नेपाली समय: १०:५०:२० राती
वि.सं २०७६ आश्विन ३   शुक्रवार

‘योगश्चित्तवृत्तिनिरोधः’ जब योगमय बन्यो प्रज्ञाप्रतिष्ठान त्यो क्षण !

निर्माण सञ्चार, शुक्रबार, २७ असार, काठमाडौं । केही समय यता नेपाल प्रज्ञा प्रतिष्ठानमा फरक वास्ना चलिरहेको छ ।

विशेष गरी नेपाल र नेपाली माटो चिनाउने नेपाली दर्शनदेखि नेपाल सरहदभित्रका फुलेका हजारौं फूलहरु (भाषा, दर्शन, संस्कृति, कला, साहित्य आदि) लाई एकै थलोमा सहभागी गराउने र फलाउने फुलाउने कार्यमा प्रतिष्ठानले आफूलाई नयाँ धरातलमा उभ्याउन खोजेको सन्देश दिएको छ ।

यी सबै प्राज्ञिक कार्यले गर्दा प्रतिष्ठानमा फरक वास्ना प्रवाह भएको हो । 

आजको शैली, संस्कृति र संस्कारयुक्त प्रज्ञाको माग गर्दै कुनै बेला साहित्यकार पारिजातहरुले तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको विरोधमा संघर्ष गरेका इतिहासका पानाहरु पल्टाउने हो भने आजसम्म आउँदा प्रज्ञाले लिएको जनमुखी र जनपक्षीय काममा कति उचाइ लिएको छ भन्ने कुराले यस वास्नाको पृथकता मापन गर्न सकिन्छ ।

योगश्चित्तवृत्तिनिरोधः

गत २२ गते आइतबार एकेडेमीमा यौटा योगमय फूल फुल्यो । प्रतिष्ठानको दर्शन विभागको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत प्राकृतिक योग चिकित्सा प्रशिक्षक डा हरिप्रसाद पोखरेलले त्यसमा सुवास भर्ने काम गरे ।

पूर्वीय ज्ञान तथा विज्ञान पद्धतिमा योग दर्शन नै यस्तो ज्ञान शाखा भित्र पर्दछ जसले दर्शन वा ज्ञानका नाउँमा सैद्धान्तिक तर्क मात्रै गर्दैन, अपितु योग जीवन विज्ञान र दैनन्दिन अभ्यासमा समेत ‘रिफ्लेक्ट’ हुन सक्छ ।

त्यही दर्शनलाई योगाभ्यास सहित प्रतिष्ठानको उक्त गोष्ठीमा देखाउँदा सहभागीहरुले फरक स्वाद महसुस गरे ।

साहित्यमा नाटक विधा जस्तै, दर्शनमा योग मञ्चनीय छ । श्रव्य, दृश्य, स्पश्र्य हुनुका साथै घ्राणेन्द्रिय, रसनेन्द्रिय तथा छैठौं इन्द्रिय मन–मस्तिष्क समेत प्रयोग हुन्छ योगाभ्यासमा ।

जुन कुरा एकेडेमीको उक्त गोष्ठीको एकै थलोमा प्रयोग भयो ।

अन्य गोष्ठीहरु भन्दा यो यसर्थमा फरक भयो, कि जसमा मस्तिष्क बढी सक्रिय हुनु पथ्र्यो, भाषण र वाचनमा स्वरहरु गुञ्जिन्थे, दर्शनकै कुरा आए रौंचिरा पाराले मानिसहरु घोत्लन्थे ।

तर, योग यस्तो दर्शनको प्रयोग त्यहाँ भयो, अभिनयात्मक हुँदा दर्शन र सिद्धान्तले नै मूर्त रुप लिएर मानौं मानिसहरुलाई आफूमा समाहित गरिरहेको थियो ।

योगदर्शन मात्र नभई जीवनशैली र स्वास्थ्य विज्ञानको सेतु

प्रज्ञाका सदस्य सचिव तथा दर्शन विभाग प्रमुख प्राध्यापक जगत् प्रेक्षितका अनुसार दर्शन विभागले वर्षभरि गरेका विभिन्न गतिविधिहरुकै निरन्तर शृंखला अन्तर्गत ‘योगदर्शन, जीनशैली र स्वास्थ्य’ विषयक गोष्ठी गरिएको हो । तर, यही गोष्ठी चाहिँ फरक स्वादको गोष्ठी हुन पुगेको थियो ।

उक्त ‘योगदर्शन, जीवनशैली र स्वास्थ्य’ विषयक विचार गोष्ठीमा आमाछोरी रहेका दुर्गा पन्त र स्वस्तिका पन्तले विभिन्न योगाशनहरुका ‘पोस्चर’ प्रस्तुति गर्दा सहभागीहरुका मोबाइलदेखि क्यामेरा र आँखाहरु उनीहरुले नै खिच्न सफल भएका थिए । 

सहभागीहरुले फरक स्वादको कारण बनेको थियो उक्त योगाभ्यास । सधै भारतीय योग गुरु रामदेवलाई मात्र देख्दै आएका नेपालीहरुलाई नेपाली महिलाहरु पनि योग गुरु हुन सक्छन् भन्ने देख्दा नौलो लागेको थियो ।

तर, नेपाल भूमि नै योगमय भूमि हो भन्ने चिनाउन सम्बन्धित पक्षले आजसम्म नै सकेको छैन ।

प्रज्ञाका एघार विभाग मध्ये दर्शन विभाग पनि एक हो । जसले वर्षभरि ६ वटा दर्शन सम्बन्धी कार्यशालाहरु सम्पन्न गरिसकेको छ ।

यस अघि मानवतावादी दर्शनलाई जोडेर विभागले नेपाल धर्तीले जन्माएका दुई दार्शनिक गौतम बुद्ध र जय पृथ्वी बहादुर सिंहको योगदान विषयक अन्तक्र्रिया गोष्ठी सम्पन्न गरेको थियो ।

त्यस अघि पनि विभिन्न विषयहरु, जुन नेपाली भूमिमा जन्मे, हुर्के र फैलिए, ती ती दर्शन परम्पराहरुको खोज तथा प्रकाश गर्ने सोच सहित गोष्ठीहरु सम्पन्न भएको विभाग प्रमुख प्रेक्षित बताउँछन् ।

नेपालमै जन्मी हुर्केका शैव, बौद्ध, शाक्त, विभिन्न तन्त्र सम्बन्धी दर्शन विमर्शहरु पनि प्रज्ञाले यसै वर्ष सम्पन्न गरेको छ ।

त्यस्तै, नेपाली वाङमयमा दर्शन दृष्टिकोण समेत दिएका बालकृष्ण समको नियमित आकस्मिकता विषयमा पनि गोष्ठी सम्पन्न भएको थियो ।

नेपाली माटोले जन्माएका पूर्वप्राचीनदेखि वर्तमानसम्मका दर्शनहरु जनसमक्ष ल्याउने

दर्शन विभाग प्रज्ञा प्रतिष्ठानका अनुसार विभागले यही वर्षदेखि नेपाली दर्शन के हो भन्ने कुरा प्रकाशन गर्दै छ ।

नेपाल चिनाउने कुरामा पछिल्ला दिनमा जनमानस र बौद्धिक तहमै भइरहेका भ्रमहरु निवारण गर्ने महाअभियानमा प्रतिष्ठान लागेको छ । 
सदस्य सचिव प्रा प्रेक्षितले भने, ‘अब एकेडेमीले नेपाली माटोले जन्माएका ऋग्वेददेखि, पूर्वप्राचीन, उपनिषद्देखि पौराणिक र वर्तमानसम्मका दर्शन, भाषा, विज्ञान, ज्ञानहरु जनसमक्ष ल्याउने तयारी गरिरहेको छ ।’

सांख्य प्रवर्तक कपिलदेखि आदि भाषावैज्ञानिक पाणिनि, संस्कृतिका आदि कवि वाल्मीकिदेखि नेपाली भाषाका आदि कवि भानुभक्त, मैथलीका विद्यापतिदेखि तामाङ, राई, लिम्बु, गुरुङ, त्यस्तै, त्यस अघिका याज्ञवल्क्य, गौतम बुद्ध, शिवदेखि आधुनिक युगका विचारधारात्मक पुरुषहरुमा योगमाया, पुष्पलाल, विपि कोइराला, मदन भण्डारीसम्म नै नेपाली दर्शन दिग्दर्शनको विषय रहेको भन्दै तिनलाई उजागर गर्ने कार्यमा प्रतिष्ठान लागिपरेको छ ।

साथै, मेचीदेखि कालीसम्म रहेका विभिन्न जातजाति समूह, तीभित्र रहेका जीवनोपयोगी ज्ञान, भाषा, संस्कृति, तन्त्र र चिकित्सा समेतलाई प्रतिष्ठानले आउने दिनमा लिपिबद्ध गरेर मुलुकलाई दिने भएको छ ।

जुन कुराको अभावमा नेपाली संस्कृति सबै भारत परस्त संस्कृति हो कि भन्ने भ्रम चिर्न सफल हुने प्राज्ञहरुको दाबी छ । 

पछिल्ला दिनमा नेपालमा संस्कृत विश्वविद्यालयका प्राज्ञहरुले समते हिमवत् खण्ड, मानस खण्ड, स्कन्द पुराण अन्तर्गतको नेपाल महात्म्यहरु प्रकाशन कार्यमा तीव्रता दिएका छन् ।  

जुन अति दुर्लभ र भारतबाट प्रकाशित हुने पौराणिक ग्रन्थहरुमा प्रकाशित गरिदैनन्, तिनलाई प्रकाशनमा ल्याउने काम भइरहेको छ ।

यही सिलसिलामा नेपाल सरकारले केही महिना अघि नेपालमा हिमबत खण्ड कला साहित्य सम्मेलन समेत गरेको थियो ।

‘यी सबैको योगदान नेपालको स्वत्व, सार्वभौमिकता चिनाउनमा कोसे ढुंगा बन्ने छ भन्ने नै हामीलाई विश्वास छ,’ एक प्राज्ञले भने ।

पछिल्ला दिनमा नेपालीहरु नै नेपाली जाति र यसको स्वतन्त्र अस्तित्वमाथि नै भ्रममा पर्न थालेका छन् भन्ने आलोचना छ । आलोचकहरुका अनुसार यसको कारण पश्चिमा र भारतीय बौद्धिक ‘हेजेमोनी’ हो ।

यसैले थिचिएका नेपाली भ्रान्त बौद्धिकहरुले गर्दा आम जनमानस समेत ‘मिसगाइडेड’ भइरहेको प्रगतिशील बुद्धिजीवीहरुको एउटा पंक्तिको बुझाइ छ ।

यसलाई चिर्न वैधानिक रुपले नै काम सुरु भइसकेको दर्शनविद् विष्णु प्रभात बताउँछन् । उनका अनुसार प्रज्ञाप्रतिष्ठानले यस अभियानको सूत्रपात केही समय अघिदेखि आरम्भ गरिसकेको छ ।

योगमय कार्यक्रमबारे थप

योगमय बनेको उक्त कायक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी रहेका थिए ।

जोशीले योगलाई सबैले अनुसरण गर्न सके लाभदायी हुने विचार व्यक्त गर्दै भने, ‘योगलाई संस्कृतिसँग जोड्नु पर्छ ताकि सर्वसाधारणको जीवनमा समेत यसले परिवर्तन ल्याओस् ।’

उनले संस्कृतिबिनाको योग खल्लो हुने बताएका छन् ।

प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले गोष्ठी ज्ञानमूलक भएको भन्दै मानिसको जीवनमा योगको ठूलो महत्व रहने बताएका थिए ।

उनले, योगले स्वस्थ जीवनका साथै जीवनलाई विभिन्न कोणबाट हेरिनुपर्छ भन्ने कुराको ज्ञान दिने बताए ।

प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शनशास्त्र विभाग प्रमुख प्रा प्रेक्षितले योगदर्शन नेपाली दर्शन भएको सप्रमाण व्याख्यान दिएका थिए ।

बदलिँदो जीवनशैलीका कारण पनि योगबारे प्रशस्त विचार–विमर्श गरिर्दै जीवनोपयोगी पक्षहरु दैनन्दिनमा उतार्नु पर्ने उनको भनाइ थियो ।

योगदर्शनले मानिसको मन र शरीरलाई संयोजन गर्ने उनको दाबी छ ।

मातापुत्रीद्वय दुर्गा पन्त र स्वस्तिका पन्तले योगकला प्रदर्शन गर्दा दुनियाँ छक्क परेका थिए
सदस्य सचिव प्रेक्षितले प्रतिष्ठानले चाँडै नै पचास जति दर्शनका विषयलाई समेटेर ‘नेपाली दर्शन’ नामक ग्रन्थ प्रकाशनको तयारी गरेको जानकारी दिएका हुन् । 

योग तथा प्राकृतिक चिकित्सक डा हरिप्रसाद पोखरेल कार्यक्रममा ‘मानसाग्नि’ ले  ‘योगदर्शन, जीवनशैली र स्वास्थ्य’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमा योग शब्दको अर्थ, योगदर्शनको उदय र विकास, योगको परम्परा, नेपाली सभ्यता र योग, यौगिक जीवनशैली र स्वास्थ्यका बारेमा प्रकाश पारिएको थियो ।

कार्यपत्रमाथि प्रा डा नन्दबहादुर सिंह, दीर्घराज प्रसाईं, इन्दिरा ढकाल लगायतले समालोचना गरेका थिए ।

दर्शनशास्त्र विभाग सदस्य विष्णु प्रभातले विषयवस्तुबारे प्रकाश पारेका थिए भने योगयात्री विष्णु गिरीले नाकबाट पानी पिएर प्रदर्शनी गरेका थिए ।

मातापुत्रीद्वय दुर्गा पन्त र स्वस्तिका पन्तले योगकला प्रदर्शन गर्दा दुनियाँ छक्क परेका थिए । कार्यक्रम सञ्चालन राधा कार्कीले गरेकी थिइन् । 

 

 

०००
 

 

To see front face coverage, click here



प्रकाशित: २०७६ आषाढ २७
July 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार