नेपाली समय: ०६:४७:५५ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

भारतीय बजेटः पूर्वाधारमा ठूलो लगानी, नेपाल अनुदान दोब्बर, कस्तो पर्छ असर ?

निर्माण सञ्चार, २१ शनिबार, छापा विशेष । सडक तथा रेलवे पूर्वाधारमा ठूलो बजेट विनियोजन गरेको भारत सरकारले आर्थिक वर्ष २०१९–२० को बजेट मार्फत् ‘१०० लाख करोड’ डलर बजेट छुटाएको घोषणा गरेको छ ।

अर्थमन्त्री निर्मला सिथारमणले शुक्रबार सदनमा भनिन्, ‘भारतले पूर्वाधारमा हरेक वर्ष २० लाख करोड खर्चन आवश्यक छ ।’ तर भारतीय विज्ञहरुले भारतले आफ्नो घोषित लक्ष्य भेटाउन २०० बिलियन डलर खर्च गर्न आवश्यक रहेको बताएको छ ।

तर, यतिबेला पूर्वाधारमाथि भारतले लगानी गर्ने क्षमता वार्षिक एक सय १० बिलियन गर्न सक्ने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

०००

हालै भएको निर्वाचनबाट प्रस्ट बहुमत सहितको सरकार बनाएको नरेन्द्र मोदी नेतृत्वको सरकारले दोस्रो कार्यकालको पहिलो बजेट घोषणा गरेको हो । बजेटले विदेशी लगानी र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । 

भारतले आगामी ५ वर्षमा ५० खर्ब अमेरिकी डलरको अर्थतन्त्र बन्ने उच्च महत्वाकांक्षासहितको बजेट घोषणा गरेको छ ।

उक्त लक्ष्य हासिल गर्न स्वदेशी तथा विदेशी लगानी परिचालन गर्ने गरेको छ । बजेटमा रेलमार्ग, जलमार्ग तथा सडक यातायातलाई प्रमुख प्राथमिकता दिइएको छ ।

भारतको इतिहासकै पहिलो महिला अर्थमन्त्री निर्मला सिथारमणले शुक्रबार सदनमा आर्थिक वर्ष २०१९–२० को बजेट प्रस्तुत गरेकी हुन् । 

नेपाल अनुदान दोब्बर

यस अघि चुनावी घोषणा पत्रमा उल्लेख गरे भन्दा दोब्बर अनुदान नेपालका लागि अर्थमन्त्री सिथारमणले नेपाललाई दिने अनुदान रकममा ५० प्रतिशत वृद्धि गरेकी हुन् ।

चुनावअघि ल्याइएको बजेटमा नेपाललाई ७ अर्ब भारतीय रूपियाँ अनुदान दिने प्रस्ताव गरिएकोमा निर्वाचनपछिको सरकारले ५० प्रतिशत बढाएको छ । 

सन् २०१९–२० मा भारतले नेपाललाई अनुदान स्वरूप १० अर्ब ५० करोड भारु अनुदान उपलब्ध गराउने प्रस्ताव अर्थमन्त्री सिथारमणले प्रस्तुत गरेको बजेटले गरेको छ । 

भारतले गत वर्ष सन् २०१८–१९ मा ७ अर्ब ५० करोड भारु उपलब्ध गराएको थियो । त्यस्तै, सन् २०१७ मा ३ अर्ब ७६ करोड ६१ लाख भारु सहयोग गरेको थियो । 

यो शीर्षकमा सबैभन्दा बढी भुटानलाई २८ अर्ब २ करोड भारु अनुदान उपलब्ध गराइएको छ । दोस्रोमा मरिससले ११ अर्ब अनुदान पाउँदै छ भने तेस्रोमा नेपाल छ । नेपालभन्दा पछि रहेको माल्दिभ्सले ५ अर्ब ७६ करोड भारु पाउँदैछ । 

बजेट घोषणामा आउने एक वर्षभित्र साहिबगञ्ज र हल्दियामा आन्तरिक जलमार्गको टर्मिनल बनाउने भनिएको छ । बजेटले भारतको आन्तरिक जलमार्गमा पर्ने साहिबगञ्ज र हल्दियामा सन् २०१९–२० भित्र मल्टिमोडल टर्मिनल निर्माण सक्ने योजना बनाएको छ ।


त्यस्तै, फारक्कामा नेभिगेसनल लक बनाइसक्ने पनि घोषणा छ । यी पूर्वाधार बन्दा नेपालतर्फको आयात निर्यातमा पनि सहजता हुनेछ । साहिबगञ्जसम्म जलमार्गबाट सामान आउँदा त्यहाँबाट खासगरी विराटनगर र झापा आउने कार्गो ल्याउन सहज हुने देखिन्छ । 

भारतले गत नोभेम्बरमै बनारसमा यस्तै मल्टिमोडल टर्मिनल निर्माण गरिसकेको छ । भारतले ५ वर्षभित्र ५० खर्ब अमेरिकी डलरको अर्थतन्त्र बन्ने महत्वाकांक्षी लक्ष्य पूरा गर्न स्वदेशी तथा विदेशी लगानीलाई प्रमुख अस्त्र मानेको छ । 

हाल भारतको अर्थतन्त्र २७ खर्ब अमेरिकी डलरको छ र यही आर्थिक वर्षमा यसको आकार ३० खर्ब डलर पुग्ने अनुमान पनि बजेटले गरेको छ । 

भारतले विदेशी लगानी नीतिलाई यसरी उदार बनाइरहँदा नेपालले हालै पारित गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले भने लगानीमा सीमा तोकेको छ । नेपालले मिडियामा मात्रै होइन, कृषि, डेरी, रियल इस्टेट, खुद्रा व्यापार, पर्यटनलगायत क्षेत्रमा विदेशी लगानी प्रतिबन्ध गरेको छ । 

०००

 

To see front face coverage, click here



प्रकाशित: २०७६ आषाढ २१
July 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार