नेपाली समय: ०६:४३:४७ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

प्राध्यापक संघको सरस्वती सदनमा तालाबन्दीः आर्थिक हिनामिना गरेपछि अध्यक्ष रामेश्वर उपाध्यायको संकट गहिरिदै

निर्माण सञ्चार, १८ असार, काठमाडौं । नेपाल प्राध्यापक संघको चुनावकै अघिल्लो दिन केन्द्रीय कार्यालय सरस्वती सदनमा तालाबन्दी भएको छ ।

अध्यक्ष रामेश्वर उपाध्यायको पक्षले आर्थिक हिनामिनादेखि प्रतिनिधि समेत एकलौटी गरेको भन्दै बाँकी सबै प्राध्यापक संगठनहरुले तालाबन्दी गरेपछि १९ गते बिहीबारदेखि हुने भनिएको प्राध्यापक संघको अधिवेशन फेरि पनि अनिश्चित हुन पुगेको हो ।

विभिन्न मुद्दा उठाउँदै सत्तारुढ नेकपा निकट नेपाल प्रगतिशील प्राध्यापक संठन तथा राष्ट्रिय प्राध्यापक संगठन, राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ, वैद्य निकट प्राध्यापकहरु सहित सबै प्राध्यापक संगठनहरुले संयुक्त वक्तव्य निकालेर सरस्वती सदनमा तालाबन्दी गरेको जनाएका हुन् ।

सबै संगठनका केन्द्रीय अध्यक्ष एवम् प्रतिनिधिहरुले हस्ताक्षर गरेको विज्ञप्तिले अधिवेशन प्रतिनिधि छनौटमा एकलौटी र मनलागी गरेको आरोप सहित विभिन्न माग राखेका छन् । प्राध्यापक संगठनहरुले आर्थिक हिनामिना गरिएको मुद्दालाई चर्काे रुपमा उठाएका छन् ।

रोचक कुरा के छ भने, प्राध्यापक संघका सभापति/अध्यक्ष उपाध्याय ७ वर्षदेखि अधिवेशन गराउन असफल हुँदै आएका छन् र, उनको शाख गिर्दाे अवस्थामा छ । उनी धेरै विषयहरुमा विवादास्पद बन्दै गएका छन् ।

उनको पछिल्लो विवादास्पद छवि बनेको छ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा रहेको प्राध्यापक आवास गृह र सटरहरुको भाडामा आर्थिक हिनामिना गरेको आरोप छ ।

टेन्डर गरी भाडामा लगाइएको सटरहरुको २५ महिनाको भाडा ५० लाख रुपियाँ भाडादारले लामो समयदेखि नतिरेपछि अध्यक्ष उपाध्यायले नै पहिले नै लिएर खाएको खुल्न आएको हो ।

हुँदैन त अधिवेशन ?

यसबारे प्रश्न गर्दा सत्तारुढ नेकपा निकट नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय उपाध्यक्ष प्रा.डा कृष्णप्रसाद न्यौपानेले अध्यक्षले फेरि पनि अधिवेशन गराउन नचाहेको गतिविधिहरुले पुष्टि भएको दाबी गरेका छन् ।

तालाबन्दी पछि प्रा डा न्यौपानेले भने ‘प्रतिनिधि छनोटदेखि आर्थिक गतिविधिहरु कुनै पनि पारदर्शी नभएपछि र एकलौटी भएको पाएपछि बाध्य भएर हामीले सभापतिलाई सच्याउने बाटो समातेका हौं ।’

अधिवेशनको अघिल्लो दिन तालाबन्दी गर्दै प्राध्यापकहरु
उनका अनुसार प्रतिनिधि छनोटमा अध्यक्ष उपाध्यायले व्यवस्था नै नभएका विश्वविद्यालयबाट कुनैबाट प्रतिनिधि आफू निकटकालाई ल्याएका छन् भने कुनै विश्वविद्यालयबाट स्थानीय विश्वविद्यलयबाट वैधानिक रुपमा छानिएर आएका प्रतिनिधिहरुको नाम नै कटौती गरेका छन् ।

प्रतिनिधिका रुपमा पब्लिक तथा प्राइभेट कलेजबाट आएका प्रतिनिधि सहमति बेगर ल्याइएको न्यौपानेको आरोप छ ।

यता कृषि विश्वविद्यालय प्रतिनिधिलाई अध्यक्षले ठाडै अस्वीकार गरेपछि विवाद उत्पन्न भएको छ भने उनले राजर्षि जनक विश्वविद्यालयबाट हुँदै नभएका २ जना प्रतिनिधि बनाएको आरोप छ ।

त्यस्तै, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापकहरुको अधिवेशन गर्न नदिएको पनि तालाबन्दीमा सहभागी प्राध्यापक संगठनहरुको आरोप छ ।

अधिवेशन भोलिदेखि काठमाडौंमा दिउँसो १ बजेदेखि हुने भनिएको थियो । तालाबन्दी पछि अब के गर्ने भन्ने निर्णय लिन नसकेको प्राध्यापक संघका पदाधिकारीको भनाइ छ । 

तालाबन्दी पछि युस्टान महासचिव समेत रहेका उपप्राध्यापक सुदर्शन ढुंगानाले अब प्राध्यापक संघ भित्रको बेथितिको भण्डाफोर गरिने बताए ।

उनले भने, ‘प्राध्यापक जस्तो गरिमामय पदको दुरुपयोग गर्दै संस्थाको आवधिक निर्वाचन पनि रोक्ने आर्थिक हिनामिनामा पनि मुछिरहने र सधै विवादास्पद गतिविधि गर्दै विश्वविद्यालयभित्र प्रदूषण फैलाइरहने पक्षसँग अब नयाँ ढंगले संघर्ष अघि बढाउने उनले बताए ।

 

०००

 

To See front Face Coverage, click here



प्रकाशित: २०७६ आषाढ १८
July 3rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार