नेपाली समय: ०९:५५:०२ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

जडीबुटी चोरी निकासीको आशंकामा कुटिए वडाध्यक्ष !

निर्माण सञ्चार, जुम्ला । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावत माथि लुम गाउँका स्थानीयले बुधबार कुटपिट गरेका छन् । 

बागजाले सामुदायिक वनको जडीबुटी अवैध चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुम गाउँका स्थानीयले कुटपिट गरेका हुन् ।
वडाध्यक्ष रावत माथि लुम गाउँका स्थानीयले हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर सट च्यातिदिएको छन् ।

ती स्थानीयले नाराबाजी गर्दे वडाध्यक्ष रावत विरुद्ध आन्दोलन नै गरेका थिए ।

उनीहरुको माग छ, ‘वडाध्यक्ष पदबाट राजिनामा दिनु पर्छ ।’

सामुदायिक वनमा पाइने सेतो चिनी (खिरौँला) चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको लुमगाउँका स्थानीय बताउँछन् ।
‘जनप्रतिनिधि नै अवैध कारोबारमा संलग्न भएपछि अब कसरले वडाको रक्षा गर्छ ?’ उनीहरुको प्रश्न छ । 

कुटपिटमा संलग्न आरोपित ... रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको दाबी गरे । 
उनले भने, ‘यस विषयमा वडाध्यक्षसँग भनाभन भएको हो तर हातपात र कुटपिट भएको छैन ।’

गाउँमा विवाद भएको समयमा प्रहरी नआउने र वडाध्यक्षले बोलाएको अवस्थामा आएपछि प्रहरीलाई गाउँबाट लखेट्टनु पर्ने स्थिति सिर्जना भएको समेत उनको आरोप छ ।

दोषी ठहरिए फासी लगाउँछु

वडाध्यक्ष कालिबहादुर रावतले भने आफू माथि योजनाबद्ध तरिकाले कुप्रचार गरेको र हातपात गरेको बताएका छन् ।

जडीबुटी चोरी निकासीको आरोप खण्डन गर्दै उनले आफूमाथि नियतबस आतंक सिर्जना गरिएको उनको आरोप छ ।
अवैध जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको उनले स्पष्ट पार्ने प्रयास गरेका छन् ।

उनले भने, ‘स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासीबाट रोक्न खोज्दा ... रावल लगायतको टोलीले आफू माथि अनाहकमा शंका गरी हातपात समेत गरेका छन् ।’

उक्त आरोप असत्य भएको उनको दाबी छ । 

उनले थपे, ‘शंका लागेपनि कानुन थियो, सल्लाह समन्वय गर्न सक्निथ्यो तर शंकाकै भरमा कुटपिट गर्नु अन्याय हो ।’
उनले ज्यान जोखिममा रहेको भन्दै गाउँमै बस्ने नसक्ने स्थिति सृजना भएकाले सुरक्षा माग्दै सदरमुकामा आएको पनि बताएका छन् । 

बागजाले सामुदायिक वनमा पाइने जडिबुटीको अवैध चोरी निकासी भएको सूचना स्थानीयबाट आएकाले दुई पटक प्रहरी लिएरले वनमा सुरक्षाका लागि गएको उनको भनाइ छ । 

यो अभियानमा लाग्दा केही युवाहरुको सहयोगबाट दुई वर्ष पहिले आफूले नै ५ लाख जरिवाना संकलन गर्न सफल भएको पनि उनको भनाइ छ ।

तर केहि दिन अघि चोरी निकासी रोक्न भिम बहादुर रावत, सुक रेउले, र मुन भण्डारीलाई पठाएकै आधार चोरी निकासीमा संगल्न भएको शंका गर्नु गलत रहेको भन्दै उनले आफूमाथिको आरोप खण्डन गरेका हुन् ।

आफु  माथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरी माथि स्थानीयले ढुङ्गामुडा समेत गरेर अभ्रता प्रदर्शन गरेको उनले बताए ।
आफूमाथिको आरोप झुटा रहेको भन्दै उनले कानुन अनुसार दोषी ठहरिएमा फाँसी लगाएर मर्ने समेत तयार रहेको वडाध्यक्ष रावतको दाबी छ ।

उनले भने, ‘शंकको भरमा चरित्र हत्या गर्ने, कुटपिट गर्ने विरुद्ध सरकार मौन हुनु त सुहाएन ।’

डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर थापाका अनुसार लुम गाउँका स्थानीयले वडाध्यक्ष कालीबहादुर रावतमाथि हातपात र ढुङ्गामुडा गरेबारे अनुसन्धान भइरहेको र दोषीलाई कारबाही समेत गरिने बताए । 

सुरक्षाका लागि गएको प्रहरी टोली माथि ढुङ्गामुडाका र हातापताको प्रयास भएको हुँदा मुद्दा गम्भीर रहेको इन्र्चाज थापाको भनाइ छ ।

अपारदर्शी सामुदायिक वन 

जुम्लाका एक नगरपालिका सात गाउँपालिकामा दुई सय सामुदायिक वन रहेका छन् । सामुदायिक वन उपभोक्ता समितिले सुशासन भन्दा कुशासन बढी हुने गरेका कारण बेला बेलामा यस्ता प्रकारका घटना हुने गरेको सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईले बताए ।

उनले भने अहिले जुम्लाका ६० प्रतिशत सामुदायिक वन उपभोक्ता समितिमा पारदर्शिता छैन । 

सामुदायिक वनमा करोडौँको कारोबार हुने गर्दछ तर केही सामुदायिक वनले राम्रो काम गरेता धेरै सामुदायिक वनमा पारर्दशिता देखिदैन । सामुदायिक वन उपभोक्ता समितिले अनियमित बैठक, सार्वजनिक सुनुवाई, आन्तरिक तथा बाह्य लेखा परीक्षण कुनै पनि गरेको पाइँदैन ।

वार्षिक आम्दानीको ३५ प्रतिशत विपन्न घरपरिवारका लागि आयआर्जन, २५ प्रतिशत वन विकास र ४० प्रतिशत सामाजिक विकासका लागि खर्च गर्नुपर्ने सामुदयिक वनको विधानमा उल्लेख भएपनि व्यवहारमा देखिने गरेको छैन । 

वातावरण प्रभाव मूल्यांकन गरी जडीबुटी उत्खनन गर्ने कानुनी प्रवधान भए पनि जथाभावी जडीबुटि उत्खनन हुने गरको उनको गुनासो छ । यसले गदौ जडीबुटीको बिउ नै मासिन गरेको छ ।

‘नियमनकारी निकाय पनि मौन रहेको देख्दा दुख लाग्ने गर्छ,’ उनले भने ।


तस्वीरमा पातारासी गाउँपालिका–४ का वडाध्यक्ष 

 

०००
 



प्रकाशित: २०७६ साउन २
July 18th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्