नेपाली समय: ०४:४७:५२ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

जुम्ला जग्गा प्रकरणः ५९० रोपनी गुठीचौर आफ्नो नाउँमा पर्ने १६ जनाविरुद्ध अख्तियारले चलायो मुद्दाः को को परे ?

निर्माण सञ्चार, ५ असार, जुम्ला । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
न्यौपानेले ५९० रोपनी सरकारी जग्गा श्रीमती, छोरी र नातागोताका नाममा पास गराएको भन्दै अख्तियारले उनीहरू समेतलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।  

...
निर्माण मिडियाले सुरुदेखि नै ‘ब्रेक’ तथा ‘फलोअप’ गरिरहेको यस मुद्दाबारे जुम्लास्थित निर्माण संवाददाता सागर परियारले यसबारे थप समाचार सम्प्रेषण गरेका हुन्
...
यसअघि जुम्ला गुठीचौरस्थित भेडाबाख्रा फारामको नाममा रहेको ५९० रोपनी जग्गा परिवारको नाममा नामसारी गर्ने मालपोत अधिकृतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

हाल सेवा निवृत्त जुम्लाको गुठीचौर गाउँपालिका–४ बाउलीगाउँका न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठीचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख वर्गमिटर अर्थात ५९० रोपनी जग्गा आफन्तको नाममा नामसारी गरेको खुलेको थियो । 

उनकी पत्नी गोमा, छोरी पार्वती र १४ जना आफन्तका नाममा दर्ता गराएको अख्यिारको अनुसन्धानबाट खुलेपछि उनीहरूविरुद्ध विशेष अदालतका मुद्दा दायर गरेको हो । 
साबिक गुठीचौर गाविस–६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५२५ वर्गमिटर जग्गा फिल्डबुकमा कायम थियो । 

त्यसैमध्येको ३ लाख वर्गमिटर अर्थात् ५९० रोपनी जग्गा न्यौपानेले निजी बनाएका थिए ।  

मालपोत अधिकृत रहँदा न्यौपानेले गरेको बदमासी प्रमुख जिल्ला अधिकारी भएर जुम्ला आएपछि रुद्रप्रसाद पण्डितले पत्ता लगाएका थिए । 
भूमिसम्बन्धी ऐन २०२१ ले पहाडी जिल्लामा खेतीपातीका लागि ७५ रोपनी र घरबासका लागि ५ रोपनीसमेत गरी ८० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था छ । 

उनले राजस्व छली गर्ने उद्देश्यले गुठीचौरको सरकारी जग्गा १४ जनाको नाममा सिधै दर्ता गराएको देखिएको थियो । 

प्रतिवेदनअनुसार न्यौपानेले १४ जनामध्ये सबैभन्दा धेरै ३५ हजार १५० वर्गमिटर जग्गा श्रीमती गोमा र त्यसपछि ३४ हजार ८५० वर्गमिटर जग्गा छोरी पार्वतीको नाममा दर्ता गराएका छन् । 

आफन्तमध्ये एक जनाका नाममा ३३ हजार वर्गमिटर, अर्का एक जनालाई ३२ हजार ३३५ वर्गमिटर र ६ जनाको नाममा २० हजार वर्गमिटर जग्गा दर्ता गराएका थिए । 

त्यस्तै, विष्णुऋषि न्यौपाने, घनप्रसाद न्यौपाने, कविदत्त न्यौपाने र विष्णुलाल न्यौपानेको नाममा २०/२० हजार, हरिहर न्यौपानेको नाममा १५ हजार वर्गमिटर जग्गा दर्ता गराएका थिए । 

त्यस्तै, आफन्तहरू देवेन्द्रप्रसाद उपाध्याय र जानकीदत्त देवकोटाको नाममा १३ हजार ३३० वर्गमिटर जग्गा दर्ता गरेका थिए । एक जनालाई १३ हजार ३३५ वर्गमटर, एक जनालाई १३ हजार ३३० वर्गमिटर र एक जनालाई २ हजार वर्गमिटर दर्ता गराइदिएका थिए । 

उनले गोमा न्यौपानेको नाममा ३५ हजार १५०, पार्वती न्यौपानेको नाममा ३४ हजार ८५०, विष्णु न्यौपानेको नाममा ३३ हजार, विजय न्यौपानेको नाममा ३२ हजार ३३५, मयलाल न्यौपानेको नाममा २ हजार वर्गमिटर जग्गा आफू अधिकृत भएको समयमा उनले पास गराएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

अख्तियारले सबै जग्गाधनीहरूलाई समेत विपक्षी बनाउँदै भ्रष्टाचार मुद्दामा जनही १० वर्षसम्म कैद र जग्गाको मूल्य बराबर बिगो र जरिवाना गराउन माग गरेको छ ।

के हुँदै छ बालुवाटार जग्गाप्रकरणमा ? 

यता सरकारले देशैभर भूमाफियाविरुद्ध चालिरहेको कदम एकपछि अर्काे सफलता मिलेको दाबी गरिरहेको छ । सोही अनुसार प्रधानमन्त्री जस्तो देशकै शक्तिशाली कार्यकारी प्रमुख बस्ने बालुवाटारको जग्गा प्रकरणमा पनि अख्तियारले कदम चालेको बताएको छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने मालपोत कर्मचारीसँग अख्तियारले बयान लिन सुरु गरेको बताएको छ ।
यतिबेला आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीसँग बयान लिन थालेको छ । 

प्रधानमन्त्री निवाससँग जोडिएको एक सय ४७ रोपनी जग्गा कांग्रेस नेता सुवर्णशमशेर राणाका सन्तानको नाममा लगेर बिक्री गरिएको थियो । सरकारले ०२१ सालमा अधिग्रहण गरेको सो जग्गा जफत गरेको भन्ने गलत व्याख्या गरेर बिक्री गरिएको थियो । 

पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले सो जग्गा सरकारको नाममा फिर्ता ल्याएर दोषी कर्मचारीलगायत व्यक्तिविरुद्ध कारबाहीको सिफारिस गरेको थियो । 
सोहीअनुसार आयोगले सहसचिवको नेतृत्वमा विशेष टोली गठन गरी छानबिन अघि बढाएको छ । 

प्राथमिकताका साथ सो जग्गा प्रकरणमा अनुसन्धान भइरहेको आयोगका प्रवक्ता कोइरालाले बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत छानबिन गरिरहेको छ । ब्युरोलाई अनुसन्धान गर्न दिइएको ३ महिनाको समय मंगलबार सकिएपछि अनुसन्धान पूरा गर्न भन्दै ब्युरोले थप समय मागेको छ ।

 

०००

To See Front Face Coverage, Click here
 



प्रकाशित: २०७६ आषाढ ५
June 20th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार