नेपाली समय: ०४:४६:१५ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

महिनैपिच्छे कालोसूचीमा: यो महिना ५ कन्स्ट्रक्सन फर्मलाई लाग्यो ‘कालो दाग’

निर्माण सञ्चार, २४ असार, काठमाडौं । ठेक्का लिएर काम अलपत्र पार्दै आएका विभिन्न निर्माण कम्पनीहरु हरेक महिना कालोसूचीमा पर्ने गरेका छन् । यो महिना कालोसूचीमा पर्ने ‘सौभाग्य’ पाएका छन् ५ कन्स्ट्रक्सन कम्पनीहरुले ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आयोजनालाई अलपत्र पार्ने ५ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो । कार्यालयले सोमबार सूचना जारी गर्दै ५ निर्माण कम्पनीहरुलाई ब्लाक लिस्टेड गरेको हो ।

ती कम्पनीहरुले लिएका आयोनाहरु अलपत्र छन् । उनीहरुले समयमा काम नगरेको ठहर अनुगमन कार्यालयको छ ।

उनीहरुले गरेको काम हेर्दा निर्माण उद्योगमा कालो दाग लगाउने चरित्रको छ । सडकमा उनीहरुको काम हेर्दा कालोपत्रे गरेकै भोलिपल्ट उप्कने गरेको पाइएको छ ।

खरिद अनुगमन कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरुलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो। 

कुन कुन परे कालोसूचीमा ?

कालोसूचीमा सूचीकृत हुनेमा श्री लोहनी एन्ड ब्रदर रथोदुङगर सुरुची जेभी, लोकवीर एन्ड बेतालीर नेपाल र प्रगति जेभी बुद्धनगरलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै, श्री द कञ्चनजङ्घा–लामा विल्डर्स जेभी बौद्धलाई २ वर्षका लागि कालोसूची पेनाल्टी दिइएको छ। श्री थोदुङ्ग–अजम्बर–शिवराम जेभीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। जिएम कन्स्ट्रक्सन प्रालि गोगंबुलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको अनुगमन कार्यालय बताउँछ ।

कालोसूचीमा परेका निर्माण व्यवसायीहरु उक्त अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउँदैनन् । यस्ता कम्पनीहरुले भविष्यमा पनि काम नपाउने सम्भावना रहन्छ ।

कालोसूचीको अनुपात हेर्दा, गत चैतदेखि यता हरेक महिना २–४ को दरमा निर्माण कम्पनीहरु कालोसूचीमा पर्ने गरेका छन् । अघिल्लो महिना ३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका थिए भने सो भन्दा अघिल्लो महिनामा ८ निर्माण कम्पनी कालोसूचीमा परेका थिए ।

 

०००

 

To See front face coverage, click here



प्रकाशित: २०७६ आषाढ २४
July 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार