नेपाली समय: ०५:०६:०८ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

गौतमबुद्ध विमानस्थल म्याद थप प्रकरणः पुस १६ सम्मका लागि किन थपियो तेस्रो पटक ?

निर्माण सञ्चार, आइतबार, २९ असार, काठमाडौं । चाँडै सकिदै गरेको भनी प्रचार गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तोकिएको अवधिमा सम्पन्न हुन नसकेपछि तेस्रो पटक पनि म्याद थपिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आउने पुस १६ २०७६ सम्मका लागि म्याद थप गरेको जनाएको हो । त्यस अघि यसअघि २८ जुन २०१९ सम्म सक्ने लक्ष्य निर्धारण गरी दोस्रो पटक म्याद थपिएको थियो । 

जुन २८ मा निर्धारित काम नसकेपछि झन्डै १ महिना ढिला गरी म्याद थप गरिएको हो । त्यस अघि पनि तोकिएको समयमा निर्माण कार्य नसकेपछि म्याद थप गरिएको थियो । 

डिसेम्बर २०१७ मै सकिने लक्ष्य सहित ठेक्का सम्झौता भएको उक्त विमानस्थल निर्माण सम्पन्न नभएपछि १८ जुन २०१८ सम्म थप गरिएको थियो । 

थपेको समयमा त्यतिबेला पनि काम सम्पन्न नभएपछि २८ जुन २०१९ सम्म पुराइएको सो निर्माण कार्यका लागि यो तेस्रो पटक म्याद थपिएको छ ।

म्याद थप गरिएबारे पुष्टि गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण निर्देशक प्रदीप अधिकारीले भने काम सम्पन्न गर्न समय थप गर्नै पर्ने भएकाले म्याद थप गरिएको हो ।’

गौतम बुद्ध तथा पोखरा विमान स्थलको धावन मार्ग भने निर्माण भइसकेको अवस्था छ । राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये पछिल्ला दिनमा तीव्र गतिमा काम भइरहेका यी दुई परियोजना हुन् ।

तर, गौतमबुद्ध विमान स्थल निर्माणका लागि ठेक्का सम्झौता गर्दा पर्याप्त समय नराखेका कारण पटक पटक म्याद थप गर्नु पर्ने ठाउँमा सरकार र निर्माण कम्पनी पुग्नु परेको देखिन्छ ।

थप गरिएको अवधि भित्र काम सम्पन्न हुन्छ कि हुँदैन भन्ने प्रश्नमा अधिकारीले थपिएको अवधि भित्रै आयोजना सम्पन्न हुने जिकिर गरे ।

म्याद थप गरिए पनि आयोजनाको लागत नबढाउने सर्तमा म्याद थप गरिएको उनको भनाइ छ ।

धावन मार्ग निर्माणमा उल्लेख्य प्रगति गरेको यो विमान स्थल निर्माण क्रममा भने धेरै उतार चढाव पार भएका छन् ।

सुरुमा भूकम्प लगत्तै भारतीय नाकाबन्दी जस्ता समस्याले त्यतिबेला निर्माण सामग्री नपाउँदा म्याद थप गर्नु पर्ने ठाउँमा आयोजना पुगेको थियो ।

पछि कामकै सिलसिलामा स्थानीय र निर्माण कम्पनी बीचको असहमति बढेपछि पनि एक चरणमा आयोजना निर्माण ठप्पप्रायः बनेको थियो । 

उक्त विमानस्थल निर्माणमा चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुप संलग्न छ ।

यो विमानस्थल निर्माणका लागि एसियाली विकास बैंक (एडिबी) ले नेपाल सरकारलाई सहुलियतपूर्ण ऋण प्रदान गरेको छ ।

सम्झौता अनुसार यो विमानस्थल ३१ डिसेम्बर २०१४ बाट निर्माण आरम्भ भएको थियो ।

६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपियाँ लागत सहित अघि बढेको निर्माण कार्य जग्गा अधिग्रहण क्रममा भने सोचे भन्दा ठूलो रकम लगानी हुन गएको थियो ।

कति भयो प्रगति ?

यस अघि स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीले विमानस्थल अघिल्लो म्याद भित्रै सम्पन्न गर्ने उद्देश्यका साथ कामलाई तीव्रता दिएका थिए ।
यतिबेला परियोजनाको ७३ प्रतिशत प्रगति भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोत बताउँछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजनाले पठाएको प्रगति प्रतिवेदन अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हेर्दा अहिलेसम्म ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भइसकेको उल्लेख छ ।

सँगै, धावन मार्ग परिसर आसपासमा बन्ने पार्किङ क्षेत्र जसलाई एप्रोन एरिया भनिन्छ, त्यसको निर्माण कार्य पनि सम्पन्न भएको प्राधिकरण बताउँछ ।

यतिबेला विमानस्थल भित्र बन्नै पर्ने विभिन्न कामहरु भने निर्माणाधीन छन् । अन्तरराष्ट्रिय यात्रु टर्मिनल, कन्ट्रोल टावर, प्रशासकीय भवन, सवस्टेसन, प्यासेन्जर पार्किङ र विभिन्न आवश्य भौतिक संरचना बनाउन बाँकी नै छ ।

अधिकारी थप समय भित्र निर्माण सम्पन्न हुने बताउँछन् ।

०००
 

 

To see front face coverage, click here



प्रकाशित: २०७६ आषाढ २९
July 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार