नेपाली समय: ०९:२४:११ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

पूर्वपश्चिम विद्युतीय रेलमार्गका लागि ८ निर्माण कम्पनीलाई अशयपत्रः साँढे ५ अर्बको बजेट, वर्षा लगत्तै काम सुरु

निर्माण सञ्चार, ७ साउन, काठमाडौं । सन् २००८ देखि नै बहसमा रहेको पूर्व पश्चिम रेलमार्ग निर्माण कार्यले अब मूर्त रुप पाउने भएको छ । 
केही समय अघिदेखि जनकपुर जयनगर रेल वे निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको सरकारले यो रेलमार्गलाई निजगढसम्म पुराउने गरी विद्युतीय रेल मार्ग विस्तार अघि बढाएको हो ।

यस योजना अन्तर्गत पूर्वपश्चिम विद्युतीय रेलमार्गको दोस्रो खण्डको काम सुरु गर्दै त्यसका लागि विभिन्न ८ निर्माण कम्पनीहरु समेत छनोट गरिसकेको छ ।
प्रारम्भिक चरणको निर्माण कार्यका लागि लालबन्दीबाट निजगढसम्म रेल्वे ट्रयाक बेड निर्माण हुने छन् । त्यसका लागि रेल विभागले विभिन्न ८ वटा खण्डमा निर्माण कार्य बाँडफाँड गरेको छ ।

छानिएका ८ निर्माण कम्पनीले तिनै खण्डहरुको काम सम्पन्न गर्ने छन् । यो कामका लागि विभागले गत वैशाख २३ मा टेन्डर आह्वान गरेको थियो ।

निजगढसम्म रेल्वे ट्रयाक बेड निर्माणका लागि ५ अर्ब ५७ करोड ६१ लाख ५५ हजार २०५ रुपियाँ बजेट विनियोजन भइसकेको छ ।

यही रकमभित्रको रेलमार्ग निर्माणका लागि विभागले ठेक्का सम्पन्न गर्ने तयारी गरेको हो । सरकारले यतिबेला महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीम्म ३० किलोमिटर खण्डमा ट्रायक तथा पुल निर्मा गरिरहेको छ । 

विभाग अनुसार अब अब लालबन्दीबाट बाराको निजगढसम्म रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउन लागिएको हो ।

कुन कुन खण्डमा कस–कसलाई ठेक्का ?

उक्त ८ खण्डमध्ये एउटा खण्डको निर्माण कार्य गर्न सन्तोषी–कन्टेक–स्वच्छन्द जेभीलाई ठेक्का हाता परेका छ । यो जेभीले उक्त खण्ड का लागि ६५ करोड ८४ लाखमा ठेक्का पाएको हो ।

त्यस्तै, अर्को खण्डका लागि लुम्बिनी एपेक्स खानी जेभीले ७० करोड ७२ लाखमा ठेक्का पाएका छन् ।

त्यस्तै, रौताहा हिमडुङ एन्ड थोकर कन्काई जेभीले पनि ७० करोड ५५ लाख रुपियाँको ठेक्का हाता पार्न सफल भएका छन् । 

उक्त निर्माण कार्यका लागि आशय पत्रको सूचना समेत जारी गरेको विभाग अनुसार थप खण्डका लागि लामा  गोल्डेनगुड विरुवा जेभीले पनि ठेक्का हाता पारेका छन् ।

जसका लागि ६९ करोड ६८ लाख रुपियाँ रहेको छ ।

त्यस्तै, रोशन कुमार श्रेष्ठ जेभी पनि यो ठेक्काको अर्काे सहोदर बन्न पुगेको छ । उसले ७० करोड ५१ लाख रुपियाँमा कामको जिम्मा पाएको छ ।

त्यस्तै, नेपालकै नम्बर एकका रुपमा चर्चामा रहेको कालिका तुँदी र रसुवा जेभीले पनि विद्युतीय रेलमार्गको ट्र्याक खोल्ने काम पाएका छन् ।

उनीहरुका लागि ६९ करोड ७६ लाखको बजेट हाता परेको छ ।

त्यस्तै, अर्काे एक खण्डका लागि पिएस आशिष महादेव खम्ति जेभी पनि यो ठेक्का पाउने भित्रका भाग्यमानी भएका छन् । 
जसका लागि ७० करोड ६७ लाख रुपियाँ बजेट रहने छ ।

त्यस्तै, शर्मा गजुरमुखी जेभीले हालेको टेन्डर पनि छनोटमा परेको छ । उनीहरुका लागि ७० करोड ३६ लाख बजेट छुटिएको छ ।

रेल विभागले यी विभिन्न कामका लागि छानिएका उक्त निर्माण कम्पनीहरुका नाउँमा ठेक्का स्वीकृतिको अन्तिम तयारी गरिसकेको छ । जसका लागि आशय पत्रको सूचना हिजै जारी गरेको छ ।

विभाग अनुसार दशै अगावै ठेक्का सम्झौता हुने छ भने पर्व लगत्तै पछि कामहरु अघि बढ्ने छन् । विभागका महानिर्देशक बलराम मिश्रले यो जानकारी दिएका हुन् ।

यस अघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आउने चार वर्षभित्र निजगढसम्म रेल सेवा पुराउने बताएका थिए ।

सरकार यतिबेला जनकपुर जयनगर रेलमार्गको निर्माण कार्य अन्तिम चरणमा पुराएर ब्रोडगेज रेल चलाउने तयारीमा छ । 

यही विकासको अवस्थालाई जोड्दै आउने चार वर्षभित्रै निजगढसम्म रेल सेवा लैजाने उसको सपना छ । महानिर्देशक मिश्रले जयनरको रेल निजगढसम्म आउने बेड ट्रयाक खुले लगत्तै स्टेसनहरु निर्माण का लागि बोलपत्र आह्वान हुने बताएका छन् । 

रेल मार्ग निर्माणलाई द्रुत गति दिएको सरकारले आउने केही दिनमै लालबन्दी निजगढ खण्डमा आवश्यक पर्ने पुल निर्माणका लागि पनि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

सरकारले रेल मार्ग निर्माणका लागि आफ्नो नीति कार्यक्रमदेखि बजेटसम्मको बाटो तय गरिसकेको छ । सरकारको प्राथमिकतामा रेल मार्ग सञ्चालन गरेको देख्न सकिन्छ ।

बजेट कति ?

यसका लागि अर्थमन्त्रालयले पौने ८ अर्ब बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षका लागि साढे ४ अर्ब बजेट छुटाएको सरकारले यो वर्षका लागि ७ अर्ब ७० बजेट विनियोजन गरेको हो ।

सरकारले पूर्व पश्चिम रेलमार्गको रुट पनि सोही अनुसार निर्धारण गरेको छ । जसका लागि ९ वटा विभिन्न मुख्य खण्डहरुमा तिनलाई बाँडिएको छ ।

यसरी हेर्दा मुख्य खण्डहरु ९४५ किलोमिटरको रहेको छ । यदि यसमा पोखरा काठमाडौं, काठमाडौं वीरगञ्ज जस्ता रेलमार्ग जोड्ने हो भने यो खण्डको कूल १ हजार ३ सय ७६ किलोमिटर हुन जाने छ ।

देशैभर रेल गुडाउने सरकार धमाधम डिपिआर निर्माणमा 

यस अघि नै बुटवलदेखि गड्डाचौकीसम्म ४ सय २१ किलोमिटरको डिपिआर तयार गरेको सरकारले नवलपरासीको चोरमारादेखि बुटवलसम्मको पनि डिपिआर बनाइसकेको दाबी गरेको छ ।

यतिबेला इनरुवादेखि काँकडभिट्टा खण्डको पनि डिपिआर बनिसकेको विभाग बताउँछ । योसँगै निजगढ इनरुवा खण्डमा निर्माणको कार्य अघि बढिसकेको छ ।

सरकारले देशैभर रेल दौडाउने योजना बनाएको देखिन्छ । यतिबेला उसले निजगढ हेटौंडा चितवन खण्डको डिपिआर तयार गरिरहेको छ ।

विभाग भन्छ, यो काम सकिएपछि पूर्व पश्चिम रेलमार्ग का लागि उल्लिखित मुख्य खण्डको डिपिआर पनि तयार गरिने छ ।
 

 

OOO

 

To see front face coverage, click here



प्रकाशित: २०७६ साउन ७
July 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार