नेपाली समय: ०९:२२:५५ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

उद्धारका लागि सेना परिचालनः ३० हजार प्रहरी मैदानमा, पूर्व पश्चिम राजमार्ग अझै ठप्प !

निर्माण सञ्चार, २८ असार, काठमाडौं । अविरल वर्षाको कारण विपद पीडितहरुको उद्धारका लागि सेना सहित सशस्त्र प्रहरीको विशेष टोली उद्धार र राहतका लागि मैदानमा परिचालित छन् ।

पछिल्लो घण्टामा उद्धारका लागि सैनिक पृतनाहरु नै उत्रिएका छन् । प्रहरी तथा स्थानीय सहित तत्तत् स्थानमा रहेका सैनिक पृतना बाढी तथा पहिरो पीडितको उद्धार तथा राहतमा उत्रिएको सैनिक पृतनाहरुले जनाएका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा सम्बन्धित पृतना, बाहिनी, गण र गुल्मबाट आवश्यक उद्धार सामग्रीसहित सैनिक टोली रेस्क्युमा उत्रिएको हो ।

निर्देशनालयले दिएको जानकारी आवश्यक परे थप उद्धारका लागि अनुसार सुर्खेत, इटहरी र काठमाडौंमा हेलिकोप्टर स्ट्यान्डबाई छन् भने देशभरका प्रत्येक गणबाट १०५ जना र गुल्ममा ३० जनाको टोली स्ट्यान्डबाई छन् ।

आपतकालीन उद्धारका लागि अमेरिकाबाट प्राप्त  चार याकोर ब्रिज समेत सेनाले स्ट्यान्डबाई राखेको जनाएको छ ।

यस अघि नै स्थानीय विभिन्न ठाउँमा सेनाले स्थानीय प्रहरी सहित भई उद्धार कार्यमा जुटिरहेको छ । यस अघि राजमार्गमा पुल तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सेना सहयोगी बनेको छ । 

यतिबेला सेनाको टोली उद्धार सामग्री सहित पूर्वी, मध्यपूर्वी, उपत्यका लगायतका क्षेत्रमा उद्धार टोली खटिरहेका छन् ।

डुबानमा परिचालनः कहाँ कति ?

डुवान प्रभावित क्षेत्रहरुमा सेना, प्रहरी र सशस्त्र प्रहरीहरु उद्धारमा उत्रिएका छन् । काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ प्रहरी खटिएका छन् भने देशैभरमा ३० हजार ३ सय ८० जना प्रहरी उद्धारमा खटेको प्रहरीले बतायो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ६ हजार ३०५, प्रदेश २ मा ५ हजार ७०२, प्रदेश ३ मा ३ हजार ४०५, प्रदेश ६ मा ३ हजार ११२ प्रहरी परिचालन भएको छ । 

बाँकी प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ मा दैविक विपत्तिको अवस्था हेरेर आवश्यकताअनुसार प्रहरी परिचालन गरिने बताइएको छ । 

प्रहरी अनुसार, ८ वटा बाहिनीमा ५० जनाको टिम, गणहरुमा ३५ जनाको टिम र गुल्मलगायत अन्य साना कार्यालयहरुमा १० जनाको टिम स्रोतसाधनसहित स्ट्यान्डबाई रहेको छ । 

उद्धारमा प्रभावकारिता 

सबैभन्दा बढी प्रभावित क्षेत्रमा सेना र प्रहरीको उद्धार कार्य पनि प्रभावपूर्ण रहेको देखिन्छ । सेना र प्रहरी टोलीले डुबान प्रभावित महोत्तरीका ५ सय सर्वसाधारण र रौतहटका २ सयको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न सफल भएको छ ।

हालसम्म सशस्त्र प्रहरीले बाढी र पहिरोबाट अलपत्र परेका ८ सय बढीको उद्धार गरिसकेको प्रहरी स्रोत बताउँछ ।

पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा बाटो बन्द छन् । तापनि स्थानीय सडकहरुको पहिरो पन्छाउनेदेखि बन्द सडकहरु समेत खुलाउन प्रहरी र सेना परिचालित भएका छन् । 

केही स्थानमा बाटोहरू पनि सुचारु पनि भएको छ ।

अवरुद्ध बाटो कहाँ खुलायो सेना र प्रहरीले ?

प्रहरी स्रोतले दिएको जानकारी अनुसार हेटौंडाबाट काठमाडौं आउने सम्पूर्ण बाटो यतिबेला खुला गरिसकेको छ । 

गत बिहीबारदेखिको वर्षाका कारण यस सडकका विभिन्न स्थानमा पहिरोले बाटो अवरुद्ध गरेको थियो । 
 
विपी राजमार्गका विभिन्न स्थानको पहिरो पन्छाउँदै बाटो खुला गरेको छ भने धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० बादरे मोडस्थित पृथ्वी राजमार्ग, नारायणगढबाट काठमाडौं आउने बाटो पनि शसस्त्र प्रहरी र सेनाले संयुक्त रुपमा खुला गराएका छन् ।

त्यस्तै, बारा जितपुर सिमरा उपमानगरपालिका–२२ स्थित महेन्द्र राजमार्ग, मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड पनि खुलाइएको छ ।

सैनिक जनसम्पर्क कार्यालय अुनसार इलाम सूर्योदय नगरपलिका–९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड, दैलेख गुराँस गाउँपालिका–२ स्थित तल्लो डुङ्गेश्वर सियाकोट सुर्खेत सडकखण्डको अवरोध र धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथको पहिरो प्रहरीले हटाएको छ ।

पूर्व पश्चिम राजमार्ग अझै ठप्प ?

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको पुल बगाए पछि भने यो राजमार्ग अवरुद्ध नै छ । भब्सी खोलाको पुल बाढीले बगाएको हो । जसले गर्दा ४० हजार परिवारका दुई लाख स्थानीय प्रभावित भएको स्थानीय प्रहरीको भनाइ छ ।

यहाँ, महेन्द्र राजमार्गको महोत्तरीको बर्दिबासस्थित भप्सी पुल गए राति पौने १ बजेतिर बाढीले बगाएको थियो ।

पुलको बीच भाग बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निशान थापाको भनाइ छ ।

 

०००

पढौं यी पनि

 

 

To see front face coverage, click here
 



प्रकाशित: २०७६ आषाढ २९
July 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार