नेपाली समय: ०९:२२:४२ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

नेपाल पनि बिजुली बेच्ने देशः ७ बिन्दुबाट नेपालको बिजुली भारत निकास

निर्माण सञ्चार, ३१ असार, काठमाडौं । भारी वर्षाका कारण बाढी पहिरो गएपछि तराईमा विद्युत् खपत कम तथा कुलेखानी जलाशययुक्त आयोजनामा पानीको सतहमा तीव्र वृद्धि हुनाले बिजुली उत्पादन बढेपछि नेपालले केही दिनका लागि भने पनि भारतमा बिजुली निर्यात गरिरहेको छ ।

विगत ३ दिनदेखि नेपालले दैनिक एक सय ५० देखि २ सय मेगावाटसम्मको बिद्युत् भारतको विहार राज्यमा निर्यात गरिरहेको हो ।
मंगलबार मन्त्रालयमा भएको सञ्चार साक्षात्कारमा ऊर्जामन्त्री वर्षमान पुनले भारतमा बिजुली निर्यातसँगै नेपालले ‘इनर्जी बैंकिङ’को अभ्यास सुरु गरेको दाबी समेत गरेका छन् ।

सो सञ्चार साक्षात्कारमा मन्त्री पुनले भने, ‘अविरल वर्षाको कारण नेपालका सबै जलविद्युतगृह पूर्ण क्षमतामा चलेका छन् । यसले आन्तरिक उत्पादन बढेको छ । रातको समयमा खपत नभएको विद्युत केही दिनदेखि निर्यात भइरहेको छ कुरा यहाँहरुमार्फत जानकारी गराउन चाहन्छु ।’

मन्त्री पुन अनुसार १३२ केभी रक्सौल–परवानीपुर र कुसाहा–कटैया प्रसारण लाइनसहित ७ वटा विन्दुबाट नेपालको विद्युत भारतको बिहार निर्यात भइरहेको छ । 

नेपाल विद्युत प्राधिकरणको प्रसारण प्रणालीबाट शनिबार र आइतबार १ सय ५० मेगावाट र सोमबार राति २ सय मेगावाट विद्युत  बिहारतर्फ सप्लाइ भइरहेको हो ।

‘निर्यात इनर्जी बैंकिङ’ सुरुः दैनिक १५० मेगावाटदेखि २ सय मेगावाटसम्म बिहार राज्यमा सप्लाइ
 

कुलेखानी नेपालकै पहिलो जलविद्युत् आयोजना हो । जहाँ यतिबेला पानीको सतह तीव्र गतिमा बढिरहेकाले २४ सै घण्टा पूर्ण क्षमतामा सञ्चालन गरेर उत्पादन भएको विद्युत भारत निर्यात गरिएको हो ।

मन्त्री पुनले भने, ‘कुलेखानी क्षेत्रमा बढी वर्षा भएकाले एकै दिनमा ३ मिटरसम्म पानी जलाशयमा भरिएको छ । पानीको बढ्दो अनुपात रोक्न पूर्ण क्षमतामा चलाएर उत्पादन भएको विद्युत रक्सौल–परवानीपुर लाइनबाट निर्यात गरिएको छ ।’

मन्त्री पुनका अनुसार यस अघि नै नेपाल भारत दुई पक्षीय सहमति अनुसार नेपालमा बढी भएको विद्युत भारतले किन्ने सहमति छ । 
यो निर्यात इनर्जी बैंकिङको अभ्यास भएको उनको दाबी छ ।

गत हप्ता विहीबारदेखिको अविरल वर्षाले प्रसारण तथा वितरण लाइनका संरचनामा क्षति पुगेको हुनाले तराईमा खपत भइरहेको विद्युत्मा गिरावट आएको हो ।

वर्षाका कारण विद्युत् उत्पादन र सन्तुलनमा उचारचढाव आएको हो । जसले गर्दा एक रातमा २ सय मेगावाटसम्म विद्युत निर्यात हुन सकेको हो । असन्तुलन हुँदा पनि विद्युत् उत्पादन वृद्धि हुन पुगेको हो भने तराईमा खपत नहुँदा पनि विद्युत् बेच्न सक्ने अवस्था सिर्जना भएको हो ।

मन्त्री पनुले दिएको जानकारी अनुसार यतिबेला ७ वटा विन्दुबाट नेपालको बिजुली भारत निर्यात भइरहेको छ । तापनि, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आउने विद्युत नियमित आइरहेकै छ ।

जुन विन्दुबाट अहिले नेपाल प्राधिकरणले दैनिक १ सय ५० देखि १ सय ७० मेगावाटसम्म विद्युत आयात गरिरहेको छ । 

जहाँसम्म विद्युत्को मूल्यको कुरा छ, यतिबेला नेपालबाट निर्यात बिजुलीको मूल्य प्राधिकरणले तिर्ने मूल्यमा समायोजना भइरहेको छ । 
जुन मूल्य भारतसँग नेपालले किनेकै दरमा समायोजन हुन्छ । 

मन्त्रालय स्रोतले जनाए अनुसार प्रतियुनिट ८.८८ रुपियाँ (भारु ५.५५) मा विद्युत आदान प्रदान अर्थात् इनर्जी एक्सचेन्ज भइरहेको अवस्था छ ।

ढक्लेबर–मुजफ्फरपुर विन्दुबाट प्राधिकरणले प्रतियुनिट ५.७५ रुपियाँ अर्थात् भारु ३.६० पैसामा खरिद गरिरहेको छ । 

भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) सँग नेपालले विद्युत खरिद गर्दै आएको जुन मूल्य छ सोही अनुसार उही मूल्यमा नेपालको बिजुली भारतले पनि उपभोग गर्ने छ । 

तर, भारतको उक्त विन्दुबाट नेपाल आउने विद्युत भारतका अन्य राज्यबाट आउनेभन्दा सस्तो पनि रहेको छ ।

ऊर्जा सचिव दिनेश घिमिरेले पनि आजको अवस्थालाई ‘इनर्जी बैंकिङ’को सदुपयोग को अवस्था भनेका छन् ।

घिमिरेले तराईका क्षेत्रमा बिजुली आपूर्ति हुन थालेपछि भने भारत निर्यात रोकिने जानकारी दिए ।

जलाशययुक्त आयोजना कुलेखानीको सतह १५ सय २७ मिटर पुगेको छ । यसको क्षमता १५ सय ३० मिटर मात्रै हो । 

९२ मेवागाटको यो आयोजना २४ सै घण्टा पूर्णक्षमतामै सञ्चालन हुँदा पूर्ण क्षमताको बिजुली उत्पादन हुन पुगेको हो ।

प्राधिकरण अनुसार वर्षाका कारण क्षति पुगी विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा बुधबारसम्म मर्मत सकेर सञ्चालनमा ल्याइने छ ।

 

 

०००

 

To see front face coverage, click here



प्रकाशित: २०७६ साउन १
July 17th 2019

नवराज खतिवडा

खतिवडा निर्माण मिडियाका लागि सम्पादक हुन्