नेपाली समय: १०:३९:०७ बिहान
वि.सं २०७६ आषाढ ३१   मंगलवार

एसइई नतिजाः कुन ग्रेडले कुन विषय पढ्न पाउँछ ? कसरी बुझ्ने ग्रेडिङलाई ?

निर्माण सञ्चार, १२ असार, काठमाडौं । पछिल्ला केही वर्षदेखि एसएलसी संरचनामा परिवर्तन आयो । प्राथमिक, माध्यमिक, उच्च शिक्षा र विश्वविद्यालयीय शिक्षाका संरचना परिर्वतन भयो ।

यसले हिजोका दिनमा जस्तो न त अब एसएलसीमा टपर हुने नाउँमा विकृति रहन गयो न पुरानो संरचनामा जस्तो गतिहीन शिक्षा र शैक्षिक अवस्था ।
परिवर्तनले केही नयाँ कुरा त ल्याउँछ । शिक्षाका हकमा ल्यायो पनि ।

एसइई पनि एउटा प्रणाली नै हो, जसले एसएलसीलाई प्रतिस्थापन गर्यो भने जुन प्रणाली दश जोड दुई र कक्षा १० बीचको पुलको काम गर्छ । त्यसैले नेपाल सरकारले कक्षा १० को अन्त्यमा लिइने परीक्षालाई अब एसइई भन्ने संज्ञा दिएको  छ ।

केही वर्षदेखि यो प्रणाली चलनमा छ ।

यो प्रणाली अन्तर्गतको परीक्षाको नतिजा विहीबार राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गरेसँगै यसलाई लिएर २ खाले जिज्ञासा जन्मिएको छ, पहिलो हो कुन ग्रेडले के पढ्ने र दोस्रो, ग्रेड भनेकै कुरालाई कसरी बुझ्ने ?

अब के पढ्ने, कहाँ पढ्ने भन्ने बारे विद्यार्थीमा प्रश्नै प्रश्न उब्जिएका पनि छन् । 

उच्च ग्रेड पाएका विद्यार्थीहरु कलेजबारे बुझ्न थालिसकेका छन् । तर, कम ग्रेड ल्याउने विद्यार्थीहरु भने आफ्नो जिपिएले के पढ्न पाउने के पढ्न नपाउने भन्ने कुराले दोधारमा छन् ।

लेटर ग्रेडिङ प्रणालीः कक्षा ११ मा के पढ्न पाउने, के नपाउने ?

लेटर ग्रेडिङ प्रणाली शिक्षा मन्त्रालयले सुरु गरेको हो जसलाई हामी ग्रेडिङ भनेर पनि चिन्छौं  । अब विद्यार्थीले प्राप्त गरेको ग्रेडअनुसार कक्षा ११ मा के पढ्न पाउने के नपाउने भन्ने व्यवस्था बुझ्न आवश्यक गरेको छ ।

विज्ञान पढ्न चाहनुहुन्छ ? 

सो व्यवस्थाअनुसार विज्ञान संकायअन्तर्गत पर्ने विषयहरु भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, कम्प्युटर साइन्स विषय अध्ययन गर्न एसइईमा न्यूनतम २ जिपिए अनिवार्य प्राप्त गरेको हनुपर्दछ । 
विषयगत आधारमा विज्ञान र गणित विषयमा ‘सी–प्लस’, अंग्रेजीमा  ‘सी’ र सामाजिक र नेपाली विषयमा ‘डी–प्लस’ अनिवार्य प्राप्त गरेको हुनु पर्दछ ।

मेनेजमेन्ट पढ्ने हो ?

त्यस्तै, व्यवस्थापन संकायमा अध्ययन गर्न चाहने विद्यार्थीले १.६ जिपिए अनिवार्य प्राप्त गरेको हुनु पर्दछ । विषयगतका आधारमा गणितमा ‘सी’, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा ‘डी–प्लस’ अनिवार्य प्राप्त गरेको हुनु पर्दछ ।

मानविकी पढ्नका लागि कति आवश्यक ?

त्यस्तै, उक्त प्रणालीका आधारमा मानविकी र शिक्षा संकायमा अध्ययन गर्न समग्रमा १.६ जिपिए अनिवार्य छ । विषयगत आधारमा नेपाली, अंग्रेजी र सामाजिकमा ‘डी–प्लस’ अनिवार्य ल्याउनु पर्दछ ।

प्राविधिक शिक्षा पढ्न कति ल्याउनै पर्छ त ?

त्यस्तै, यदि प्राविधिक क्षेत्रमा प्रवेश गर्न चाहनु हुन्छ भने, कक्षा ११ मा प्राविधिक स्वास्थ्य अध्ययन गर्न २.० जिपिए अनिवार्य ल्याउनु पर्नेछ । 
यसका हकमा विषयगत आधारमा अंग्रेजी, गणित र विज्ञानमा  ‘सी–प्लस’ अनिवार्य प्राप्त गरेको हुनु पर्दछ ।

इन्जिनियरिङ पढ्न १.६ जिपिए अनिवार्य र विषयगत आधारमा गणित र विज्ञान विषयमका ‘सी’ तथा अंग्रेजीमा  ‘डी–प्लस’ अनिवार्य ल्याउनुपर्ने हुन्छ । त्यस्तै, कृषि अध्ययन गर्न १.६ जिपिए अनिवार्य गरिएको छ भने अंग्रेजी, गणित, विज्ञानमध्ये एउटा विषयमा ‘डी–प्लस’ ल्याए पुग्ने व्यवस्था गरिएको छ ।

बुझ्ने कसरी ग्रेडिङ प्रणाली ?

एसइई नतिजा सार्वजनिक भएको छ । तर, अभिभावक तथा विद्यार्थीलाई यसको नतिजा बुझ्न निकै समस्या हुने गरेको भेटिएको छ ।

यस भन्दा अघिल्ला प्रणालीहरुमा नतिजा श्रेणीमा प्रकाशन हुन्थ्यो ।

प्रतिशतका आधारमा श्रेणी मापन गरिन्थ्यो । जस अनुसार ८० प्रतिशतभन्दा बढी ल्याउने उच्च श्रेणी, ६०–८० प्रतिशत ल्याउने प्रथम श्रेणी, ४५–६० प्रतिशत ल्याउने दोस्रो श्रेणी, ३२–४५ प्रतिशत ल्याउने तेस्रो श्रेणी र ३२ भन्दाकम प्रतिशत ल्याउने अनुत्तीर्ण हुने गर्थे ।

ग्रेडिङ पोइन्ट एभरेज अर्थात् जिपिए

तर, २०७१ सालदेखि लेटर ग्रेडिङको प्रावधान लागू गरियो । अहिले नतिजा ग्रेडिङ पोइन्ट एभरेज (जिपिए) प्रणालीमा प्रकाशित हुन्छ । त्यसलाई बुझ्न निकै मुस्किल हुने गरेको छ । 

यो ग्रेडिङ प्रणालीअनुसार नतिजालाई ‘ए–प्लस’,‘ए’,  ‘बी–प्लस’,  ‘बी’, ‘सी–प्लस’, ‘सी’, ‘डी–प्लस’, ‘डी’, र ‘ई’ गरी ८ वटा ग्रेडमा वर्गीकरण गरिएको छ ।

ए प्लस भनेको अतिविशिष्ट श्रेणी हो

यदि कुनै परीक्षार्थीले ३.६५ देखि ४.०० जिपिए ल्याए भने यो अतिविशिष्ट श्रेणी हो । जसलाई आजको भाषामा ‘ए–प्लस’ भनेर चिनिन्छ । यो अंकका हिसाबले ९०–१०० प्रतिशत बराबर हो ।

ए ग्रेड भनेको कति हो त ?

ए ग्रेड भनेको ३.२५ देखि ३.६० जिपिए ल्याउन सफल अवस्था हो । यसलाई विशिष्ट अर्थात् ‘ए’ ग्रेड भनिन्छ । जुन ८०–९० प्रतिशत बराबर हो । 

कति हो बिप्लस भनेको ?

त्यस्तै, २.५ देखि ३.२० ग्रेड ल्याउने विद्यार्थी ‘बी–प्लस’ अन्तर्गत राखिन्छ । यो भनेको अंग्रेजीको ‘भेरी गुड’ अर्थात् ‘धेरै राम्रो’ श्रेणीमा गनिन्छ ।
यो भनेको ७०–८० प्रतिशत बराबर हो । 

बी ग्रेड भनेको चाहिँ ? 

यो भनेको २.४५ देखि २.८० जिपिए ल्याउने विद्यार्थीको वर्ग हो । जसलाई ‘बी’ अर्थात् राम्रो श्रेणी भित्र लिइन्छ । 
यसमा ६०–७० प्रतिशत नम्बर गणना हुन्छ ।

सिप्लस भनेको चाहिँ कति हो त ?

सिप्लस भनेको औसत भन्दा राम्रो दिमाग भएको भन्ने मापदण्ड हो । अर्थात् २.०५ देखि २.४० जिपिए आउने विद्यार्थीलाई ‘सी–प्लस’ ग्रेड अन्तर्गत राखिन्छ । यो भनेको औसतभन्दा राम्रो विद्यार्थी भन्ने बुझिन्छ । जसका लागि ५०–६० प्रतिशतको नम्बर गणना गरिन्छ ।

सी ग्रेड ?

सी ग्रेड भनेको १.६५ देखि २.०० जिपिए ल्याउने विद्यार्थी ‘सी’ ग्रेडमा पर्छ । यो विद्यार्थी भनेको औसत विद्यार्थी हो । 
साह«ै राम्रो पनि होइन, सारै कमसल पनि होइन ।

यसमा पर्ने विद्यार्थी ४०–५० प्रतिशत बराबर नम्बर भित्र पर्दछ । 

डिप्लस ?

त्यस्तै, १.२५ देखि १.६० जिपिए ल्याउने विद्यार्थी ‘डी–प्लस’ ग्रेडमा पर्दछ । यस अन्तर्गतको विद्यार्थी औसतभन्दा तलको रेखामा पर्छ ।
यसमा प्राप्तांक २०–४० प्रतिशत बराबर गणना गरिन्छ । 

डी र ई ग्रेड भनेको कति ?

यो भनेको ०.८५ देखि १.२० जिपिए ल्याउने विद्यार्थी हो । यसमा ०.०० देखि ०.८० जिपिए ल्याउने विद्यार्थी चाहिँ ‘ई’ ग्रेडमा पर्छ ।
‘डी’ र ‘ई’ ग्रेडको सिस्टमभित्र शिक्षा मन्त्रालयले अपर्याप्त र निम्न क्षमता भएको विद्यार्थी भनी चिन्ने मापदण्ड बनाएको देखिन्छ ।
यो ग्रेडिङ विद्यार्थीले प्राप्त गरेको जिपिएलाई २५ ले गुणन गरी प्रतिशत निकालेर राख्ने गरिन्छ ।

यसले समग्रतालाई चिनाउँछ । तर, विद्यार्थीले पाएको नतिजा भित्र अझै प्रत्येक विषयका लागि पाएको नम्बरलाई समेत छुट्टाछुट्टै ग्रेड प्रदान गरिन्छ । 

यस परीक्षा अन्तर्गत ८ विषयमा परीक्षा लिइन्छ । हरेक विषयको नतिजा ग्रेडमै उपलब्ध हुन्छ ।

यदि कुनै विद्यार्थी ‘न्यून’ कोटि अर्थात् ग्रेड ल्याएको छ भने उसका लागि दोस्रो वर्ष पुनः परीक्षा दिनु पर्ने हुन्छ । दोहोराएर दिइने परीक्षाबाट उसले आफ्नो ग्रेड बढाउन सक्ने अवसर पनि छ ।

०००

पढौं यी पनि

 

To see Front Face Coverage, Click here



प्रकाशित: २०७६ आषाढ १२
June 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार