नेपाली समय: ०७:४८:१२ बिहान
वि.सं २०७६ मंसिर २१   शनिवार

गोविन्द केसीको माग पुरा

निर्माण सञ्चार, १८ असार, काठमाडौं । प्रा डा गोविन्द केसीले आफ्नो पटक पटकका अनशनमा उठान गर्नुभएको प्रमुख मागहरु मध्ये एउटा, कर्णाली अञ्चल अस्पताल प्रतिष्ठानमा एमडिजिपी, एमबिबिएस र एमडी कक्षा सञ्चालनको पूर्वाधार तयार गर्दै अध्यापन शुरु गर्नु पर्ने माग पुरा भएको छ । 

कर्णालीका साविकका ५ र हालका १० वटा दुर्गम जिल्ला मध्ये जुम्लामा, आम नागरिकलाई विशेष स्वास्थ्य सेवाको पहुँचमा ल्याउन २०६८ सालमा सरकारले ठूलो लगानीमा कर्णाली स्वास्थ्य विज्ञान स्थापना गरेको थियो ।

प्रतिष्ठानले एक वर्ष अर्थात् २०६९ कात्तिक २३ गते, एक जना विशेषज्ञ सहित पाँच जना चिकित्सकहरुको टोलीलाई  तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्लामा पुर्याई सेवा शुरुआत गरेको थियो ।

२०७० सालमा कर्णाली अञ्चल अस्पताल प्रतिष्ठानमा परिणत भएको थियो । सय शैयाको अस्पताल अहिले तिन सय शैयामा विस्तार भएको छ ।

जसका लागि २०६४ मा निर्वाचित सांसद तथा हाल कर्णालीका कानुन मन्त्री नरेश भण्डारीले अगुवाई गरेका थिए ।

अस्पतालले पछिल्लो समय आफ्नै फार्मेसी, रक्तसञ्चार सेवा तथा अक्सिजन प्लान्ट समेत सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताए । 

दैनिक दुइ सय जति अन्तरङ्ग र बहिरङ्ग सेवा लिने यो अस्पतालमा तीन शैयाको आइसियु सेवा रहेको छ ।

सिटीस्क्यान उपकरण सेवा, नाक, कान र घाँटी विशेषज्ञ सेवा शुरु हुँदैछ भने, एमडिजिपी तथा एमबिबिएस दुवै तहका अध्ययन अध्यापन शुरु गराउन प्रतिष्ठानले भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र अस्पतालमा उपकरण जडान कार्य समेत पुरा गरिसकेको छ  ।

“दुर्गमका नागरिकको राहातका लागि  मेडिकल काउन्सीलले एमडिजीपि पढाईको अनुमती दिएपछि छोराछोरी पढ्न पाउने भए भन्दै  कर्णालीबासी निकै खुसी छन् ।” 

 

प्रतिष्ठान वर्षौ देखि मेडिकल काउन्सिलको अनुगमनमा थियो । पटक पटक विज्ञ टोलीले प्रतिष्ठानमा स्थलगत अध्ययन तथा अनुगमन पनि गरे तर हेरौला, सोचौला भन्दै वर्षौ बिते पनि प्रतिष्ठानका पदाधिकारीहरुको लामो संघर्षपछि, जुम्लाको अस्पतालमा एमडिजीपि पढाईका लागि अनुमती दिइएको छ ।

नेपाल मेडिकल काउन्सिलको असार ५ गते बसेकोे बैठकले प्रतिष्ठानलाई सो तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । 

पहिला दिनेकी नदिने भन्ने विषयमा धेरै अन्यौल थियो, सुर्खेतमा पनि तीनसय शैयाको अस्पताल बनाउने कुरा उठिरहँदा जुम्ला ओजेलमा पर्न सक्ने चिन्ता थियो तर दुर्गमका नागरिकको राहातका लागि भएपनि काउन्सीलले अनुमत दिएको छ । 

उनका अनुसार चिकित्सा विज्ञान अन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति पाएको हो । काउन्सिलले निर्णय गरी अनुमती दिईसकेकोले अब कर्णालीका विपन्न समुदायका छोराछोरीको पनि डक्टर बन्ने सपना पुरान हुने उनको आशा छ ।

अहिले काउन्सिलले एमडिजीपीका लागि तीन सिट उपलव्ध गराएको छ । कर्णाली प्रतिष्ठान सँगै पोखरा प्रतिष्ठानले पनि अनुमती पाएको छ ।

स्त्रीरोग विभागको प्रमुखमा प्रा डा किरण रेग्मी कार्यरत छन् । उनी स्वास्थ्य तथा जनसख्या मन्त्रालयको पूर्वसचिव हुन् । विश्व स्वास्थ्य सङ्गठनको आकर्षक परामर्श पद त्याग गरी, उनी जुम्ला आएका थिए

पश्चिम नेपालकै ठुलो प्रतिष्ठानमा दशकौपछि भएपनि एमडीजिपि पढाईको अनुमती पाउनु खुसीको कुरा हो । नागरिक समाजका अध्यक्ष राज बहादुर महतले भने, अब गरिबका छोराछोरीले आफ्नै घरमा खाना खाएर सस्तोमा डक्टर पढ्न पाउने छन् । 

विभागीय प्रमुख प्रा डा रेग्मी प्रतिष्ठानमा कार्यरत विभागीय प्रमुख, विशेषज्ञ चिकित्सक तथा चिकित्सकहरु नेपालको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा अनवरत सेवा गरेका चिकित्सकहरु हुन् । 

प्रतिष्ठानले विभागीय प्रमुख, विशेषज्ञ चिकित्सक तथा चिकित्सक पद आह्वान गर्दा एक सय ५० भन्दा बढी चिकित्सकहरुले दर्खास्त दिएका थिए । प्रतिष्ठानको डीनमा प्रा डा रेशमबहादुर राना कार्यरत छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवामा २५ वर्षभन्दा बढी सेवा प्रदान गरेका प्रा डा रानाले पछिल्लो समय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा अध्यापन गराउँदै आएका थिए ।

स्त्रीरोग विभागको प्रमुखमा प्रा डा किरण रेग्मी कार्यरत छन् । उनी स्वास्थ्य तथा जनसख्या मन्त्रालयको पूर्वसचिव हुन् ।विश्व स्वास्थ्य सङ्गठनको आकर्षक परामर्श पद त्याग गरी, उनी जुम्ला आएका थिए । प्रा डा सुनिल बुढाथोकी र प्रा डा कमल शर्मा प्रतिष्ठानको बालरोग विभागमा कार्यरत छन् । 

प्रा डा शर्मा  स्वास्थ्य सेवातर्फ ११औँ तहको पदबाट राजिनामा दिइ जुम्ला आएका हुन् भने एमडिजिपी कार्यक्रमको संयोजक पदमा कार्यरत डा तरुण पौडेल स्वास्थ्य सेवातर्फ १२ औँ तहबाट अवकाश प्राप्त चिकित्सक हुन् ।

सोही कार्यक्रममा  कार्यरत डा भोलाराम श्रेष्ठ पनि स्वास्थ्य सेवाको १२औँ तहबाट अवकाश प्राप्त चिकित्सक हुन् साथै उक्त कार्यक्रममा डा निरेश थापा पनि  कार्यरत छन् ।

उनीहरु  तीनै जना एमडिजिपी तथा एमडी हुन् र नेपालका एमडिजिपी शिक्षाका सर्वेत्कृष्ट चिकित्सक मानिन्छन् ।

 

मातृ तथा शिशुमृत्यु दर शुन्य 

 

विगतमा जुम्ला अस्पतालमा दक्ष जनशक्तिको अभावमा सुत्केरी हुन आउने आमाको बच्चा अड्किएर अकालमा धेरैको मृत्यु हुने गर्दथ्यो ।

प्रतिष्ठानले अस्पताल सञ्चालन गरेपछि हालसम्म एक जना पनि सुत्केरी आमाको मृत्यु नभएको जनाएको छ ।

पछिल्लो समय जुम्ला अस्पतालको स्वास्थ्य सेवा उपलब्धताका कारण ती नौ जिल्लाका मातृ तथा नवजात शिशु मृत्युदर तथा समग्र स्वास्थ्यमा सुधार आएको बताइन्छ ।

गत वर्ष अस्पतालबाट ३९ हजार ९ सय ४२ बिरामीले सेवा लिएका थिए ।

तीमध्ये चार हजार ३ सय ४७ जना आकस्मिक उपचार सेवा, दुई हजार ५ सय ९१ जना भर्ना तथा ४ सय ६९ जनाको मुख्य सेवा र  ५ सय ७२ गर्भवती आमाले बच्चा जन्माएका थिए ।

तीमध्ये १ सय २ आमाको मात्र शल्यक्रिया गर्नुपरेको थियो । 

चिसो स्थानमा घाउ निको हुने हुँदा पछिल्लो समय अस्पतालमा अरु जिल्लाबाट पनि सेवा लिन जानेको संख्या बढिरहेको प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईं भन्छन् ।

उनका अनुसार  अस्पतालमा  हड्डी सम्बन्धी सबै जटिल शल्यक्रिया, ल्याप्रोटोमी पेट चिर्ने, एपेन्डिसाइटिस, सिजेरोएन बच्चा निकाल्ने शल्यक्रिया हुन्छ । 

निकट भविष्यमा नाक, कान र  घाँटी सेवाको तयारीमा समेत अस्पताल जुटेको छ । 

 

हाल केके पढाई भईरहेको छ ?

 

तीनसय शैयाको अस्पताल निर्माण भईसकेपछि, प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि, स्वास्थ्य र  बेहोस पार्ने (ऐनेस्थसिया) सहायक  अध्ययन अध्यापन गराइरहेको छ । 

नर्सिङको प्रमाणपत्रतर्फ स्थानीय एक सय जना बढी जनशक्ति उत्पादन भइसकेका छन् । शैक्षिकसत्र विसं २०७५,०७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुआत भएको छ । 

प्रतिष्ठानमा आगामी दिनमा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) को शैक्षिक कार्यक्रम सञ्चालन गर्न पनि बाटो खुला भएको छ ।

यसले कर्णालीको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा सहजता ल्याउने छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय र शिक्षा मन्त्रालयले सो कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानलाई एक वर्षअघि नै स्वीकृति दिइसकेका थिए ।

२०७४ असोज २६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्रतिष्ठानको पाँचौं सिनेट बैठकले प्रतिष्ठानको शैक्षिक कार्यक्रम तथा भौतिक निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको थियो ।
  


०००
 



प्रकाशित: २०७६ आषाढ १८
July 3rd 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्