नेपाली समय: ०९:२६:३३ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

प्रांगारिक कर्णाली आयातित तरकारीको भरमा

निर्माण सञ्चार, २९ असार, काठमाडौं । नेपालमा भारतबाट वर्षेनी अर्बौको विषादीयुक्त तरकारी नेपालमा आयात हुन्छ ।

भारतका विभिन्न ठाउँबाट आयातीत विषादीयुक्त तरकारी देशका सातवटै प्रदेशमा पुगेका छन् । 
अर्गानिक प्रदेशको नारा घन्काएको कर्णालीमा भारतको विषादीयुक्त तरकारी छाएको छ ।

भने, १४ औ जिल्ला परिषदबाट प्रांगारिक जिल्ला घोषणा भएको जुम्ला लगायत कर्णाली भारतीय विषादी युक्त तरकारीबाट अछुतो रहन सकेको छैन् ।  

हिजो आफ्नै उत्पादनमा आत्मनिर्भर, अर्गानिक कृषिको हब बनाउने भनेको साविक कर्णालीको हिमाली क्षेत्र पनि विषादी तरकारीको भुमरीबाट शुद्ध रहन सकेको छैन ।

जसले गर्दा आम नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ ।

कर्णालीका १० वटै जिल्लामा आयातीत तरकारी नपुगेको ठाँउ छैन ।

विशेषगरी कालिकोट, जुम्ला र मुगुमा भने आयातीत तरकारीले बजार भरिभराउ छ । 

विदेश जाने, कालापहाड जाने र जग्गा बाझै राख्ने प्रबृत्तिले गर्दा परनिर्भरता बढ्दै गएको छ ।

पश्चिम नाग्म देखि पुर्वको जुम्ला सदरमुकामका सिंजा क्षेत्रका विभिन्न ठाउँमा पर्ने साना ठुला मण्डी तथा पसलहरु आयातीत तरकारीले भरिभराउ छन् ।

खेतीयोग्य जमिन बाझै छन्, खेती किसान गर्ने सबै विदेश कालापहाडमा छन्, बाहिरको तरकारी ल्याउनु बाध्यता छ, स्थानीय लोक बहादुरले भने, आयातीत तरकारी बिना कर्णालीका भान्सा चल्दैन्, यसलाई विडम्बना भनौकी बाध्यता । 

यहाँको उत्पादन बजार, आयात हुने अबस्थालाई मध्यनजर गरी हेर्दा कर्णालीमा ५ प्रतिशत मात्रै आफ्नो बारीमा तरकारी फलाउने गर्छन् ।

भने बाँकी ९५ प्रतिशत तरकारी बाहिबाटै तरकारी भित्रिन्छ ।

आफ्नै ठाउँको अर्गानिक तरकारी महंंगो भन्ने स्वास्थ्यको ख्याल नगरी आयातीत विष खाने बानीले प्रांगारिक जिल्ला विषाक्त तरकारीको शिकार बनेको किसानहरुको गुनासो छ । 

यसरी भारतीय तरकारीको आयातले कर्णालीका साना ठुला व्यापारिक पसल भरिरहँदा  स्थानीय स्तरमा तरकारी नै उत्पादन नभएको भने होइन ।

केही परिमाणमा भए पनि किसानले स्वच्छ र प्राङ्गारिक तरकारी उत्पादन गरेकै छन् ।  जुम्लाका विभिन्न ठाउँमा वर्षौदेखि अर्गानिक तरकारी खेती गर्दै आएका किसानहरु छन् । 

तर बिडम्बना स्थानीय स्तरमा उत्पादन भएका तरकारीले बजार नपाउँदा कर्णालीका किसानलाई घरघरमा पुगेर तरकारी बेच्नुपर्ने बाध्यता छ ।

न बेचौ बारिमै कुहिन्छ, बेचौ महंगो भन्छन्, बाहिरबाट आएको तरकारी किन्ने बानी बसेकाले आफूहरुले उत्पादन गरेको तरकारीले बजार पाउन नसकेको जुम्लास्थित तिला गाउँपालिका ३ का व्यवसायीक किसान कर्णबहादुर हमालले  बताए । 

उनले हामी पाँच जनाको समुह मिलेर घरमै  व्यवसायीक रुपमा अर्गानिक ताजा तरकारी उत्पादन गरेका छौ ।

यहाँका नागरिकमा यहि तरकारी किनेर खानुपर्छ भन्ने मानसिकता छैन् ।

उनले थपे, आफैँले उत्पादन गरेको प्रतिकेजी रु ८० को तरकारी अहिले घर घरमा पुगेर रु ३० र ४० मा बेच्नुपर्ने बाध्यता छ ।

तरकारी नबेच्दा त्यही रुपैयाँ पनि नआउने डर त छदैछ ।

यस विषयमा न सरकार न अन्य सम्बन्धित सरोकारवालाले ध्यान दिन सकेका छन् भन्दै गुनासो गरे । 

 

अर्गानिक तरकारीले बजार पाउँदैन

 

काउली, बन्दा, आलु, फर्र्सी, गोलभेँडा, काँक्रा, मूला, गाँजरलगायत आफूले उत्पादन गरेका तरकारीले बजार नपाउँदा गाउँमै पुगेर न्यूनतम मुल्यमै बिक्री गर्नु पर्दा श्रम अनुसारको पनि मुल्य नआउने अवस्था छ ।

यहाँका स्थानीयको आफ्नै ठाउँमा उत्पादन भएको तरकारी किनेर खाने बानी छैन ।

अर्का स्थानीय किसान नरबहादुर रावतका अनुसार तराईबाट आउने तरकारी सस्तो पाउने भएकाले उपभोक्ताले त्यही किन्ने गर्छन् ।

आयतित तरकारी विषादीयुक्त छ, त्यसले शरीरमा प्रतिकुल असर पार्छ, आयातीत तरकारी खानु नै विष खानु हो भन्ने चेतना धेरै उपभोक्तालाई  छैन ।

उनीहरुको आँखा अर्गानिक स्वास्थ्यका लागि फाईदा भन्दा पनि सस्तोमा मात्र जान्छ,  आयातित तरकारीले स्थानीय तरकारीलाई  विस्थापन गरेको छ । 

अर्गानिक जिल्ला घोषणा गरिसके पनि कार्यान्वयनका आफ्नै चुनौती हुँदा स्थानीय उत्पादनले बजार पाउन नसकेको उनको भनाई छ ।

कर्ण हमाल, दिपेन्द्र हमाल लगायत पाँच जना युवाले  सामुहिक व्यवसायीक कृषि खेतीबाट क्विईन्टलका हिसाबले तरकारी उत्पादन गर्छन् ।

तर कुनै वर्ष कुहिएर जान्छ, भने कुनै वर्ष विक्री हुदैन, कहिले रोगले सकाप पार्छ ।

यी विभिन्न जोखिमले गर्दा निकै निरासा छाएको उनले बताए । 

आयातीत तरकारीलाई रोक्ने, परिक्षण गर्ने सयंन्त्र प्रभावकारी नहुँदा गाउँका किसान मर्कामा परेको तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले बताईन ।

उनका अनुसार हिमालमा उत्पादन भएको तरकारी तराई पठाउँदा बीचैमा कुहिएर जाने समस्या रहेको छ ।

संकलन केन्द्र स्थापना गरी मौसम र बेमौसमी दुवै समय बाटोमा महीनौँ दिन लगाएर आउँदा पनि नकुहिने प्रविधिका बारेमा उपभोक्ता सबैलाई सचेतना गर्नुपर्ने बताईन ।

विषादी मिश्रित तरकारी तथा खाद्यवस्तुको जानकारी, कृषि क्षेत्रको विकास र कृषि पेशालाई सम्मानित बनाउन नसकिए सम्म परनिर्भरता बढ्ने उल्लेख गरिन ।

त्यसैले कृषि र युवा रोजगारसँग केन्द्रित कार्यक्रमलाई प्राथमिकताका साथ लैजान सकेमात्र हाम्रो आत्मनिर्भरता बढ्नेमा उनको जोड छ ।

यसका लागि किसानलाई कृषि पेशामा लाग्न उत्साह हुने वातावरण सबै तहका सरकारले सिर्जना गर्नुपर्ने उनको भनाई छ । 

आयातीत तरकारीमा रोक लगाउन नसकिए अर्गानिक तरकारीले बजार पाउने सम्भावना नै छैन ।

कृषि ज्ञानकेन्द्रका कृषि विज्ञ बालकराम देवकोटाका अनुसार सिजन भन्दा अफ सिजनमा कर्णालीमा तरकारी बढि आयात हुन्छ ।

मौसमी बेमौसमी तरकारी उत्पादनका कार्यक्रममा स्थानीय सरकारले जोडदिनुपर्ने उनको सुझाब छ । 



०००



प्रकाशित: २०७६ आषाढ २९
July 14th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्