नेपाली समय: ०१:००:३६ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

बाढीपहिरो अपडेट: १७ को मृत्यु, ७ बेपत्ता, देशैभर कहाँ कस्तो छ अवस्था ?

निर्माण सञ्चार, शुक्रबार, २७ असार, काठमाडौं । गए २ दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गरी १७ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार यतिबेलासम्म देशैभरबाट ७ जना भने बेपत्ता छन् ।

प्रहरी स्रोत अनुसार ज्यान गुमाउने जिल्लाहरुमा हालसम्म सिन्धुली, धादिङ, रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, मकवानपुर र पर्सामा गरी १७ जनाको ज्यान गइसकेको छ ।

घटनाको विवरण दिदै प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ, ‘अहिलेसम्म सबैभन्दा बढी ज्यान जाने जिल्लामा काठमाडौंमा ३ र खोटाङमा ३ रहेका छन् ।
एसपी रमेश थापाका अनुसार बाढी र पहिरोका कारण अहिलेसम्म ७ घाइते छन् भने ४ को उद्धार गरिएको छ ।

प्रहरी तथा सेनाको उद्धार जारी 

थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा त्यही ठाउँमा रहेको प्रहरी कार्यालय, स्थानीय तथा सेना समेतले उद्धार कार्य जारी राखेका छन् ।  

सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र यतिबेला काठमाडौं र तराईका विभिन्न जिल्लाहरु रहेका छन् । वीरगन्ज लगायत क्षेत्र डुबानमा छन् भने झरी अझै नरोकिनाले जनमानसमा त्रास बढिरहेको छ ।

झरी अझै २ दिनसम्म पर्ने

देशैभर सतर्क रहन अपिल गरेको गृहमन्त्रालयले जल तथा मौसम पूर्वानुमान महाशाखालाई उद्धृत गर्दै अझै २ दिनसम्म झरी पर्ने बताएको छ ।

बाढी पहिरो कहाँ कस्तो क्षति ?

अविरल वर्षाका कारण यतिबेला हालसम्म ३९ वटा जिल्लाहरुमा प्रभावित रहेको प्रहरी स्रोतका दाबी छ ।

प्रहरीको विवरण अनुसार हालसम्म बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा २ को मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् भने घटनामा बुहारी ३० वर्षीया शुशिला र ३ महिने नातिनी अनुश्का घाइते छन् ।

त्यस्तै, रामेछापमा पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । भोजपुरमा पानीको भेल घरभित्र पसेर पर्खाल भत्कदा बासिखोराका ६६ वर्षीय जगतबहादुरको ज्यान गएको छ ।

त्यस्तै, भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक बिकको शौचालय जाँदा पहिरोले पुरिएर मृत्यु भएको छ । 

काठमाडौं, ललितपुरमा के कस्तो क्षति ?

प्रहरीले जनाए अनुसार उपत्यकाका तिनै जिल्ला बाढी प्रभावित छन् । काठमाडौंको कलंकी सहित नदी किनाराका बस्तीहरु डुबानमा छन् । काठमाडौंमा ३ को ज्यान गइसकेको छ । घरको पर्खाल भत्किँदा मूलपानीमा एकै परिवारका ३ को मृत्यु भएको हो । 

बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको हो ।

त्यस्तै, ललितपुरमा १ को मृत्यु भएको छ । पहिरोले पुरिँदा ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

यता भक्तपुरमा हनुमन्ते नदीको बहाब बढेको छ । उच्च सतर्कता अपनाउन सरकारको आग्रह छ । बाढीले एक जनालाई बगाएको खबर छ ।

उपत्यका बाहिर 

पर्सामा बाढीले बगाएर पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका बालक  निखिल पटेलको ज्यान गएको छ । मकवानपुर थाहा नगरपालिका– ३ की बालिका सञ्चना बलामीको बाढीका कारण मृत्यु भएको छ ।

प्रहरीले प्रदान गरेको शुक्रबार बिहानदेखि बेलुकी ७ बजेसम्मको क्षति र उद्धारको विवरण


०००

पढौं यो पनि
वर्षा अपडेटः अहिलेसम्म देशैभर ६ को मृत्यु, तर यसरी डब्यो काठमाडौंको कलंकी !

 



To see front face coverage, click here



प्रकाशित: २०७६ आषाढ २७
July 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार