नेपाली समय: ०९:२३:५७ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

पब्लिक बसको यात्राः आरक्षण सिट मिच्नेदेखि महिला हिंसासम्म

निर्माण सञ्चार, ४ साउन, यात्रा डायरी, रसुवा । यो डायरी काठमाडौंदेखि रसुवासम्मको भौतिक र मानसिक यात्रा हो । काम विशेष सार्वजनिक यातायातमा सवारी गर्दा जुन दृश्य काठमाडौंमा देखियो र भोगियो त्यसलाई यहाँ चित्रण गर्ने प्रयास मात्र गरेकी छु ।

त्यस्तै, समान दृश्य मुलुकका विभिन्न स्थानमा चल्ने सार्वजनिक यातायातमा नहोलान् भन्न सकिन्न । तर, यहाँ मेरो नितान्त निजी भोगाइ पटाक्षेप गरिएको छ । 
यसको आशय हो, हाम्रो समाजलाई परिवर्तन प्रति प्रेरित गर्नु । 

यो वास्तविक घटनासँग जोडिएर कसैको भोगाइको परिस्थितिसँग मेल खान गएमा त्यो संयोग मात्र हुन जाने छ ।
०००
सामाजिक चेतना । कहाँ छ हाम्रो मुलुकमा ? सामाजिक संस्कृति, कस्तो रुग्ण अवस्थामा छ हामीकहाँ ? सामाजिक नैतिकता, कतिसम्म घृणित छ हामीकहाँ । सामाजिक उत्तरदायित्व, कतिसम्म गिरोको छ हामीकहाँ ?

पढेपछि सायद तपाईहरु यस्तै सोच्न बाध्य हुनुहुने छ । 

भन्दा हामी सभ्य देखिन्छौं, तर, व्यवहारमा कति निर्लज्ज भन्ने कुराको दृश्य उतार्न यात्रा पत्रकारिताको माध्यम लिएकी हुँ ।
०००

विजया तिवारी, लेखिका
कामको सिलसिला थियो । काठमाडौं बसुन्धरादेखि दिदीको घर नैकापतिर बसमा यात्रा गरिरहेको थिएँ । 

जुन बसमा म चढेकी थिएँ, बसुन्धरा चोकबाट, चढ्ने बित्तिकै मेरो आँखा  महिला सिटमा पुग्यो । त्यहाँ पुरुष दाजु र एक जना दिदी बस्नु भएको रहेछ। 

अरु सिट खाली थिएन । सबै तिर आँखा डुलाएपछि मौन रहे ।
केही क्षणमा मेरो आँखा आमा बच्चाको सिटमा पुग्यो । त्यही क्रमले मेरा आँखा वृद्ध सिटमा पुगे । अपांग सिटमा, र अन्य आरक्षण सिटमा पनि मैले आँखा डुलाएँ ।

तर ती सिटमा नत आमा बच्चा नै देखेँ, न अपांग सिटमा  अपांग नै बसेको । वृद्धवृद्धाका लागि छुटाइएको सिटमा तन्नेरीहरु नै अटसमटस गरी कोचिएर बसेको मैले देखेँ ।

तर, अचम्म के थियो, भने ती सिटहरु जसका लागि भनी लेखिएका थिए, तिनका दाबेदार यात्रुहरु भने सिट बाहिर उभिरहन बाध्य थिए । 
वृद्धवृद्धाको लागि छुटाइएको सिटकै बगलतिर उभिरहनु भएको एक वृद्ध बुवा मेरो आँखामा टाँगिनु भयो ।

बच्चा भएको आमाको चिल्लिबिल्ली देखेँ । बालिका रोहिरहेकी थिइन् । ती आमा भने सकसले उभिरहेी थिइन् । 

अचम्म लाग्यो र मैले प्रतिकार गरे । महिला सिटमा बस्नु भएको पुरुष दाजुलाई उठाउन लगाए र त्यो बच्चा भएको दिदीलाई मेरै जोडबलमा सिट दिलाउन म सफल भएँ ।

तर, अचम्म अर्काे के भयो भने, त्यो सिट बच्चावाली आमाका लागि छाड्नु परेको तनाब उनले ममाथि नै पोखे । उनी रिसाएर मलाई नै हेर्दै उठे ।

जब बच्चाकी आमालाई उनले पाउने सिट मिल्यो, त्यसले त्यहाँ एकखाले क्रान्ति नै ल्यायो । छेवैका वृद्ध सिटलाई तोक्दै मैले एकजना वृद्धलाई बस्न अनुरोध गरेँ । जो बसिरहनु भएको थियो, जुरुक्कै उठ्नुभयो । 

किनकि, उनलाई नैतिक दबाबै यति गह्रुँगो भएर आयो, ती जवानले सिट नछाडी धरै पाएनन् । 

६० बर्से ती बूढा बाले सिट पाउनु अघिको घटना सुनाउँदै भन्नुभयो, ‘के गर्नु छोरी, अघि मैले सिट दिनुहोस् न बाबु भनेको थिएँ, उहाँले हैन यो सिट हामीलाई नै छाडिदिनुस् । हामी छाड्दैनौं भन्नुभयो । अनि त्यसै उभिरहेँ ।’

जवाफमा मैले भने, ‘बुबा, यहाँ अधिकारको सम्मान अझैसम्म गर्ने परिपाटी बसेको छैन । त्यसैले अधिकार मागेर नपाए, खोसेर पनि लिन जान्नु पर्छ ।’

त्यस्तै, एक वृद्ध महिलालाई अर्काे सिट मिलाएँ । छेवैको एउटा सिटमा एक जना बहिनीलाई उठाएर वृद्ध महिलालाई बस्न भने । 

ती आमालाई सिट छाड्नु पर्दा ती बहिनीले नमीठो मुख लगाएर मलाई हेरिरहिन् । तर, मलाई कुनै परवाह भएन ।

त्यतिबेलासम्म म चढेको बस स्वयम्भूबाट अघि बढिरहेको थियो । बसभित्रै ट्राफिक जाम भएकाले म पनि ठिंगो उभिरहेकै थिएँ । मरो मनमा कुरा खेल्न थाल्यो । 

वास्तवमा यी सिटहरु जसका लागि भनी लेखिएका छन्, तिनमा तोकिएको मानिसलाई सिट सुरक्षित गराउने दायित्व त मेरो हो र ?
कि मैले बढी त गरिनँ ? म आफैले आफैलाई प्रश्न गरेँ ।

आफैले आफैलाई जवाफ दिन पुगेँ, ‘हैन, मैले ठीक गरेँ । किनकि, सचेत नागरिक हुनुको नाताले मैले त एउटा ठूलै (यो देशमा सानो भए पनि ठूलो हुन पुग्यो) सामाजिक दायित्व पूरा गरेँ । 

सँगसँगै मेरो मनले के सोच्यो भने, ‘आखिर यो दायित्व त बसको सहचालकको हो नि । किन गर्दैनन् यिनले यो ड्युटी पूरा ?’

भो, चालक र सहचालकको कुरै नगरौं । यिनीहरुले उत्तरदायित्व वहन गर्नमा नचुक्ने हो भने मुलुकका यातायात सेवा यति विघ्न असभ्य पनि हुने थिएनन् ।

जति धेरै मान्छे राख्न सकिन्छ, त्यति धेरै टाउका गन्न उनीहरुको ध्याउन्न हुने गर्छ । किनकि, एउटा मान्छे भनेको उनीहरुका लागि हरियो नोट हो । 

नोट, जसले मानिसभित्रको मानवता किचबेच गराइदिन्छ ।

हाय, आजको पुँजीवाद, जहाँ मानवीय दायित्व भन्ने कुरा पनि बाँच्न सकेको छैन !

यस्तै सोच्दै गर्दा बस अझै अघि बढिसकेको थियो ।

बसको गतिसँगै मनको गति रोकिएन । मलाई लाग्यो, ती सिटमा वृद्धवृद्धालाई राख्ने दबाब दिने काम त अरु युवाहरुको पनि त थियो नि । 
तर, किन तिनीहरुले यो कुरालाई महत्त्व दिएनन् ? उनीहरुको पनि यो दायित्व हो नि !

युवाहरुनै वृद्धको सम्मान गर्दैनन भने तिनले भोलि आफू वृद्ध हुँदा के सम्मान पाउलान ?
मेरो मनमा अनगिन्ती तरंगहरु सिर्जना हुँदै गए ।

अनि अपंगता नभएको व्यक्तिले अपाङ्गता भएका व्यक्तिको सम्मान गर्न जान्दैनन् भने मानिसहरुको यो बाहिरी आवरण र भित्री विवेकलाई के भन्ने । बाहिरी अनुहार भन्दा भित्र लुकेको विवेक झनै कुरुप लाग्न थाल्यो मलाई त ।

यिनै मानिसहरु, नजाने भोलिको भविष्य कसलाई के थाहा ? नवा कतै मैपनि भोलि अपांग हुनु पर्ने हो कि !
त्यो दिन आउन सक्छ भन्ने कुरा हृदयंगम किन गर्दैनन् नेपाली यात्रुहरु ?

महिलाको पीडा महिलाले नै नबुझ्ने दृश्य देख्दा म अक्सर अनौठोमा पर्ने गर्छु । गाउँदेखि सहरसम्म, घरदेखि घरसम्म महिलाका शत्रु महिला नै धेरै छन् किन ?

महिनावारी भएकी महिलालाई हुने शारीरिक र मानसिक पीडाको राहत पनि हो बसमा लेखिएको मिहला सिट । 
भलै भरखरका २०–२५ वर्षे महिला किन नहुन्, महिनावारीको पेट दुखाईको पिडा कस्तो हुन्छ त्यो अरुले बुझेकै हुन्नन् ।

जिब्रो पड्काउनेहरु के ठान्छन् आफूलाई ?

तर, म यात्रारत बसमा महिला सहचालाक थिइन । मैले धेरै ख्याल गरे उनलाई । 

जति जतिबेला बस रोकिन्थ्यो, त्यति बेलै उनलाई बोलाउने अनि जिब्रो पडकाएर जिस्काउने दृश्य पनि मेरा लागि कम अशोभनीय लागेन 
गङगबु माछापोखरीमा त्यो दृश्य देखेको थिएँ । मेरो मानसपटलमा घुम्न थाल्यो ।

जिब्रो पड्काएर जिस्काए पनि ती चेलीलाई भने तिनीहरु प्रति कुनै वास्तै थिएन ।

उनी आफ्नो काम के हो त्यसमै दत्तचित्त देखेँ मैले ।
तर, यात्रुहरु पनि त्यस्तै, देखिन्थे, सबैलाइै केटी मान्छे सहचालक अर्थात् नेपाली ठेट शब्दमा भन्ने हो भने खलासी देख्दा अचम्म मानिरहेका पनि थिए ।

कलंकी कलंकी भनी एक हुला धुलोको मुस्लो मुखभित्र हुलेर चिच्याउने काम चै केटीका लागि नभएर केटाको काम भन्ने लाग्छ हामीलाई । 
तर, काम केटा र केटीको भनेर किटानी गरिएको छैन । र, त्यो धुलो, मैलो केटाहरुले मात्र खानै पर्ने भन्ने पनि होइन । 

तर, न केटा न केटी धुलो त सबैका शत्रु हो । मुटु गलाउने, फोक्सो बिमार पारी आयु नै वायु गराउने । 

धुलो विरुद्ध स्वच्छ सास फेर्न पाउने अधिकार संविधानमा भएको मुलुकमा सहर डुल्दा थाह हुन्छ कि, स्वच्छ सास फेर्न खोज्दा काठमाडौंमा कति उकुसमुकुस खानु पर्छ भन्ने ।

त्यतिबेलै सडकको एक हुल धुलो हाम्रो गाडीभित्र ह्वात्तै पस्यो । म मुख छोप्न पुग्छु । 

मलाई लाग्छ, उफ्, एक मुठी सास फेर्न फेरि कहिले रसुवा पुग्नु होला !
०००
अक्सर, यस्ता मध्यम र लामो खाले बाटोमा गाडीभित्र उभिएर यात्रा गर्नुपर्दा, महिलाहरु हिंसा पीडित बन्नु परेका घटनाहरु पनि कमी छैनन् ।
पशुतुल्य मानिसहरु, उभिएका महिलालाई ज्याने पेल्ने, खुट्टाले छुने, कुइनाले पेल्ने र संवेदनशील अंगहरुमा प्रभाव पार्न खोज्ने गरेका घटनाहरु पनि हामी कहाँ नौला छैनन् । 

कतिपय स्थानीय गाउँका प्रहरी चौकी यस्ता उजुरी पनि परेका देखिन्छन् । तर, निकै कम मात्रै । 

महिलाहरु माथि हुने यस्ता गृद्धे दृष्टि, यस्ता तानवजन्य हिंसाका घटना महिलाहरु भन्न समेत डराउँछन् । किनकि, सामाजिक दबाबले उनीहरु खप्न बाध्य छन् ।

ती पुरुषहरु जो गलत नियत राखेर सार्वजनिक यातायात रोज्ने गर्छन्, तिनलाई के पुरुष भन्नु ? निचहरु !

यस्तै सोच्दा सोच्दै मेरो मन भने स्वच्छ हावा खोज्दै रसुवा र धुन्चेको शिखर तिर उड्न थाल्यो । 

तर, म भने यतिबेला नैकाप, दिदीको घरतिरको गोरेटोमा नाक थुनेर हिँडिरहेको थिएँ । गन्तव्यमा छिटै पुग्न दगुरी रहेको थिएँ ।

जतिबेला मनमा अर्काे कुनै अतीतको घटनाको समाचार याद आइरहेको थियो, सार्वजनिक यातायातमा महिला हिंसाबारे बंगलादेशको एक घटना । 

सायद, नेपाल त बंगलादेश जति असभ्य मुलुक होइन । पक्कै पनि होइन । यहाँ पुरुष र महिला निकै उच्च चेतनाका छन् भन्ने पनि मनमा आइरह्यो ।

मनमा अर्काे कुरा पनि आयो, ‘महिलाका लागि मात्र यातायात सञ्चालन सम्भव छ कि छैन भनेर !’
 

 

 

०००
 

 

To see front face coverage, click here



प्रकाशित: २०७६ साउन ५
July 21st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार