नेपाली समय: १०:४९:३६ बिहान
वि.सं २०७६ आषाढ ३१   मंगलवार

करोडौको लागतमा जुम्लामा जलविद्युत् उत्पादन हुँदै


निर्माण सञ्चार, १७ असार, काठमाडौं । जुम्ला, पातारासी गाउँपालिकाको चुकेनी खोलामा बन्न लागेको कर्णालीकै गौरबको चुकेनी जलविद्युत आयोजना शिलान्यास गरिएको छ ।

वैकल्पिक ऊर्जा, गाउँपालिका र स्थानीयबासीन्दाको लगानीमा सुरु भएको ९९८ किलोवाट (करिब एक मेगावाट) क्षमताको जलविद्युत आयोजनाको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले  बिहीबार शिलान्यास गरेका हुन् ।  

पातारासी गाउँपालिका –१ गढीगाउँबाट उत्पादन हुने जलविद्युत आयोजनाको शिलान्यास गर्दै मन्त्री भण्डारीले यो आयोजनाले पुरै जुम्लालाई उज्यालो दिने अपेक्षा गरिएको बताए ।

आयोजनाको निर्माण कार्य आरम्भ भएपछि पातारासी गाउँपालिका उज्यालो हुने र विभिन्न उद्योगहरु संचालन गर्न सकिनेमा स्थानीय खुशी छन् ।

मन्त्री भण्डारीका अनुसार जुम्लाबाट समग्र कर्णालीलाई विद्युत बेच्न सकिने दाबी छ ।

पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहराले यो योजना कर्णालीको गौरब भएकाले चाँडै सम्पन्न गर्न गाउँपालिकाले सकेको सहयोग गर्ने बताए ।  

चुकेनी सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाले चुकेनी जलविद्युत आयोजनाका काम चाँडै सम्पन्न गरिने उल्लेख गरे ।

उनका अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २८ करोड रुपैयाँ , स्थानीयको शेयर २ करोड ५० लाख रुपैयाँ, गाउँपालिकाको १ करोड रुपैयाँ र प्रदेश सरकारको १ करोड रुपैयाँ लगानीसहित ४६ करोड रुपैयाँमा चुकेनी जलविद्युत आयोजना निर्माण हुन लागेको हो । 

निर्माणको जिम्मेवारी भने फेवा कन्सल्टेन्स बुटवलले पाएको वैकल्पिक ऊर्जा, नवीकरणीय उर्जाका लागि जिविकोपार्जनका फिल्ड संयोजक पृथ्वी शाहीले बताए ।

उनले १८ महिनामा काम सकिने गरी निर्माण सुरु गरिने दाबी गरे।

वि सं २०६९ वैशाख महिनाबाट प्रक्रिया शुरु गरिएको जलविद्युत आयोजना रकम अभावका कारण रोकिएको थियो ।

लामो प्रयासबाट बल्ल निर्माण कार्य शुरु भएपछि जुम्लाबासी खुशी भएका छन् ।

आयोजना वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, गाउँपालिका र स्थानीयको सहयोगले अगाडि बढ्ने पक्का भएको गाउँपालिकाका अध्यक्ष बुढाको विश्वास रहेको बताए ।  

जुम्लाको सदरमुकाम खलंगामा साना जलविद्युत आयोजनाको ४० वर्ष अगाडिको २२० किलोवाट उत्पादन भएको बिजुली बत्ती जनसंख्या वृद्धि र बजारिकरण भएपछि, जुम्ला सदरमुकाममा बिजुली बत्तीको सकस छ ।

चुकेनी जलविद्युत आयोजना निर्माण भएमा पातारासी गाउँपालिका सहित जुम्ला सदरमुकामलाई पनि पर्याप्त बिजुली पुग्ने चुकेनी सहकारी संस्था लिमिटेडले बताएको छ ।

बत्तिको सास्ती खेपिरहेको जुम्लालाई, चुकेनी विद्युत उत्पादनले उज्यालो बनाउने विश्वास गरिएको छ । 

०००

पढौं यो पनि



प्रकाशित: २०७६ आषाढ १७
July 2nd 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्