढिवादी परम्परा, बालविवाह, बहुविवाहहरू न्यूनीकरणमा नगरपालिका लागि परेको छ । 

तपाईको अगुवाईमा हुन लागेको लगानी सम्मेलन स्थगित किन भयो ? कहिले हुन्छ ?

जुम्लाको विकासका लागि बाह्य लगानी पनि उत्तिकै आवश्यकता छ ।  लगानी सम्मेलनको मुख्य उद्देश्य भनेकै जुम्लालाई कसरी विकासमा उन्मुख गराउने र त्यहाँका मानिसको जीवनस्तरलाई कसरी आर्थिक क्षेत्रमा रूपान्तरण गर्न सकिन्छ भन्ने हो ।

त्योसँगै जुम्लाको जीवनशैलीलाई कसरी माथि उकास्ने भन्ने नै लगानी सम्मेलनको मुख्य उद्देश्य हो ।

तर त्यहा राजनीतिक कारणले लगानी सम्मेलको उद्देश्य नबुझेर केही व्यक्तिका कारण स्थगन हुन पुग्यो । तर मेरो कार्यकालभित्र लगानी सम्मेलन हुन्छ । तर त्यसका लागि धेरै कसरत गर्नुपर्ने अबस्था छ । यहाँका हरेक सम्भावनाहरुमा लगानीको अबसर जुटाएर आर्थिक समृद्धी हासिल गर्न लगानी सम्मेलन गर्छौ । 

०००

पढौं यो पनि

 

To see Front Face Coverage, click here

 

 



प्रकाशित: २०७६ आषाढ २
June 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार